पूँजीवादले शोषण गर्छ, अब प्रगतिशील पूँजीवाद चाहिन्छ, नोबेल बिजेता अर्थशास्त्रीको लेख





सन् १९६० को दशकदेखिको तथ्यांकले बेरोजगारी दर न्यून देखाएपनि अमेरिकी अर्थतन्त्रले आफ्नो नागरिकलाई सन्तुष्टि दिन सकेको छैन। ९० प्रतिशत अमेरिकीले आफ्नो आय बिगत ३० वर्षदेखि स्थिर वा घटिरहेको देखेका छन्। 

यो अमेरिकाको सन्दर्भमा नौलो रहेन, किनभने अमेरिका यस्तो देश हो जहाँ उच्च दरको असमानता छ। विकसित देशहरुमध्ये सबैभन्दा कम अवसर भएको र बढी असमानता भएको देश पनि अमेरिका नै हो जहाँ युवाहरु शिक्षा र आयका निम्ति अभिभावकसँग अन्य देशका युवाभन्दा बढी आश्रित रहन्छन्। 

तर सँधै यसरी चल्नेवाला छैन। यसको विकल्प पनि छ र बिकल्प हो 'प्रोग्रेसिभ क्यापिटालिज्जम' अर्थात प्रगतिशील पूँजीवाद। 

Sunrise Bank
Sipradee

प्रगतिशील पूँजीवाद कुनै विरोधाभाषपूर्ण शब्द होइन। यसबाट नै हामीले बजारको एकाधिकारलाई समाजको हितको लागि च्यानलाईज गर्न सक्छौं।

सन् १९८० को दशकमा रोनाल्ड रेगनको नियामकीय सुधार कार्यक्रमलाई अर्थतन्त्रको ठूलो उर्जा र उत्प्रेरकका रुपमा ब्याख्या गरियो। यसले बजारमा हस्तक्षेप गर्न पाउने सरकारको क्षमतालाई न्यून गरेको थियो। नतिजा अर्थतन्त्रको उर्जाभन्दा ठिक विपरित आयो। त्यसले आर्थिक वृद्धि कम हुँदै गयो बेथिती रहिरहे। 

यस्तै गर्यो राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा सन् २०१७ मा आएको  कर सम्बन्धी कानुनले पनि। यसले पनि दीर्घकालीन समस्याहरुलाई समाधान गरेन। त्यसको अर्को वर्ष आर्थिक बृद्धिले  खासै कमाल गर्न सकेन। करसम्बन्धी कानुन यसै ओझेलमा पर्यो।

यो हामीले भोगिरहेको यथार्थ हो तर अपरिवर्तनीय भने होइन। हामीले यही अवस्थामा सँधै रहिरहनुपर्ने पनि होइन। प्रगतिशील पूँजीवाद यस्तो अभ्यास हो जसबाट आर्थिक वृद्धिलाई बढावा दिएर नागरिकको जीवनस्तर माथि उठाउन सकिन्छ। 

१८‍औं शताब्दीको अन्ततिरदेखि मानिसको जीवनस्तरमा सुधार आउन थाल्यो। यसको दुईवटा कारण थिए। 
पहिलो: विज्ञानको विकास

दोस्रो: सामाजिक संस्थाहरुको विकास 

विज्ञानको विकासबाट हामीले प्रकृतिलाई कसरी बुझ्ने भन्ने ज्ञान पायौं र त्यो ज्ञानलाई उत्पादकत्व तथा आयू बढाउन प्रयोग गर्यौं। 

यस्तै सामाजिक संस्थाहरुको विकासबाट हामीले कसरी सँगै काम गर्ने  तथा कानुनी राज्य तथा चेक एण्ड ब्यालेन्ससहितको प्रजातन्त्र उपभोग गर्यौं। 

दुबै प्रणालीसम्म पुग्नका लागि सत्यप्रतिको पहुँच र सत्यलाई निर्क्यौल गर्ने संयन्त्र आवश्यक पर्छ। 

