तीन दिनमा ५१ अंकले घट्यो शेयर बजार, कारोबार रकम २४%ले खुम्चिँदा ५६ करोडमा सिमित

बिजमाण्डू
२०७५ बैशाख १२ गते १५:४१ | Apr 25, 2018

काठमाडौँ। दुई कारोबार दिनदेखि घटेको शेयर बजार तेस्रो दिन बुधबार पनि घटेको छ। कारोबार मापक सूचकसँगै कारोबार रकम समेत घट्न थालेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.३९  अंकले घट्दै १३८६.४७ अंकमा झरेको छ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५०  अंकले घटेर २९३.१२  अंकमा झरेको छ। गत आइतबार १४३८ अंकमा रहेको शेयर बजार तीन कारोबार दिनमा ५१.८४ अंकले खुम्चिदै १३८६.४७ अंकमा पुगेको छ। सूचकसँगै कारोबार रकम समेत घट्न थालेको छ।

Tata
GBIME
Nepal Life

गत सोमबारको तुलनामा कारोबार रकम ६३ प्रतिशतले घटेको छ। गत सोमबार बजारमा एक अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार ९५ करोड रुपैयाँ घट्दै ५६ करोड १४ लाख रुपैयाँमा कारोबार रकम खुम्चिएको छ। जुन अघिल्लो दिनको तुलनामा भने २४ प्रतिशत कम हो।

अघिल्लो दिन ७३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको थियो। बुधबार १६० कम्पनीका शेयर खरिद बिक्री भएका छन्। सबैभन्दा बढी नेपाल ग्रामिण बिकास बैंकका चार करोड २४ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ।

कारोबारमा आएका १० समुहमा अन्य बाहेक सबै घटेका छन्। अन्य ०.०९ अंकले बढेको छ। बैंक ५.९, ट्रेडिङ ०.१७, होटल २८.७६, विकास बैंक १६.६५, जलबिद्युत २३.०९, फाइनान्स ५.०३, बीमा ५७.२७, उत्पादन मुलक ११.१७ र लघुवित्त १८.३२ अंकले घटेका छन्।

बुधबार सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन्। रिलायन्स फाइनान्सका शेयरधनीले करिब सात प्रतिशतनै गुमाए।