जापान उडानका लागि सबै प्रकृया पूरा, जेक्याबले ४० दिनको समायवधि दिँदै, साताको तीन उडान गर्ने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ चैत्र १० गते १०:५३ | Mar 24, 2019
जापान उडानका लागि सबै प्रकृया पूरा, जेक्याबले ४० दिनको समायवधि दिँदै, साताको तीन उडान गर्ने


काठमाडौं। नेपाल वायुसेवा निगमले ४० दिनभित्र काठमाडौं- ओशाका उडान गर्ने भएको छ। निगमका अनुसार नेपाल-जापान उडानका लागि ९८ प्रतिशत काम सकिएको छ।

Tata
GBIME
Nepal Life

'जापान उडानको लागि सबै प्रकृया पूरा भइसकेको छ। केहि दिनमै हामीले जापान सिभिल एभिएसन व्युरो(जेक्याब)लाई मंगलबार कागजपत्र बुझाउँदैछौं,’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बिजमाण्डूसँग भने,’जेक्याबले सम्पूर्ण डकुमेन्ट अध्ययनपछि हामीलाई उडान तयारीका लागि ४० दिनको समयावधि दिनेछ।’ उनका अनुसार जेक्याबकले उडान अनुमति दिएको ४० दिनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट –ओसाका कान्साइ  अन्तर्राष्ट्रिय विमानस्थलमा' साताको तीनवटा उडान गर्ने योजना बनाएको छ। निगमले एक साता अघि काठमाडौं-नारिता उडानको लागि पनि आवेदन दिइसकेको खरेलले बताए।

उनले भने, 'हामीले गत साता काठमाडौं-नारिता उडानका लागि जेक्याबलाई पत्राचार गरिसकेका छौँ। नारिता एयरपोर्टका उच्च पदाधिकारी प्रारम्भिक छलफलका लागि २५ तारिखमा यता आउने भएका छन्।'गत जनवरीमा जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल आउँदा काठमाडौं-नारिता हवाई सेवा सम्झौता भएपछि निगमले नारिता उडानका लागि जेक्याबलाई पत्राचार गरेको खरेलले जानकारी दिए।'दुई देशबीच हवाई सेवा सम्झौंता नभएकाले ओशाका र  नारिता उडान प्रक्रिया अगाडि बढाएका थिएनौं,’ उनले भने,’गत महिना दुई मुलुकबीच कुटनैतिक रुपमा पत्र आदनप्रदान 'डिप्लोमेटिक नोट एक्स्चेन्ज' भइसकेको छ। अब नारिता उडानको लागि पनि बाटो खुलेको छ।'

एक दशक अघि बोइङ ७५७ मार्फत निगमको नेपाल-जापान सीधा उडान बन्द भएको थियो। निगमले काठमाडौं-ओशाकाका लागि एयबस ३३०मार्फत उडान गर्ने योजना बनाएको छ। काठमाडौं-जापान उडानको समयावधि छ घण्टाको रहेको छ भने ओसाका-काठमाडौं उडान समयावधि साढे सात घण्टा रहेको छ। काठमाडौं-जापानको पहिलो नियमित उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोली पनिसँगै गएर उडान निरीक्षण गरेपछि उडान अनुमति पाउनेछ।

'निगमले यस अघि बोइङ ७५७ जहाजमार्फत यो गन्तब्यमा उडान गरेको थियो। वर्षौँपछि निगमले यही गन्तब्यमा एयरबस ३३०मार्फत उडान गर्ने योजना बनाएको छ। राष्ट्रिय ध्वजावाहकको नयाँ जहाजमार्फत यो गन्तब्यमा उडान गर्न लागेको छ। हामीसँग भएका प्राविधीक पनि सुरुको नियमित उडानमा निरीक्षणका लागि जानुहुनेछ। त्यो निरीक्षणपछि निगमले ओशाका उडान गर्न पाउनेछ' उनले भने।