खासमा अमेरिकामा ट्रम्पको राष्ट्रपतिकालको वास्तविक र दीर्घकालीन खतरा के हो भने यसले अमेरिकी अर्थतन्त्र र समाजका पिलरहरुमाथि जोखिम निम्त्याउँछ। यसले ज्ञान र बिद्धवतामाथि आक्रमण गर्छ र यसले सत्यप्रतिको पहुँच र सत्यको निर्क्यौल गर्ने संस्थामाथि धावा बोल्छ। 

हाल समाजको समृद्धि र विकासका लागि काम गर्न सहज बनाउने बृहत्त संरचना नै द्वन्द्वमा फसेको छ। अमेरिकाले विश्वमै पहिलोपटक र सुरुवातमा नै मध्यमवर्गीय समाज सिर्जना गर्यो तर  त्यही मध्यम बर्गीय जीवन नै हाल उसको नागरिकको पहुँच बाहिर पुगेको छ। 

हाल अमेरिका विचरो राष्ट्रका रुपमा देखिएको छ किनभने हामीले के विर्सियौं भने कुनै पनि राष्ट्रको समृद्धिको बास्तविक स्रोत भनेको नागरिकको सिर्जनशिलता र आविष्कार नै हो। 

धनी हुने दुईवटा बाटा छन्, एउटा देशको आथिक समृद्धिको 'पाई' मा आफूले पनि थप्दै जाने। अर्को भनेको, एकाधिकार, शक्ति वा सूचनाको फाइदा लिएर दूर्ब्यबहार वा शोषणबाट अरुलाई पाखा पारेर 'पाई' को ठूलो हिस्सामा कब्जा गर्ने। 

कडा परिश्रमले गरिने धनको सिर्जनाभन्दा 'वेल्थ ग्रयाबिङ' अर्थात अर्थशास्त्रीको भाषामा भन्दा 'रेन्ट सिकिङ' तर्फ झुकाब देखिएको छ। समाज देखा परेको यही अन्यौलका बीच हाम्रा क्षमतावान युवाहरु छिट्टै धनी हुने बाटोमा लागेका छन्। 

रेगन युगको सुरुवातसँगै आर्थिक नीतिले महत्वपूर्ण भूमिका खेल्यो। विश्वब्यापीकरण तथा प्राविधिक परिवर्तनले असमानता ल्यायो र हामीले स्वीकार गरेका ती आर्थिक नीतिले सामाजिक असमानतालाई अझ गहिरो बनाइदियो। 

अझ आर्थिक सिद्धान्तहरु जस्तै 'इन्फरमेसन इकोनोमिक्स' 'बिहेबियर इकोनोमिक्स' तथा 'गेम थ्योरीहरु' सहतमा आए जसले किन बजार प्रभावकारी, फेयर, स्थिर र बिवेकशील छैन भन्ने कुराको ब्याख्या गरे। 

हामी बजारमा बढी निर्भर हुन थाल्यौं र सामाजिक सुरक्षाका मुद्दाहरु पछि पर्दै गए। नतिजा अर्थतन्त्र अझ बढी 'एक्स्प्लोइट' भयो।

वित्तीय तथा प्राविधिक क्षेत्रमा भएका गलत प्राक्टिसले यसमाथि अझ गम्भीर खेलबाड गरियो। हाम्रा तथ्यांकहरुको प्रयोगबाट हाम्रै गोपनियता हनन् हुने गरी प्रविधिको क्षेत्रले फाइदा लियो जुन गम्भीर तथा एब्युजिब प्राक्टिस हो।  

फितलो नियमन, सुपरिवेक्षणमा देखिएको असफलता तथा कमजोर संयन्त्रका कारण बजार अर्थतन्त्र र आविष्कारहरुले मार्केट पावरलाई उदार बनाउन सकेनन्। यसका कारण बजार कम प्रतिश्पर्धी र बढी केन्द्रीकृत हुँदै गयो। 

राजनीतिले कर्पोरेट क्षेत्रमा सजिलोसँग पैसा कमाउने अर्थात 'वेल्थ ग्रयाबिङ' को अवस्था ल्याउन तथा असमानतालाई बढावा दिन ठूलो भूमिका खेल्छ। 

