राजनसिंह भण्डारी: जसका लागि सिटिजन्स बैंक स्थापना गरियो




काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नरका लागि राजनसिंह भण्डारीले दुई पटक प्रयत्न गरे। सबै माहौल मिलिरहेको थियो, तर आफ्नै साथीभाइले साथ नदिएपछि रेसबाट बाहिरिनु पर्यो।

कार्यकारी निर्देशक मध्येबाट छानिने डेपुटी गभर्नरका लागि पनि उनी दावेदार थिए। आफूभन्दा जुनियर साथीहरुले बाजी मारे, भण्डारी बीचमै आउट भए।
Sipradee


राजनीतिक नियुक्तिमा सँधै पछि परेका भण्डारी कमर्सियल बैंकिङमा भने कहिले रिङ आउट भएनन्। उनी आफ्नो चाहना हुन्जेल सिटिजन्स बैंकको प्रमुख कार्यकारी भए। आफूसँगै हातेमालो गरेर हिँडेका गणेशराज पोखरेललाई ब्यवस्थापकीय नेतृत्व जिम्मा लगाएर उनी सञ्चालक समितिको प्रमुख सल्लाहकार भएका छन्।

'यसो सोच्दा राजनीतिक पद मेरा लागि होइन कि जस्तो पनि लाग्छ' उनले विगतमा गभर्नर र डेपुटी गभर्नर पदका लागि गरेको प्रयत्नका बारेमा भने, 'तर म जहाँ बसेँ, त्यहाँ इमान्दारितापूर्बक काम गरेँ र संस्थालाई सफल बनाएँ।'

भण्डारी नेपाल राष्ट्र बैंकमा सहायक पदबाट छिरेका हुन्। चार्टर्ड एकाउन्टेन्ट पढ्नका लागि राष्ट्र बैंकले सहयोग गर्छ भनेपछि उनी त्यहाँ जागिर खान इच्छुक भएका थिए। 'म त जिम्दारको छोरो पो हुँ त, जागिर पनि कोही खान्छ र?' भन्ने सोच थियो त्यसबेलासम्म उनमा। राष्ट्र बैंकमा छिरेपछि उनले बढुवा भएर पुग्नु पर्ने उच्चतम पद कार्यकारी निर्देशकसम्म पुगे। त्यसपछि राजनीतिक पद डेपुटी गभर्नरका लागि दावेदार भए, तर असफलता मिल्यो।

'राजनीतिक पद पाउने बेलामा मैले आफूलाई क्षमतावाना मान्छे हुँ भनेर सोचेको थिएँ। तर, मेरो नाम सिफारिसमा परेन,' उनले भने, 'मभन्दा जुनियर दुई जनाको नाम पर्यो। ती पनि मेरा साथीभाइ नै हुन्। उनीहरुको नाम परेपछि मलाई स्वाद परेन, छाडिदिएँ।'

भण्डारी राजीनामा बोकेर तत्कालिन गभर्नर बिजयनाथ भट्टराई कहाँ पुगे। 'अहिलेसम्म धेरै गुन लाउनु भयो। अब एउटा गुन लाइदिनुस् भनेर गभर्नर विजयनाथ भट्टराईलाई राजीनामा स्वीकृत गर्न आग्रह गरेँ,' उनले भने, 'स्वीकृति भएपछि म आजाद भएँ।'

राजीनामा स्वीकृत भयो। त्यसपछि उनले शिक्षा क्षेत्रततर्फ लाग्ने सुर कसे। उनी राष्ट्र बैंकमै छँदा बिहान बेलुका कलेज पढाउँथे। त्यसैले उनलाई शिक्षा क्षेत्रले तानेको थियो। नभन्दै काठमाडौं युनिभर्सिटीमा एमफिल भर्ना पनि भए। 



त्यसबेला भण्डारीले 'मलाई राष्ट्र बैंकमा अगाडि बढ्न दिएनन्। बाणिज्य बैंक खोलेर, सफल बनाएर देखाइदिन्छु' भन्ने गरेको 'र्युमर' पनि चलेको थियो।

तर बैंकिङको नशाले कहाँ छाड्छ। एक दिन बिहान चर्चित रियलस्टेट कारोबारी कालु गुरुङ र स्थापित बैंकर सुरेन्द्र भण्डारीले राजनलाई चियाको निम्तो दिए।

तीन जना कुपण्डोलस्थित हिमालयन होटलमा चिया पिउन बसे। कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रका अगाडि कालु गुरुङले प्रस्ताब गरे- तपाईजस्तो मान्छे पाइँदैन दाई। तपाईले बैंक चलाइदिने हो भने, म एक अर्ब खोजेर ब्यवस्था मिलाइदिन्छु।

राजन अलमलमा परे। के काइदाको कुरा रहेछ भन्ने लाग्यो। निकै बेर सोचेपछि उनले भने- ल म तपाईहरुलाई टाइम दिन्छु। 

