अर्थमन्त्रीले गठन गरेको समितिको बैठक: बैंकर्स संघ र इन्भेष्टर फोरमलाई दिइयो यस्तो जिम्मा

बिजमाण्डू
२०७५ मंसिर २३ गते १७:१० | Dec 9, 2018
अर्थमन्त्रीले गठन गरेको समितिको बैठक: बैंकर्स संघ र इन्भेष्टर फोरमलाई दिइयो यस्तो जिम्मा

काठमाडौं। मुद्रा र पुँजी बजारमा देखिएका समस्याबारे अध्ययन गर्न गठित समितिको पहिलो बैठक आइतबार बसेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिको पहिलो बैठकमा नेपाल बैंकर्स संघ र लगानीकर्ताका प्रतिनिधिलाई आ-आफ्ना क्षेत्रका सरोकारवालाको सुझाव संकलन गरी समितिमा प्रस्तुत गर्ने जिम्मेवारी दिइएको छ। 

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालयमा कार्यरत नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलका अनुसार पहिलो दिनको बैठकमा समितिको उद्देश्य, कार्यक्षेत्र र दिनुपर्ने सुझावबारे छलफल भएको थियो। 

'बैंकर्स संघ र शेयर बजारका लगानीकर्ताका प्रतिनिधिले आ-आफ्ना क्षेत्रका सरोकारवालासँग सुझाव संकलन गरी आउँदो बैठकमा प्रस्तुत गर्ने गरी आजको बैठक सकिएको छ,' खरेलले भने।

आइतबारको बैठकमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना र इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले विद्यमान समस्याबारे संक्षिप्त धारणा राखेका थिए। त्यसपछि यी विषयमा आफ्नो आफ्नो क्षेत्रका समस्या र तिनको समाधानका लागि सुझाव संकलन गर्ने जिम्मेवारी उनीहरुलाई नै दिँदै बैठक सकिएको हो। 

समितिको मंगलबार बस्ने बैठकमा दुवै संस्थाका प्रतिनिधिले संकलित सुझाव प्रस्तुत गर्नेछन्। त्यसैका आधारमा समितिले अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव पेश गर्नेछ। 

बैंक तथा वित्तीय संस्थाको ब्याजमा उच्च वृद्धि र शेयर बजारमा भारी गिरावट आएपछि अर्थमन्त्री खतिवडाले सात दिनको समय दिएर गत बिहीबार समिति गठन गरेका थिए।

समितिमा डेपुटी गभर्नर श्रेष्ठसहित नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्था समन्वय महाशाखा प्रमुख उत्तरकुमार खत्रीसहित बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना र शेयर लगानीकर्ताका प्रतिनिधि इन्फेटर्स फोरमका अध्यक्ष पौडेल छन्। 

अघिल्लो साता बैंकर्स संघले भद्र सहमती खारेज गर्दै व्यक्तिगत मुद्दती निक्षेपको ब्याज तोक्ने जिम्मा बैंकहरुलाई खुला छाडेपछि निक्षेप महागिएर साढे १३ प्रतिशत पुगिसकेको छ। समिति गठन गरेकै दिन बैंकर्स संघको साधारणसभामा मन्त्री खतिवडाले उच्च ब्याजदर र ग्राहक खोसाखोस बैंकहरुकै लागि घातक हुने भन्दै सचेत हुन निर्देशन पनि दिएका थिए।