साउदी अरबमा ५ नेपाली अलपत्र, कम्पनीले मोवाइलसमेत जफत गरेको गुनासो, उद्दारका लागि अपिल

रासस
२०७५ भदौ २१ गते ११:०७ | Sep 6, 2018

बेनी। रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन्। दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका ३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका ५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र परेका हुन्। 

Tata
GBIME
Nepal Life

अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफूमाथि समेत दुर्व्यवहार गरिएको अलपत्र परेका भकिम्लीका छन्त्यालले टेलिफोनमा बताए। 

कान्तिपुर मेनपावर कम्पनीमार्फत दुई वर्षका लागि त्यहाँ पुगेका उनलाई कम्पनीले तीन वर्ष पुरा नभएसम्म घर फिर्ता हुन नदिने धम्की दिँदै आएकामा अहिले आफूहरूलाई कुटपिट गरी साथमा रहेको मोवाइल र पर्ससमेत खोसेर कम्पनीबाट निकाला गरेपछि समस्यामा परेको उनको गुनासो थियो। 

‘हामी यहाँ अलपत्र परेका छौँ, कम्पनीले निकालेपछि एक दिन सडकमै बितायौँ, अहिले कहाँ बस्ने र के खाने त्यो पनि ठेगान छैन,' पीडित घर्तीले भने।  

आफूहरूको पासपोर्ट, लाइसेन्सलगायतका सबै कागजपत्र कम्पनीले नै राखेको र नेपाल फिर्ता हुनबाट रोक्ने, कडा परिश्रम गर्न लगाउने, शारीरिक यातना दिने गरेपछि दूतावास र श्रम अदालत धाउँदासमेत आफूहरू घर फर्कने वातावरण नबेपछि थप समस्या भएकाले आफूहरू नेपाल फर्कन चाहेको बताउँदै उनीहरूले सबै सरोकारवालालाई घर फिर्ताका लागि पहल गरिदिन अनुरोध गरेका छन्।