सिन्डिकेटधारीको हड्ताल कार्यक्रम प्रभावहीन, आन्दोलनमा यातायात व्यवसायीले नै साथ दिएनन्

बिजमाण्डू
२०७५ बैशाख १३ गते १४:४९ | Apr 26, 2018

काठमाडौं।सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधबार र बिहीबार समय तालिका विपरित सवारीसाधन क्यु फ्रि छोड्ने भनेपनि नियमित रुपमा सञ्चालन भैरहेका छन्।

Tata
GBIME
Nepal Life

सिन्डिकेटको माग राख्दै सडक केन्द्रित आन्दोलन गर्न लागेका महासंघको पहिलो क्यु फ्रि छाड्ने कार्यक्रमको कुनै प्रभाव परेको छैन।

व्यवसायीहरुले नै क्यु फ्रि छाड्न नमानेपछि महासंघको पहिलो कार्यक्रममा कुनै प्रभाव नपरेको हो।बुधबार केही व्यवसायीले साथ दिएपनि बिहीबार सबैले नियमित रुपमा सवारीसाधन चलाएका छन्।

ट्राफिक प्रहरीका सहप्रवक्ता मुकुन्द मरासिनी व्यवसायीका हडतालका कार्यक्रमको प्रभाव कहीँ पनि नदेखिएको जानकारी दिए।‘हामी हिजो विहानैदेखि सतर्क अवस्थामा थियौ,गाडीहरु अस्तव्यस्त छाड्दा यात्रुहरुलार्इ समस्या हुन सक्छ विकल्प के दिने त भनेर तर राम्रो कुरा उहाँहरुको हड्तालको कहि कतैबाट गुनासो आएन’-उनले भने।

‘दुर्इ चार जनाले चलाएनन् होला त्यो भिन्दै कुरा तर समग्र यातायातमा त्यसले कुनै प्रभाव परेको छैन’-उनले भने ‘हामी आज पनि विहानै देखि तयारी अवस्थामा थियौ तर त्यस्तो कहि त्यसको प्रभाव परेको अहिलेसम्म देखिएन।’

 यातायात व्यवस्था विभागका अनुसार त्यस्तो कहिकतै क्यु फ्रि छाड्ने ,आन्दोलन हड्ताल जस्ता कार्य गरेको स्थानीय प्रशासनबाट जानकारी आएको छैन। विभागका प्रवक्ता तुल्सीराम अर्यालले सर्वसाधरणलार्इ असर पर्ने गरि यस्ता क्रियाकलापमा संलग्न भए स्थानीय प्रशासनको सहयोगमा लगत संकलन गरेर रुट खारेज गरिने जानकारी दिए। उनले अत्यावश्यक सवारीसाधन रोक्ने,हड्ताल गर्ने जस्ता कार्यहरु गरे कानुनी कारबाही हुने बताए।

यातायात व्यवस्था विभागले चैत १८ गते ‘यातायात व्यवस्थापन कार्यविधी निर्देशिका’जारी गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गरेको हो।उक्त निर्देशिका मार्फत सरकारले कम्पनीमा दर्ता भएर यातायात व्यवस्था विभागबाट सेवा पञ्जीकृत गराएपछि मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ।

मन्त्रीपरिषदको वैठकले जिल्ला प्रशासन कार्यालयबाट आगामी असारदेखि यातायात समिति वा संघसस्था दर्ता र नवीकरण नगर्ने निर्णय गर्यो। समितिका नामबाट फाइदा लिर्इरहेका व्यवसायीहरुले निर्देशिका खारेजीको माग गर्दै हड्ताल गर्ने निर्णय गरेका हुन्।