बजार कुनै शून्यमा अडिएको हुँदैन त्यसलाई कानुन तथा नियमहरुले संरचनामा बाँध्नुपर्छ र ती नीति तथा नियमहरु पालना गर्न बाध्यकारी बनाउनुपर्छ। बित्तीय क्षेत्रमा देखिएका छिद्रहरुमा हुने खेलवाडले बैंकरहरुलाई अझ बढी जोखिमपूर्ण गतिविधीमा लाग्न बाटो खुला गरिदिन्छ। 

धेरैजसो अर्शशास्त्रीले बुझेका छन् कि विकासशील देशहरुसँगको ब्यापारले अमेरिकाको ज्यालादरलाई घटाइरहेको छ। बिशेषगरी जसको दक्षता सीमित छ उनीहरुको त रोजगारी नै गुमेको पनि छ। 

यसकालागि प्रभावित कामदारलाई अझ बढी ध्यान दिने तथा उनीहरुलाई प्राविधिक परिवर्तनका कारण गुमेको जागिर फिर्ता दिलाउन काम गर्नुपर्ने थियो तर 'कर्पोरेट इन्ट्रेस्ट' यसमा बाधक बनिरहेको छ। 

श्रम बजार कमजोर भएकाले कम ज्यालादरमै देशभित्र काम लगाउने र सस्तो श्रम ब्यापारका रुपमा बिदेश पठाउन सहज बतावरण सिर्जना गरिरहेको छ। 

हामी  अहिले  निकै अमानवीय चक्रमा छौं। गम्भीर आर्थिक असमानता ब्याप्त छ। पैसामुखी राजनीतिक प्रणालीले राजनीतिक असमानता जन्माइरहेको छ, जहाँ कमजोर नीति तथा 'डि-रेगुलेसन' ले अझ बढी आर्थिक असमानता ल्याइरहेको छ। 

यदि हामीले तत्काल यो धार परिवर्तन गरेनौं भने अवस्था गम्भीर रुपमा बढ्दै जान्छ जसबाट मेशिन अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स तथा रोबोटहरुले श्रम बजारलाई अझ बिभाजन गर्छ। यसबाट लाखौंका संख्यामा श्रमिकहरुले रोजगारी गुमाउन पुग्छन्। अमेरिकीहरु जीवन धान्नका लागि केवल ड्राइभर मात्र बनेर बाँचुनपर्ने अवस्था आउन सक्छ। 

यस अवस्थाको निदानका उपायहरु के हुनसक्छन् भने बजारलाई समाजमुखी बनाउन राज्यको प्रमुख भूमिका छ भन्ने सबैले बुझ्नुपर्छ। कुनै शोषण बिनानै बलियो र प्रतिस्पर्धामुखी बजार बनाउनकालागि सरकारले बलियो संयन्त्र बनाउनुपर्छ यसका साथै प्रतिस्पर्धा पनि बलियो हुनुपर्छ। कम्पनी र कामदार तथा ग्राहकबीचको सम्बन्ध राम्रो बनाउनुपर्छ। कर्पोरेट क्षेत्रले अघि बढाइरहेकोको मार्केट पावरलाई सरकारले सन्तुलनमा ल्याउनुपर्छ। 

यदि हामीले सबै किसिमका शोषणलाई निर्मूल पारी सम्पत्ति सिर्जनालाई बढावा दिन सक्यौं भने अर्थतन्त्र अझ बढी समृद्ध हुन्छ अनि असमानता पनि कम हुँदै जान्छ।  

यहि उपाय हामीले पहिले अपनाएको भए सन् २००८ को बित्तीय संकटलाई टार्न सक्थ्यौं। 'ओपियोड क्राइसिस' लाई रोक्न सक्ने थियौं। यदि हामीले बजारको एकाधिकार तोड्न र कामदारको शक्तिलाई मजबुत बनाउन सकेको भए, बैंकहरुलाई उत्तरदायी बनाउन सकेको भए नागरिकमा शक्तिहिनताको अनुभूति यति गहिरो हुने थिएन र अमेरिकी  नागरिकले देशका संस्थाहरुप्रति विश्वास गर्न सक्थे। 

