बजारमा महँगिदा साल्ट ट्रेडिङको ५ हजार टन चिनी गोदाममै, कर्मचारी भन्छन्- मन्त्रालय धाउँदा थाक्यौ

बिजमाण्डू
२०७५ असोज ३१ गते १२:२९ | Oct 17, 2018


वीरगंज। सरकारले साल्ट ट्रेडिङले दशैँ तिहारकालागि लक्षित गरी भित्र्याएको ५ हजार टन चिनी गोदाममै थन्किएको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयको आपूर्तिले भारतबाट आयात गरिएको चिनीमा गम्भीर नबन्दा करोडौंको चिनी गोदाममै थन्काई बजारमा महंगो दाममा चिनी बिक्री बितरण भइरहेको छ ।

साल्ट ट्रेडिङ कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख अमोज लामिछानेका अनुसार साल्ट ट्रेडिङका अधिकारीहरु  मन्त्रालय धाउँदाधाउँदा थाकिसकेका छन्। तर सरकारले हालसम्म चिनी बेच्न दाम नतोकेको उनको भनाई छ।

‘हाम्रो सिइओ उर्मिला श्रेष्ठ आपूर्ति मन्त्रालय धाउँदा धाउँदा थाकिसक्नुभयो, तर केही उपाय लागेन, हालसम्म सरकार गम्भीर देखिएको छैन,’उनले भने।

क्षेत्रीय प्रमुख लामिछानेको अनुसार बजारमा अहिले विभिन्न ठाउँमा विभिन्न दरमा चिनी बिक्री भइरहेको छ । नेपालको विभिन्न शहरमा ६८ रुपैयाँदेखि ९० रुपैयाँसम्म पनि चिनीको दाम बढाइ बेचबिखन भइरहेको उनी बताउँछन् ।

सरकारी पक्षकै साल्ट ट्रेडिङले भित्र्याएको चिनीको बिक्री वितरणकालागि सकारात्मक पहल नभएको उनले गुनासो गरे ।

साल्ट ट्रेडिङले गत जेठ २३ गते ५ हजार टन चिनी आयात गर्न एलसी खोलेको थियो ।

भारतको गुजरातको रेनुका सुगर मिल्सबाट ल्याउने ५ हजार चिनी मध्ये २५ सय टन चिनी भदौ १८ गते वीरगंज आइ श्रीर्सिया सुक्खा बन्दरगाह हुँदै साल्ट ट्रेडिङ्को गोदाममा थन्केको छ भने असोज ६ गते दोस्रो लटको २५ सय टन बन्दरगाहकै गोदाममा थन्केर बसेको छ ।

संघीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउँदै भदौ असोज १ गते देखि विदेशबाट आयात गरिएको चिनीको जाँचपास नगर्ने भन्सार कार्यालयहरुलाई परिपत्र गरेपछि साल्ट ट्रेडिङको दोस्रो चरणको चिनी बन्दरगाहको गोदाममा थन्केको हो ।

‘भारतबाट दोस्रो लटको चिनी ल्याउँदा बाटोमा ७ दिन रेल ढिला आयो, मन्त्रीपरिषद्ले कोटा सिस्टमको निर्णय गर्यो जसले गर्दा हाम्रो चिनीको जाँचपासपनि भएको छैन त्यसैले छुटाउन सकिएन’-उनले भने।

गोदाममै रहेको चिनीको पनि मूल्य नतोकिदा बिक्रीको लागि पठाउन नसकिएको उनको भनाई छ।

सार्वजनिक लेखा समितिले  ६३ रुपैयाँमा चिनी बेच्न निर्देशन दिएको छ, तर जब सम्म मन्त्रिपरिषद्बाट निर्णय नभइ हामीलाई पत्र नआउँदा चिनी कुन दरमा बेच्ने ठेगान छैन- उनले भने।

श्रीर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले बन्दरगाहको गोदाममा २६ सय टन चिनी थन्केको बताए ।

२५ सय टन साल्ट ट्रेडिङ्को र १ सय टन अन्य व्यवसायीको चिनी रहेको उनले बताउँदै जब सम्म माथिल्लो निकायको परिपत्र नआउँदा चिनीको जाँचपास नगर्ने निर्देशन आएको बताए ।