त्यसपछि राजन नयाँ बैंक खोल्न आँफै भिँड्न थाले। नयाँ नयाँ लगानीकर्ताको समूह खोजे। प्रदीपजङ पाण्डेको समूह आयो। पर्यटन ब्यवसायी डोलराज शर्मादेखि अर्थशास्त्री शंकर शर्मासम्म सिटिजन्स बैंकको छातामूनि छिरे। 

'सिटिजन्स बैंक मेरै लागि स्थापना गरिदिएजस्तो भयो,' राजनले भने, 'प्रस्ताव कालु गुरुङ र सुरेन्द्र भण्डारीबाट आयो। पछि हामी अरु चार जना भिडेर बैंक ल्यायौं।' 

राजन, गणेश पोखरेल, विष्णु अधिकारी र डा. विमल कोइराला बैंकका लागि भिँडेका थिए। जुनियर डेपुटी गभर्नर भए भनेर राष्ट्र बैंक छाडेका राजनले तिनैसँग लाइसेन्स माग्न गए। त्यसबेलासम्म राजन परिवर्तन भइसकेका थिए। नियामकबाट ब्यवसायी भइसकेका थिए। 

'मैले ब्यक्तिगत रिसरागका कारण राष्ट्र बैंक छाडेको थिइँन। राजनीतिक कारणले थियो' उनले भने, 'त्यसैले लाइसेन्स माग्न जान अप्ठेरो भएन। म चोर्न गएको होइन। ब्यवसाय गरेर खान्छु भनेर लाइसेन्स माग्न गएको थिएँ।'

त्यसबेला लाइसेन्समा कडाइ नै थियो। तर भण्डारीको नेतृत्वमा पुगेको टोलीले सहजै लाइसेन्स पायो। 'हामीलाई पत्याए भनौं न,' उनले भने।



बैंक खुल्यो। राम्रो चलिरहेको पनि थियो, तर एक दिन सञ्चार माध्यमका कारण राजन लडखडाए। १३ अर्बको निक्षेपमध्ये दुई दिनमा  २ अर्ब घटिसकेको थियो। 'कान्तिपुरमा बैंकहरुमा पूँजीको समस्या भनेर पाँच वटा बैकको नाम छापिएको थियो। त्यसमध्ये सिटिजन्सको पनि परेको थियो' उनले भने, 'त्यो कुरा नबुझी लेखिएको समाचार थियो। त्यसले गर्दा साँच्चै अप्ठेरो पर्यो। तर हाम्रो समझदारीले त्यो असहजतालाई पनि पार लगायौं।'

त्यसबेला राजनलाई बिहान उठ्दा बैंक जिवित छ कि छैन भन्नेसम्म लाग्थ्यो। अफिस पुग्दा धेरै लाइन पो लागिसक्यो कि भन्ने लाग्थ्यो। निन्द्रा पर्दैन थियो। 'त्यो अवस्था बाहेक जहिले पनि हामीहरुले राति आरामले निन्द्रा लाग्ने गरी काम गर्यौं,' उनले भने, 'पछिल्लो तीन बर्षमा अर्बका दरले नाफा कमाएका छौं। १२ बर्षमा १२.२३ प्रतिशतका दरले लाभांस दिएका छौं। त्यसैले बाणिज्य बैंकिङमा म सफल भएर बाहिरिएको छु।' 

राजनले ४० बर्षे बैंकिङ करियरमा धेरै उतारचढाव, आरोह/अवरोह देखेका छन्। नयाँ बैंकहरुले हासिल गरेको बृद्धि, पुराना बैंकहरु पछि पर्दै गएको पनि अनुभव गरेका छन्। तर यी सबको उनको विश्लेषण अलिक फरक छ। 'सहज परिस्थितिमा बैंकिङ सबैले गर्न सक्छन्। तर असहज परिस्थितिमा बैंकिङ गर्नु भनेको त्यो चै एउटा खुबी हो,' उनले भने, 'यत्रो तरलताको आँधिबेरी आउँदा पनि हामीलाई त्यसले असर गरेन किनभने असहज परिस्थितिमा कसरी बैंकिङ गर्नु पर्छ भन्ने हामीलाई थाहा छ।' त्यसैले राजनले नयाँ पुस्ताका बैंकरले धेरै खरानी घस्ने गरेको पनि आरोप लगाउँछन्। 

राष्ट्र बैंक छाडेर शिक्षा क्षेत्रमा लाग्न खोजेका राजन सिटिजन्स बैंकबाट बाहिरिएपछि फेरि त्यही क्षेत्रमा जान्छन् कि? अँह अब त्यो मबाट हुँदैन। मेरो प्राथमिकता अब पुरै फेरिइसकेको छ,' उनले भने।

