उच्च आयात र विदेशमा नेपालीले गर्ने खर्चको प्रभाव अर्थतन्त्रमा, चालु खाता घाटा दोब्बरले बढ्यो

बिजमाण्डू
२०७५ माघ ३ गते १८:३० | Jan 17, 2019
उच्च आयात र विदेशमा नेपालीले गर्ने खर्चको प्रभाव अर्थतन्त्रमा, चालु खाता घाटा दोब्बरले बढ्यो

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वस्तु तथा सेवाको आयात ३४.२ प्रतिशतले बढ्दा त्यसले चालु खाता र शोधनान्तरमा गम्भीर संकट निम्त्याएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्ममा शोधानान्तर घाटा गत वर्षको यहि अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ। यस्तै पाँच महिनामा चालु खाता घाटा एक खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड रुपैयाँ थियो। 

Tata
GBIME
Nepal Life

मंसिरसम्ममा शोधनान्तर स्थिति ८५ अर्ब २२ करोड रुपैयाँ घाटामा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षको यही अवधिमा शोधानान्तर स्थिति ५ अर्ब ४८ करोड रुपैयाँले घाटामा रहेको थियो। मंसिरसम्ममा पूँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले उच्च आयात र सेवा खाता ऋणात्मक हुँदा चालु खाता र शोधानान्तर बचतमा चाप परेको बताए। 'गत वर्षको यही अवधिको तुलनामा पर्यटन व्यव ३८.६ प्रतिशतले बढेको देखिएको छ, तर यही अवधिमा पर्यटक आय खासै बढ्न सकेको देखिँदैन,' भट्टले भने, 'यसका अतिरिक्त उच्च आयातले नै अहिलेको अवस्था आएको हो, यसलाई गहनरुपमा हेर्नुपर्ने भएको छ।'

राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखसमेत रहेका भट्टका अनुसार गत वर्षको पाँच महिनामा नेपालले पर्यटक आयबाट २९ अर्ब ३३ करोड रुपैयाँ कमाएको थियो। यो वर्ष ३१ अर्ब ८९ करोड रुपैयाँ पर्यटक आय भएको छ। तर नेपालीले बाहिर जाँदा गर्ने खर्च बढेको छ। गत वर्षको पाँच महिनामा २९ अर्ब ८२ करोड रुपैयाँ बाहिर जाँदा खर्च भएकोमा यो वर्ष ४१ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ। 

सरकारले विदेशमा नेपालीले मेला तथा सेमिनारमा धेरै खर्च गर्न थालेको भन्दै त्यसमाथि कडाई थालिसकेको छ। कर कार्यालयमार्फत त्यस्ता रकमलाई खर्चका रुपमा देखाउने प्रवृत्ति निरुत्साहित गर्न थालिएको छ। 

त्यस्तै पाँच महिनाको अवधिमा विदेशी मुद्रा सञ्चिती ३.३ प्रतिशतले घटेको छ। हाल विदेशी विनिमय सञ्चिती ११ खर्ब २ अर्ब रुपैयाँ रहेको छ। यो सञ्चितीले अबको ९ महिनासम्मशको आयातलाई धान्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

यो अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९.८ प्रतिशतले वृद्धि भई ४ खर्ब २८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो।अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४०.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.५ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ।