चीन जोड्ने चार नाका यसरी हुँदैछ बिस्तार, दुई लेनको बाटो चार बर्षमा तयार हुने

बिजमाण्डू
२०७४ चैत्र ९ गते १३:५९ | Mar 23, 2018
चीन जोड्ने चार नाका यसरी हुँदैछ बिस्तार, दुई लेनको बाटो चार बर्षमा तयार हुने
काठमाडौं। उत्तरी छिमेकी चीनको चारवटा नाकासम्म पुग्ने दुर्इलेनका पक्की सडकहरु बन्ने भएका छन्। त्यसका लागि सरकारले किमाथांका, रसुवागढी, कोरला र हिल्सा नाकाबाट चीन जोड्ने सडक धमाधम निर्माण गरिरहेको छ।
 
किमाथांका जोड्ने कोशी करिडोर, कोरला जोड्ने कालीगण्डकी करिडोर र हिल्सा जोड्ने कर्णाली करिडोरलार्इ राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेर काम भैरहेको छ भने रसुवागढी जोड्ने सडक आयोजनालार्इ पनि उत्तिकै महत्वकासाथ अघि बढाएको उत्तर-दक्षिण व्यापारिक मार्ग आयोजनाले जनाएको छ।


 
उत्तर-दक्षिण व्यापारिक मार्ग आयोजना निर्देशनालयका प्रमुख बलराम मिश्रका अनुसार एक बर्षभित्रमा चारवटै नाकासम्म पुग्ने सडकको ट्रयाक खुलिसक्नेछन्।
 
उनले कठिन भुगोल भएकाले केहि ढिलार्इ भएपनि काम धमाधम भैरहेको जानकारी दिए। ‘बजेटको अभाव र अन्य  कुनै समस्या नहुने हो भने आगामी चार बर्षमा चारवटा नाकासम्म पुग्ने दुर्इ लेन पक्की सडक बन्नेछ’-निर्देशनालयका प्रमुख मिश्रले भने।
 
 
उत्तरदक्षिण व्यापारिक मार्ग आयोजना निर्देशनालयका अनुसार एक बर्षभित्रमा चारवटै नाकामा सडक पुग्नेछ। त्यसपछि स्तरोन्नती गरी ४ बर्षमा दुर्इलेनको बनाइने लक्ष्य रहेको छ।
 
यसै बर्ष हिल्सा नाका सिमिकोटसम्म जोडिएपनि कर्णाली राजमार्गसम्म जोडिन भने ३/४ बर्ष लाग्ने सडक विभागका इन्जिनियरहरुले बताएका छन्।
 
सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको चारवटा सडक आयोजनामध्ये अहिले रसुवागढी नाकासम्म गाडी पुगिसकेका छन्। चीनसँग जोडिएको मुख्य व्यापारिक नाका भुकम्पले क्षति पुर्याएपछि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। अहिले नेपाल आयात हुने चिनियाँ सामानहरु यहि नाका मार्फत नेपाल भित्रन्छन्।
 
गल्छी हुँदै वेत्रावती-धुन्चे-स्याफ्रुवेशी र यहाँबाट रसुवागढी नाकासम्म गाडी सञ्चालनमा रहेका छन्। बिभागले अध्ययनका क्रममा यो सडकलार्इ दुर्इलेनमा विस्तार गर्नुभन्दापनि वेत्रावती-मैलुङ स्याफ्रुवेशी सडक बनाउन उपयुक्त हुने देखिएपछि नयाँ ट्रयाम खोलेर सडक निर्माण गर्न लागिएको हो।
 
मैलुङ-स्याफुवेशी १७ किमीको ट्रयाक खोलेर स्तरोन्नतीको काम समेत अन्तिम चरणमा पुर्याइसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए। उनले पहिलो चरणमा १० किमी खण्डको काम सकेर ७ किमीको समेत काम अन्तिम चरणमा पुर्याएको भन्दै आगामी बैशाखमा सम्पन्न गरेर सरकारलार्इ हस्तान्तरण गर्ने जानकारी दिए । 
 
उत्तरदक्षिण व्यापारिक मार्ग आयोजनाका अनुसार गल्छी-वेत्रावती सडकलार्इ दुर्इ लेनमा विस्तार गर्नका लागि ठेक्का सम्झौता भएर काम भैरहेको छ। 
 
यो सडक तीन अर्व रुपैयाँ लागतमा दुर्इ लेनको पक्की सडक निर्माण गर्न लागिएको हो। रसुवागढी नाकाबाट नेपालतर्फको १६ किमी सडक चीनले नै दुर्इ लेनको बनाउने काम गरिरहेको छ। यो सडक आगामी दुर्इ बर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ।
 
मैलुङ-स्याफ्रुवेशी सडक निर्माण भएपछि काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो बाटो निर्माण हुने सडक विभागले जनाएको छ। यो बाटोलार्इ चितवनको ठोरी नाकासम्म जोड्ने सरकारले योजना समेत बनाएको छ। 


 
पुर्वी नेपालसंग चीन जोड्ने किमाथांका नाकालार्इ संखुवासभाको सदरमुकाम खाँदबारीसम्म जोड्ने सडक युद्धस्तरमा काम भैरहेको छ।
 
खाँदबारीबाट चिनियाँ नाका किमाथांका जोड्ने १ सय ६२ किलोमिटर सडकमा अब ३२ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको छ।सो खण्डको एक बर्षमा ट्रयाक खोल्ने लक्ष्य लिर्इएको छ।
 
यो खण्डमा बन्ने १० वटा पुलको डिजाइन सकेर निर्माणको फेजमा जाने तयारी भैरहेको उत्तरदक्षिण व्यापरिक मार्ग निर्देशनालयले जनाएको छ। खाँदबारीमा आयोजनाको कार्यालय नै स्थापना गरेर काम गरिरहेको छ। खाँदबारीसम्म दुर्इ लेनको कालोपत्रे सडक नै रहेको छ। 
 
चिनियाँ पक्षले किमाथांकासम्म एक बर्षअघि पक्की सडक ल्याइसकेको छ । किमाथांका नाका नजिकै चीनको रिउ शहर रहेको छ जसका कारण पुर्वी नेपालमा चीनबाट सामान आयाता र निर्यात गरी व्यापार गर्न सहज हुने अपेक्षा गरिएको छ।
 
चीन जोड्ने अर्को नाका हिल्सासम्म पुग्नकालागि अब ७ किमी मात्रै ट्रयाक खोल्ने काम बाँकी रहेको सडक विभागले जनाएको छ। नेपाली सेनाले यो खण्डको ट्रयाक खोल्ने काम गरिरहेको छ। सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार यसै बर्ष उक्त खण्डको ट्रयाक खुल्ने छ।त्यसपछि स्तरोन्नती र पक्की सडक निर्माण थालिने छ। 
 
पश्चिम नेपालमा कोरला नाकासम्म पुग्ने सडक ट्रयाक खुलिसकेको छ। बेनी-जोमसोम कोरला १ सय ९० किमी खण्ड आगामी दुर्इ बर्षमा निर्माण सम्पन्न गर्ने गरि काम भैरहेको छ।
 
बेनीदेखि जोमसोम सय किलोमिटर दुर्इलेनमा कालोपत्रे गर्ने र जोमसोम कोरला दुर्इ लेनको ग्राभेलस्तर बनाउने काम भैरहेको सडक विभागले जनाएको छ। आयोजनाको कार्यालय जोमसोममा स्थापना गरेर काम भैरहेको छ।
 
कोरलाबाट चीनको राष्ट्रिय राजमार्ग ४५ किलोमिटरमा रहेको छ। कोरलामा सुख्खा बन्दरगाह निर्माणका लागि अहिले नेपालले सम्भाव्यता अध्ययन गरिरहेको छ। चीन तर्फबाट पनि नाका  नजिकै अध्यागमन कार्यालय निर्माण भैरहेको विभागको भनार्इ छ। 
 
यस्ता छन् नेपाललार्इ चीनसंग जोड्ने आयोजना
दार्चुला-तिकंर ११२ (किमी), तामाकोशी-लामाबगर(२५किमी), जिरी-सल्लेरी-ढिङग्री, ओलाङचुङगोला लगायतका सडक आयोजनाहरुमा काम भैरहेको छन्। 
 
सडक विभागका इन्जिनियर केशव ओझाका अनुसार यी सडकमा थोरै बजेट विनियोजित हुदा प्रगति सुस्त रहेका छन्। उनका अनुसार यस्ता साना ९ सडक निर्माण भैरहेको छ। चारवटा सडक पक्की बनेपछि यी सडकहरुलार्इ प्राथमकितामा राखेर अघि बढार्इने निर्देशनालय प्रमुख मिश्रले जानकारी दिए।
 

Tata
GBIME
Nepal Life