राजनले आगामी योजना यसरी सुनाए, अब म बैंकिङबाट बाहिर हुन सक्दिन। अब मान्छेलाई कमाउने बनाइ दिने हो, माग्ने होइन। म काम गरिखाने इमान्दार मान्छेको खोजीमा लाग्छु। विगत ४० बर्ष बैंकिङमा काम गर्दा पैसाको सही ढंगले सदुपयोग गर्यो भने कसरी आम्दानी बढ्छ भन्ने कुरा नजिकबाट देखेको छु। मैले १ हजार जनाको मान्छेको मात्र आम्दानी बढाइ दिएँ भने मलाई मर्ने बेलामा ठूलो सन्तुष्टी मिल्ने छ।



उनले बैंकिङ क्षेत्रमा रहेर विपन्न र गरिव जनताको आय आर्जन बढाउने योजना बुनेका छन्। 'म अब मान्छेका लागि पूँजी परिचालन गरिदिन्छु। १४/१५ हजार रुपैयाँ दरले ऋण उपलब्ध गराउन सहजीकरण गर्छु,' उनले भने, 'त्यसबाट उनीहरुले महिनाको तीन हजार नै आम्दानी गरे भने पनि जीवनस्तरमा सकारात्मक प्रभाव पर्छ।' 

राजनलाई अब जागिर खान फिटिक्कै मन छैन। अरु बैंकबाट अफर आए पनि उनी जानेवाला छैनन्। 'जागिर नै खाने भए त मलाई सिटिजन्स बैंक नै छ नि' उनले भने, 'सिटिजन्स बैंक मेरै लागि त खुलेको हो।'

नियामक र बैंकर दुबै भूमिकामा उत्तिकै फिट राजनलाई केही कुराहरु भने खड्किन थालेको छ। राष्ट्र बैंकमा हुँदा उनको पनि 'फूँइफूँइ' गरेर हिँड्ने बानी थियो। हामीजत्तिकै कोही छैन भन्ने पनि लाग्थ्यो। आफ्नो निर्णयले बैंकहरुलाई के अप्ठेरो पर्छ भन्ने पनि लाग्दैन थियो।

बाणिज्य बैंकिङमा भूमिका फरक भयो। 'बाणिज्य बैंकिङमा कसलाई के मनपर्छ त्यो मात्रै बोल्नु पर्छ। नत्र बिजिनेस हुँदैन,' उनले भने, 'तैपनि मलाई नियामकबाट बैंकर हुन समय लागेन। भूमिका अनुसार एक्टिङ गर्नु पर्छ।' 

नियामक रेफ्री हो र बैंकर खेलाडी हुन् भन्ने लाग्छ राजनलाई। त्यसैले यी दुबैको सम्बन्ध सुधार गर्नका लागि केही नीतिगत निर्णय हुनु पर्ने ठान्छन उनी। 

'राष्ट्र बैंकले गरेको निर्णयहरु मैले सिरोधार्य गरेर हिँडे। कति चित्त बुझ्थ्यो कति बुझ्दैन थियो। नबुझेको कुरा बाहिर ल्याइन,' उनले भने, 'चित्त नबुझ्ने कुराहरु राख्न पाउने ठाउँ भने बनाइनु पर्छ।'

उनले बैंकर्स संघको अध्यक्ष हुँदा बैंकिङ कानुनहरु संशोधन हुने क्रममा थियो। त्यसबेला उनले एउटा यस्तो संस्था बनाऔं, जहाँ गुनासो सुनुवाइ होस् भनेर लबिङ गरे। राष्ट्र बैंकले गरेको कतिपय निर्णयहरु बैंकहरुलाई चित्त बुझेन भने गुनासो सुन्ने स्वतन्त्र निकाय चाहिन्छ भन्ने राजनलाई लाग्थ्यो र अहिले पनि लाग्छ। उनको लबिङ त्यहाँ पनि सफल भएन।

'राष्ट्र बैंकको निर्णय बिरुद्ध अदालत जाने हिम्मत बैंकको हुँदैन,' उनले भने, 'त्यसैले गुनासो सुन्ने इकाइ चाहिन्छ। जहाँको फैसला अन्तिम होस्।' 

अब एक पटक गभर्नरका लागि प्रयत्न गर्न मन छ कि? उनले भने, अहँ छैन, राजनीतिक पद मेरा लागि होइन।

Share this Story

   

राजनसिंह भण्डारी: जसका लागि सिटिजन्स बैंक स्थापना गरियो को लागी १ प्रतिक्रिया(हरु)

the shawshank redemption[ 2019-01-05 06:02:52 ]
Surinder bhandari ra kalu gurung ko bich ma k sambandh ho ? Bank ko CEO real estate bepaari sanga mahago hotel ma janu rahasyamay cha. Kaha bata aayo retro paisa bank nai kholna euta karmachari sanga.

Citizen Rajan Singh Kai laagi kholiyeko bhanchan. Tyo k bhaneko. Euta byakti ko lagi bank khulne bahneko k ho. Corporate governance 1% Pani cha ki chaina bank ma.

   हालसम्म ६१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.