देश २५ अर्ब रुपैयाँ घाटामा, चालु खाताको घाटा अन्तर बढ्यो, रेमिटेन्समा उछाल

बिजमाण्डू
२०७५ असोज १२ गते १३:५८ | Sep 28, 2018
देश २५ अर्ब रुपैयाँ घाटामा, चालु खाताको घाटा अन्तर बढ्यो, रेमिटेन्समा उछाल

काठमाडौं। गत आर्थिक बर्ष बल्लतल्ल धनात्मक भएको शोधनान्तर नयाँ आर्थिक बर्षको पहिलो महिना नै घाटामा गएको छ। देश पहिलो महिना नै २४ अर्ब ७७ करोड रुपैयाँ घाटामा गएको हो।

Tata
GBIME
Nepal Life

आयातमा भएको उच्च बृद्धिका कारण चालु खाता घाटा बिस्तार भएर २५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष ५ अर्ब ९८ करोड घाटामा थियो। यसपाली हवाइजहाज आयातले ठूलो हिस्सा ओगटेको छ। हवाइजहाजले सेवा क्षेत्रलाई बिस्तार गर्दा भविस्यमा यसले फाइदा नै पुर्याउने छ।

लोडसेडिङको अन्त्य भयो भनिरहँदा पेट्रोलियम पदार्थको आयातमा भने कुनै कमी आएको छ। औद्योगिक उत्पादनका लागि पनि आयात बढेको छ। पूर्वाधार क्षेत्रका लागि आयात गरिएको सामाग्रीको उच्च आयात छ। पहिलो महिना नै आयात १ खर्ब २० अर्ब रुपैयाँ नाघिसकेको छ। यही कारण चालु खाता घाटासँगै शोधनान्तर ऋणात्मक भएको हो। 

देशमा विदेशी मुद्राको कुल आर्जन र खर्चको अन्तरलाई चालु खाताले परिभाषित गर्छ। विदेशी मुद्राको आर्जनभन्दा खर्च बढि भएमा खाता घाटामा जान्छ। विदेशी मुद्राको आर्जन निर्यात, प्रत्यक्ष वैदेशिक लगानी र विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्सबाट हुन्छ। 

गत बर्ष चालु खाता घाटा ३० खर्बको अर्थतन्त्रको ८ प्रतिशत पुगेको थियो। चालु बर्षको पहिलो महिनालाई तुलनात्मक रुपमा हेर्दा खाटा ८ प्रतिशतभन्दा माथि पुगेको छ। विकासशील देशहरुमा चालु खाता घाटालाई सामान्य पनि मानिन्छ। खासगरी त्यहाँ पूर्वाधार, वित्तीय क्षेत्र र उत्पादनमूलक क्षेत्रमा लगानी भइरहेको अवस्थामा।

नेपालले गत दुई आर्थिक बर्षमा उच्च आर्थिक बृद्धि हाँसिल गरिरहेको छ। चालु बर्षको लक्ष्य ८ प्रतिशत छ। यसो हुँदा विकास निर्माणका लागि उत्तिकै विदेशी पूँजी भित्र्याउनु पर्ने छ भने आयात पनि त्यही अनुपातमा बृद्धि हुँदै जानेछ।

एक देशको अन्य देशसँग हुने वित्तीय लेनदेनको हिसावलाई शोधनान्तर भनिन्छ। यसमा एक देशबाट बाँकी सन्सारसँग आयात निर्यातका लागि हुने आर्थिक कारोबार समेटिन्छ। यसमा आयात निर्यातभित्र बस्तु तथा सेवा, वित्तीय पूँजी र वित्तीय हस्तान्तरण पनि पर्छ। नेपालमा शोधनान्तर र चालु खाता मासिक रुपमा गणना गरिन्छ।

आयातको मात्रा बढेर शोधनान्तर घाटा बृद्धि हुन थालेपछि सरकारले मन्सार मूल्यांकन बढाइसकेको छ। कतिपय खाद्यान्नमा कोटासमेत लगाएको छ। संभावित आर्थिक संकटलाई रोक्न यस्तो बेला सरकारले आयातमा बिशेष कटौती गर्दै लैजान सक्छ। अहिले सरकारले आयात प्रतिस्थापनका लागि करका दरहरु बढाएको छ।

पहिलो महिना विदेशमा काम गर्न गएका नेपालीले ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिटेन्स पठाएका छन्। रेमिटेन्सको बृद्धि दर ३३ प्रतिशतले बढ्यो। गत बर्ष ७ प्रतिशतले मात्र बढेको थियो।