लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै राजपाद्वारा पाँचौ पटक प्रतिनिधि सभा अवरुद्ध

बिजमाण्डू
२०७५ चैत्र १० गते १३:३७ | Mar 24, 2019


काठमाडौै। आजको प्रतिनिधि सभाको बैठक राष्ट्रिय जनता पार्टीले अवरुद्ध पारेको छ। राजपाले बैठक शुरु हुनसाथ अवरुद्ध पारेपछि बैठक १० मिनेटका लागि स्थगित भएको सभामुख कृष्णबहादुर महराले जनाएका छन्।

Tata
GBIME
Nepal Life

लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै संसद अवरुद्ध गरेको यो पाँचौ पटक हो। सभामुख महराले यसअघिको बैठकमा सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका थिए।

राजपाका सांसद लक्ष्मणलाल कर्णले गिरिशचन्द्र लालको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै बोलेपछि विरोध गर्दै संसद अवरुद्ध पारेका हुन्।

सांसद कर्णले भने, 'लाल आयोगको प्रतिवेदनका लागि हामी पटकपटक उठ्दै आएका छौ। सभामुखले निर्देशन पनि दिनुभयो। सभामुखको निर्देशन सरकारले मान्नुपर्ने हो। सरकार उत्तरदायी हुनुपर्ने हो। तर, सरकार उत्तरदायी भएन। हामी अवरोध गर्न बाध्य छौं।'

मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो।

कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो।

तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न नदिने राजपाले चेतावनी दिँदै आएको छ। आजै तीन बजे प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्ने तयारी रहेको छ।