कोरिया जाने नेपालीलाई हवाई भाडामा १३ हजार बचत, कसरी जाने कोरिया? ३ वटा विकल्प

बिजमाण्डू
२०७५ साउन २१ गते १६:०८ | Aug 6, 2018
कोरिया जाने नेपालीलाई हवाई भाडामा १३ हजार बचत, कसरी जाने कोरिया? ३ वटा विकल्प


काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाइ भाडा २३ प्रतिशतले घटेको छ।

Tata
GBIME
Nepal Life

यस अघि ५३० डलर (५८ हजार २७२ रुपैयाँ) रहेको हवाइ भाडा साउन २० गतेदेखि ४११ डलर (४५ हजार २९२ रुपैयाँ) कायम भएको छ।

प्रति व्यक्ति ११८ डलर करिब १३ हजार रुपैयाँ बचत हुने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयले बोलकबोल मार्फत कम्पनी छनौट गरि कोरिया जाने नेपाली कामदारको हवाइ भाडा घटाएको हो।

सरकारले पहिलोपटक विद्युतिय टेण्डर गरेर कोरिया जाने नेपाली कामदारको हवाई भाडा करिब १३ हजार रुपैयाँले घटाएको ईपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।

विद्युतीय टेण्डर मार्फत सि लिङ्कस् टुर एण्ड ट्राभलस् प्रालीलाई कोरिया जाने नेपाली कामदारको हवाइ टिकटको व्यवस्थापन गर्ने जिम्मा दिइएको छ।

सि लिङ्कस् प्रालीले कामदारलाई टिकटको व्यवस्थापन गर्दा एक भन्दा बढी ट्रान्जिट राख्न पाउने छैन। साथै त्यस्तो ट्रान्जिटमा ६ घण्टा भन्दा बढी समय पनि राख्न नपाइने न्युनतम मापदण्ड तोकिएको खनालले जानकारी दिए।

ईपिएस प्रणाली लागु हुँदा ५४१ डलर रहेको हवाई भाडा २०७३ पुस देखि ५३० डलर कायम गरिएको थियो। त्यतिबेला सरकार आफैले हवाइ टिकटको व्यवस्थापन गर्दै आएको थियो।

अब यहि साउन २० गते देखि लागु हुने गरि हवाई भाडा ४११ डलर कायम गरिएको छ। यस अघिनै टिकट बुकिङ गरिसकेका कामदारले ५३० डलरकै मूल्य तिरेर कोरिया जानु पर्ने भएपनि साउन २० गतेदेखि नयाँ टिकट बुकिङ गर्ने कामदारले ४११ डलर मात्रै तिर्नुपर्ने खनालले जानकारी दिए।

कोरियामा काम गर्ने नेपाली कामदारको न्युनतम तलव एक लाख ५० हजार रुपैयाँ छ। कोरिया सरकारले सन २०१९ को लागि बृद्धि गरेको तलव अनुसार यो रकम एक लाख ६१ हजार रुपैयाँ पुग्ने छ।

आकर्षक तलव भएका कारण वर्षेनी कोरिया जान भाषा परिक्षा पढ्नेको संख्या बढ्दो छ। अहिले सम्म कोरिया जानका लागि ६२ हजार ४७३ जना नेपालीले भाषा परिक्षा उतिर्ण गरेका छन्। जस मध्ये पाँच हजार ५७२ जना महिला छन् भने ५६ हजार ९०१ जना पुरुष रहेका छन्।

जेठ मसान्त सम्मको विवरण अनुसार ५४ हजार ३६३ जना नेपाली कामदार कोरिया पुगिसकेका छन्। जस मध्ये तीन हजार ३३८ जना महिला र ५१ हजार २५ जना पुरुष रहेका छन्।

यो वर्ष सात हजार ९९८ जना नेपालीले कोरियन भाषा परिक्षा उतिर्ण गरेका छन्। कोरियाले वर्षेनी लैजाने नेपाली कामदारको संख्या औषत ८ हजार जना रहेको छ।

कोरिया जाने ३ वटा विकल्प

यो वर्ष देखि सरकारले कोरिया जाने तीन वटा विकल्प तेपाली कामदारलाई दिएको छ। नयाँ कामदारले अनिवार्य भाषा परिक्षा उत्तिर्ण गर्नुपरेपनि एक पटक गएर नेपाल फर्केका कामदारकालागि भने सिबिटी र कमिटेड वर्करका रुपमा पुनः कोरिया जाने व्यवस्था गरेको खनालले जानकारी दिए।

सिबिटी मार्फत विगतका वर्षहरुमा पनि केहि कामदार कोरिया गएका थिए। कमिटेड वर्करका रुपमा भने पहिलोपटक कोरिया जाने अवसर दिइएको हो।

सिबिटि भनेको कम्प्युटरमा आधारित भाषा परिक्षा नै हो। तर कमिटेड वर्करका रुपमा जान भने सिबिटि जाँच पनि दिनुनपर्ने खनालले बताए।

काम गरेर फर्केका नेपाली कामदारलाई काम गरिरहेको कम्पनीले पुनः लिन चाहेमा कमिटेड वर्करका रुपमा नेपाली कामदार सहज तरिकाले पुनः कोरिया जान पाउने उनले बताए।