पहिरोका कारण रसुवाबाट हुने चीनसँगको व्यापार ठप्प, राजस्वको कारबाहीपछि क्लियरेन्समा ढिलाई

बिजमाण्डू
२०७५ साउन ३० गते १६:३० | Aug 15, 2018


काठमाडौं। पहिरोले बाटो अवरुद्ध भएपछि चीनबाट सामान आयात ठप्प भएको छ।

Tata
GBIME
Nepal Life

चीनबाट नेपाल सामान भित्र्याउने रसुवागढी नाका नजिकै बाटो पहिरोले पुरिँदा चीनबाट सामान आयात ठप्प भएको हो। यस्तै रसुवागढी भन्सार र नेपाल-चीन सीमाको बीचमा पर्ने खोलाको पुलमा बाढीले क्षति पुर्‍याउँदा व्यापार थप प्रभावित बनेको छ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले पहिरोका कारण बाटो अवरुद्ध हुँदा चीनबाट सामान आयात ठप्प जस्तै बनेको जानकारी दिए।

'भन्सार नजिकै पनि पहिरो गएको छ, अर्कोतर्फ सदरमुकाम धुन्चे नजिकै पनि बाटोमा पहिरोले क्षति पुर्‍याउँदा सामान आएको छैन,' उनले भने।

चीनबाट सामान लोड भएर आएकामध्ये तत्काल कुहिन सक्ने सामग्री भने एउटा ट्रकबाट अर्को ट्रकमा सारेर भन्सार जाँचपास गराइएको छ। तर लत्ताकपडालगायतका सामान भने भन्सार दुई देशको सीमामा रोकिएका छन्।

पहिरोका कारण बाटो बिग्रिएर चीनबाट सामान नआउँदा पछिल्लो १० दिनयता भन्सार जाँचपासको काम करिब बन्द भएको छ।

यस्तै राजस्व अनुसन्धान विभागले रसुवागढी भन्सार हुँदै नेपाल भित्रिएका सातवटा ट्रकलाई नियन्त्रणमा लिएर कारबाही गरेपछि भन्सार आइपुगेका केही सवारी साधनको जाँचपास प्रक्रिया पुरा गर्न सम्बन्धित व्यवसायी गएका छैनन्।

अघिल्लो साता विभागले रसुवागढी हुँदै नेपाल भित्रएका ती ट्रक नियन्त्रणमा लिएर भन्सार मूल्यांकन सही नभएको भन्दै पुनर्मूल्यांकन गरेर छाडेपछि चीनबाट सामान ल्याएका केही व्यवसायी गाडी जाँचपास गराउन नगएका हुन्।

रसुवागढी भन्सारमा एजेन्टको काम गर्ने एक व्यवसायीका अनुसार भन्सार नजिकै करिब १० वटा ट्रक रोकिएका छन्। ती ट्रकमा सामान ल्याएका व्यवसायी भन्सार क्लिएरेन्सको प्रक्रियामा नगएपछि ट्रक भन्सारमै रोकिएका हुन्। 'अहिले भन्सारमा काम नहुनुको मुख्य कारोण त बाढी र पहिरो नै हो,' ती एजेन्टले भने, 'त्यसमा राजस्व अनुसन्धान विभागको एक्सनको पनि केही योगदान छ।'

भन्सार एजेन्टका अनुसार चीनबाट आएकामध्ये लसुन, स्याउजस्ता खाद्य वस्तु भन्सार मूल्यांकनपछि नेपाल भित्रिएका थिए। तर गार्मेन्टका सामान भने छुटाउन व्यवसायी गएका छैनन्।

'एक रुपैयाँको गल्ती गर्दा तीनसय जरिवाना पर्ने अवस्था रहेछ,' उनले भने, 'त्यही कारणले पनि अहिले व्यवसायी सामान छुटाउन गएका छैनन्। ट्रक भन्सारमा अड्किनुको कारण यही हो।'