नेपाल वायु सेवा निगमले ‘सेफ्टी’का लागि अन्तर्राष्ट्रिय विज्ञ ल्याउने, तलब मासिक २० लाख रुपैयाँ

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ फागुन २७ गते १४:४४ | Mar 11, 2018

काठमाडौं। नेपाल वायुसेवा निगमले आफ्नो सेवालार्इ थप सुरक्षित बनाउन अन्तर्राष्ट्रिय विज्ञ ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

निगमले दुर्इ जना अन्तर्राष्ट्रिय विज्ञ ल्याएर ‘सेफ्टी कन्सर्न’लार्इ संबोधन गरिने निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले बताए।‘हवाइ सेवालार्इ थप सुरक्षित बनाउन हामीले अन्तर्राष्ट्रिय विज्ञ ल्याउन खोजेका हौं,उनले भने।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले हवार्इ सेवालार्इ सुरक्षित बनाउन प्रभावकारी कदम चालिरहेको छ। आइकाओको अभियानसँगै निगमले पाइलटको दक्षता, मानसिक स्वास्थ्य, विमानको पाटपुर्जाको सुक्ष्म  र आधुनिक ढंगले सुधार गर्न विज्ञ ल्याउन लागेको हो।कंशाकारका अनुसार पाइलट, क्याबिन क्रु, एयरहोस्टेज लगायत कर्मचारीलाई परामर्श दिनको लागि अपरेशन कन्सल्ट्यान्ट ल्याइनेछ।निगमले विज्ञ ल्याउन टेण्डर समेत आब्हान गरिसकेको छ।

‘उड्डयन क्षेत्रमा ३० वर्ष अनुभव भएको कन्सल्टेन्ट कम्पनीले टेन्डर हाल्न पाउनेछन्,उनले भने। निगमले विज्ञलार्इ मासिक कर वाहेक २० लाख रुपैयाँ दिने जनाएको छ। आठ महिना अघि निगमले अपरेशन क्षेत्रमा छ महिनाका लागि एउटा विज्ञ राखिसकेको कंशाकारले जानकारी दिए। 'एउटै सरकारी संस्था जसले २६ वटा भन्दा बढी खर्बौ डलर हैसियत भएको विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ, उनले भने, अझै प्रतिस्पर्धी बन्न धेरै सुधार आवश्यक छ।‘ निगमले व्यवस्थापन सुधारका लागि कम्प्युटराइजेशन र अटोमाइजेशनको काम भइरहेको कंशाकारले बताए।