क्यानको सुझाब लत्याउँदै पर्यटन मन्त्रालय, हेलिकोप्टर चलाउन एकपछि अर्को आवेदन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ माघ ६ गते १४:३४ | Jan 20, 2019
क्यानको सुझाब लत्याउँदै पर्यटन मन्त्रालय, हेलिकोप्टर चलाउन एकपछि अर्को आवेदन


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर धेरै हुँदा अनुगमन गर्न नसकिएको गुनासो गरेपनि नयाँ हेलिकोप्टर संचालनको लागि अनुमति माग्ने भने बढिरहेका छन्।

Tata
GBIME
Nepal Life

प्राधिकरणको गुनासोलाई वेवास्ता गर्दै पर्यटन मन्त्रालयमा हेलिकोप्टर संचालनको अनुमति माग्दै आवेदन दिने बढिरहेका छन्। मन्त्रालयका अनुसार केही दिनअघि मात्रै पर्वत हेलिकोप्टरले संचालनका लागि आवेदन दिएको हो।कम्पनीले एयरबस कम्पनीको इक्वेरियल हेलिकोप्टर ल्याउने योजना बनाएको छ।

यसअघि चारवटा  हेलिकोप्टर कम्पनी उडान इजाजतको प्रकृयामा छन्। मुस्ताङ, अन्नपुर्ण, आरएस, स्काइलाइनले मन्त्रालयमा आवेदन दिएका थिए।
स्रोतका अनुसार हाल मुस्ताङ हेलिकोप्टर उडान अनुमतिका लागि प्रक्रियामा छ भने अन्नपुर्ण र आरएस हेलिकोप्टर पाइपलाइनमै छन्। स्काइलाइन हेलिकोप्टर भने मन्त्रालयमै अध्ययनको क्रममा रहेको छ। मन्त्रालयबाट प्राधिकरणमा आएका हेलिकोप्टर कम्पनीले संचालन अनुमतिका लागि भने केही चरणहरु पार गर्नुपर्छ।

'नयाँ हेलिकोप्टर कम्पनी आइसकेपछि आँखा चिम्लेको भरमा उडान अनुमती दिन मिल्दैन। यसको प्राधिकरणले इन्जिनियरिङ म्यानुअल, सेफ्टी म्यानुअल, अपरेटीङ म्यानुअल लगायतका विभिन्न चरणहरु पार गरिसकेपछि मात्र एओसी पाउनका लागि लगायत विभिन्न चरणहरुको अध्ययन गर्नका लागि प्राधिकरणसँग एउटै टोली छन्,’ प्राधिकरणका एक कर्मचारीले भने,‘एउटा हेलिकोप्टरको अध्ययनका लागि न्यूनतम ६ महिना लाग्छ।’

हेलिकोप्टर कम्पनीको प्राधिकरणले पाँच महीना अघि नयाँ हेलिकोप्टर कम्पनी दर्ता नगर्न मन्त्रालयलाई पत्राचार पनि गरेको थियो।हाल मुलुकमा १० वटा कम्पनीको ३० वटा भन्दा बढी हेलिकोप्टर संचालनमा आएका छन्।