एनआइसीसँगै एनएमबी र कुमारीमा किन तानिए लगानीकर्ता? पुराना ‘प्लेयर’ सक्रिय हुँदा बजार उकालो

बिजमाण्डू
२०७५ असोज ७ गते १५:२९ | Sep 23, 2018

काठमाडौं। सुरुमा रातो देखिएको शेयर बजार साढे २ अंकको बृद्धिसहित हरियो भएर बन्द भएको छ। वाणिज्य तथा विकास बैंकहरुको शेयर मूल्य धेरै नै तल झरेको र लाभांस पनि घोषणा गर्ने अन्तिम तयारीमा रहेको हुँदा दीर्घकालिन रुपमा लगानी गर्ने लगानीकर्ता बजारमा आउदाँ बजार बढ्न थालेको हो। 

Tata
GBIME
Nepal Life

हिजोका दिनमा म्युचुअल फण्ड तथा प्राविधिक विश्लेषकहरुले बजार १००० को लाइनमा आउने भन्ने किसिमका कुरा गर्दा बजार प्रवेश गर्न डराएकोहरु अहिले म्युचुअल फण्ड तथा पैसा भएका लगानीकर्ताले विस्तार लगानी बढाएको प्रज्ञान सेक्युरिटजका कार्यकारी निर्देशक प्रल्हादकुमार ओलीले बताए। 

दीर्घकालिन रुपमा होल्ड गर्ने लगानीकर्ताले बाणिज्य बैंकको शेयर उठाइरहेका छन्, एक ब्रोकरले भने 'बुलिस ट्रेण्डलार्इ बजारले पछ्याउन खोजेको हो कि भन्ने देखिएको छ।' बजार लामो समयदेखि १२ सयको लाइनमै टिकिरहेको र कारोबार रकम पनि बढिरहँदा लगानीकर्ताको मनोबल बढेको छ।' यससँगै विस्तारै साना तथा ठूला लगानीकर्ताले शेयर खरिदको अनुपात बढाउन थालेको ब्रोकरहरु बताउँछन्। 

कारोबार सुरु भएको ६ मिनेटदेखि ओरालो लाग्न थालेको बजार ४ अंकसम्म तल झर्यो। एक बजेर १६ मिनेटपछि विस्तारै बढ्न थालेको बजार ५ अंकसम्म बढ्यो। सामान्य उतारचढावसँगै अन्तिममा २.६१ अंकको सधारसँगै ६९ करोड ३६ लाख रुपैयाँको कारोबार भयो। 

साताको पहिलो दिन बैंकिङ, व्यापार, होटल, विकास बैंक, हाइड्रोपावर, फाइनान्सको सूचक हरियो देखिएको छ भने निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, माइक्रोफाइनान्स र निर्जीवन बीमाको सूचक रातो भएको छ। 

सबैभन्दा धेरै एनआइसी एशियाको ७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। एनआइसीको लगानी बिस्तार र बिजिनेस भोल्युमका कारण बैकको भविस्य राम्रो भएको भन्दै खुद्रे लगानीकर्ताले शेयर धमाधम उठाउन थालिरहेका छन्। ब्रोकरहरुका अनुसार, कर्पोरेट लगानीकर्ता पनि एनआइसीको शेयरमा तानिन थालेका छन्। सस्तोमा राम्रो कम्पनी भएको भन्दै लगानीकर्ता यी शेयरमा ओइरिएको ब्रोकरहरु बताउँछन्।

एनआइसीपछि एनएमबी र कुमारी बैकमा लगानीकर्ता आकर्षित देखिएका छन्। एनएमबीको ३ करोड ८९ लाख र कुमारीको २ करोड १९ लाखको शेयर किनबेच भएको छ।

त्यस्तै दोस्रोमा खराव अवस्थामा रहेको क्यापिटल मर्चेन्ट बैंक तथा फाइनान्सको ६ करोड ७८ लाख रुपैयाँको प्रमोटर शेयरको म्यानुअल कारोबार भएको छ। 

साल्ट ट्रेडिङ कर्पोरेसनका शेयरधनीले सबैभन्दा धेरै ८.९८ प्रतिशतले कमाएका छन् भने कालिका लघुवित्तका शेयरधनीले ७.४३ प्रतिशतले गुमाएका छन्।