सरकारले एक्सन लिनसक्ने बाँकी धेरै क्षेत्रहरु छन्। 

बजारले अझै पनि बेरोजगारी र अपांगता जस्ता महत्वपूर्ण जोखिमका क्षेत्रमा बीमा प्रदान गरेको छैन। मुद्रा स्फितीकालागि हालसम्म बीमा छैन। कम प्रशासनिक खर्चमा प्रभावकारी पेन्सन बितरण हुन सकेको छैन। अझै पनि सबैकालागि पर्याप्त पूर्वाधार र गुणस्तरीय शिक्षा हुन सकेको छैन न कि पर्याप्त आधारभूत अनुसन्धानहरु नै भएका छन्। 

प्रगतिशील पूँजीबाद नयाँ सामाजिक सम्झौताको जगमा उभिएको छ जुन सम्झौता मतदाता र उनीहरुले चुनेर पठाएका उम्मेदवार, कामदार र कम्पनी, धनी र गरिब तथा रोजगारी र  बेरोजगारबीच हुनुपर्छ। 

यो नयाँ सामाजिक सम्झौता अनुसार हालसम्म निजी क्षेत्रले मात्र दिँदै आएका वा अझै पनि सुरु हुन नसकेका कार्यक्रमहरु सरकारले पनि बिस्तार गरी नागरिकका बीचमा लैजानुपर्छ। ओबामा केयरमा पनि 'पब्लिक अप्सन' समावेश गरिएको थिएन जुन ठूलो गल्ती हो। यसबाट कम मूल्य तथा प्रतिस्पर्धा र छनौटको वातावरण बन्छ। 

स्वास्थ्य क्षेत्रमा मात्र नभई रिटायरमेन्ट तथा मोर्टगेज जस्ता क्षेत्रमा पनि 'पब्लिक अप्सन' डिजाइन गरी सरकारले लागू गर्न सक्छ। यस्तो किसिमको नयाँ सामाजिक सम्झौताले अमेरिकाका नागरिकलाई मध्यम बर्गको जीवन ब्यतित गर्न धेरै हदसम्म सहयोग गर्छ। 

अर्थशास्त्रीका रुपमा मलाई सँधै सोध्ने गरिन्छ 'के हामी सबै नागरिकलाई मध्यमबर्गीय जीवन प्रदान गर्न सक्छौं?' सक्छौं होइन, हामीले त यो गरिसकेका छौं। बर्षौ पहिले दोस्रो विश्व युद्धअघि जब अमेरिका अहिलेभन्दा धेरै गरिब देश थियो त्यतिबेला नै सबै नागरिकको मध्यम बर्गीय जीवनस्तर थियो। 

हाम्रो राजनीति, श्रम बजार सहभागिता तथा स्वास्थ्य नीतिमा भएका असफलताको मूल्य अहिले हामीले चुकाइरहेका छौं। सबैकालागि खुला बजारले मात्र समृद्धि ल्याउन सक्छ भन्ने नवउदारबादी 'फ्यान्टासी' लाई अब हामीले बिदा गर्नैपर्छ। 

सबैभन्दा जरुरी के हो भने हाम्रो शोषणमुखी पूँजीवादले नै हामीलाई ब्यक्ति एवं समाजका रुपमा एउटा आकारमा ढालेको छ। हामी सबैले देखि आएकै छौं ठूला र नाम चलेका कम्पनीहरु नाफामुखी मात्र हुँदा समाजले त्यसबापत कति ठूलो मूल्य चुकाउनुपरेको छ। समाजको बृहत्तर हितका लागि अब हामीले सोच्नैपर्ने अवस्था आएको छ कि यो नाफा सम्पत्तिको सिर्जनाबाट भैरहेको छ वा शोषणबाट।
(नोबेल पुरस्कार बिजेता अमेरिकी अर्थशास्त्री स्टिग्लिज कोलम्बिया युनिभर्सिटीका प्रोफेसर हुन्।)


Share this Story

   

पूँजीवादले शोषण गर्छ, अब प्रगतिशील पूँजीवाद चाहिन्छ, नोबेल बिजेता अर्थशास्त्रीको लेख को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.