रक्सौंलमा अवरोधपछि विराटनगरबाट आउन थाल्यो क्लिंकर, जोगवनीबाट ल्याउँदा पनि समस्यै समस्या

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ माघ ४ गते १५:५६ | Jan 18, 2018
रक्सौंलमा अवरोधपछि विराटनगरबाट आउन थाल्यो क्लिंकर, जोगवनीबाट ल्याउँदा पनि समस्यै समस्या

विराटनगर । सिमेन्ट उद्योगीले विराटनगर नाका हुँदै क्लिंकर ल्याउन थालेका छन्। रक्सौलमा क्लिंकर झार्न स्थानीयले रोक लगाएपछि सिमेन्ट उद्योगीले विराटनगर नाका हुँदै क्लिंकर ल्याउन थालेका हुन्।

Tata
GBIME
Nepal Life

रेल्वेहुँदै ओपन वागनमा आउने क्लिंकरले वायु प्रदुषण बढेको भन्दै रक्सौलका स्थानीयले रोक लगाएका थिए।यो रोकसँगै उद्योगीले वैकल्पिक मार्गको रुपमा विराटनगरलार्इ उपयोग गरेका हुन्।ढुवानी व्यवसायी गजेन्द्र ठाकुरका अनुसार हाल विराटनगर नाकाबाट वीरगञ्जसम्म क्लिङ्कर ढुवानी भइरहेको छ ।

वीरगञ्ज नाकाबाट आयात हुन नसकेपछि विराटनगर नाकाबाट मिर्चैयाको मारुती र वीरगञ्जको अम्बे सिमेन्टसम्म क्लिङ्कर ल्याइरहेका छन् भने शंकर र अम्बे समूहको लगानीमा रहेको जगदम्बा सिमेन्टले पनि विराटनगर हुँदै क्लिंकर आयात गरिरहेका छन्।मोरङस्थित नेसनल, अत्रपूर्ण, इस्टर्न कसमस लगायतका सिमेन्ट कारखानाले पनि जोगबनी–विराटनगर नाकाबाटै आयात गरिरहेका छन् ।

विराटनगर भन्सार कार्यालयका अनुसार यस नाकाबाट चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २७ करोड ७६ लाख मूल्यको ९ हजार २ सय १२ मेट्रिक टन क्लिङ्कर आयात गरिएको छ । यसबाट ९१ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।यो नाकाबाट गत आर्थिक वर्षमा ३४ करोड ७२ लाख ४० हजार बराबरको ७६ हजार ९ सय १६ मेट्रिक टन क्लिङ्कर आयात गरिएको थियो । जसबाट १९ करोड ५५ लाख ७७ हजार राजस्व असुली भएको थियो ।क्लिङ्कर आयातमा भन्सार महसुलबापत प्रति टन २ हजार ४ सय र भ्याट बुझाउनु पर्छ ।  

जोगवनीमा पनि समस्या
ठाकुरका अनुसार ८ महिना अघिसम्म क्लिङ्कर लोड गरिएको मालवाहक रेल विराटनगर नाकासित जोडिएको जोगबनी रेल स्टेसनको यार्डसम्म आइपुग्थ्यो । तर जोगबनीका स्थानीय बासिन्दाले धूलो र प्रदूषण भयो भन्दै क्लिङ्कर अनलोड गर्न अवरोध गरे ।

जोगबनीको यार्डनजिक स्थानीय बासिन्दाको बाक्लो वस्ती छ ।उक्त यार्डमा क्लिङ्कर अनलोड गर्न नपाएपछि आयातकर्ताले ९ किलोमिटर दक्षिणमा पर्ने बथनाहा स्टेसनको यार्ड प्रयोग गर्न थालेका हुन् ।‘जोगबनीको यार्डसम्म नेपाली नम्बरका ट्रक लगेर क्लिङ्कर ल्याउन पाइन्थ्यो तर बथनाहा लैजान पाइँदैन, भारतीय ट्रकमा ओसार्नुपर्छ’, उनले भने, ‘त्यसैले प्रज्ञापनपत्रमा भारतीय ट्रक नम्बर अङ्कित हुन्छन् ।’

त्यस्तै जोगबनीको यार्डसम्म क्लिङ्कर आउँदा नेपालबाट गएको एक ट्रकले कम्तीमा २ पटक ओसार्न भ्याउँथ्यो तर बथनाहा पुगेर ल्याउनु पर्दा १ ट्रिप मात्र हुन्छ ।सीमा नाका जोगबनीदेखि बथनाहासम्म ढुवानी र सवारी साधनको जामले ढुवानीमा समस्या आएको हो । जाम नहुने हो भने २ पटक ओसार्न सकिने ठाकुरको भनाइ थियो ।मीरगञ्जको पुलबाट बढीमा २० टन मात्र ल्याउन पाइने नियमले पनि सिमेन्ट ढुवानीमा समस्या भएको उनको दुखेसो छ ।
‘ट्रक नै १० टनको हुन्छ’, उनले भने, ‘रिरुट गरेर भीमनगर–कोशी ब्यारेज नाकाबाट ल्याउँदा ढुवानी खर्च अझ महँगो हुन्छ । सिधा बाटो ल्याउँदा एक ट्रकमा १० टनमात्र ल्याउन सकिन्छ ।’

ठाकुरका अनुसार जोगबनीको यार्डसम्म क्लिङ्कर ल्याउँदा एक र्याकमा २५ सय टन आउँथ्यो तर बथनाहाको यार्ड सानो भएकाले आधामात्र १३ सय मेट्रिक टन आउँछ ।‘यार्डबाट ९ घण्टाभित्रमा माल उठाइसक्नु पर्छ नभए डिटेन्सन शुल्क महँगो पर्छ’, उनले भने, ‘नौ घण्टा कट्यो भने डिटेन्सन वापत १ वेगनको प्रति घण्टा भारु १ सय ५० तिर्नुपर्छ । बथनाहामा ४० वटा वेगनको र्याक आइरहेछ । यस हिसाबले प्रतिघण्टा भारु ६ हजार डिटेन्सन लाग्छ ।’
जोगबनी छाडेर बथनाहाबाट क्लिङ्कर ल्याउँदा प्रति मेट्रिक टन ५ सयका दरले ढुवानी खर्चमा वृद्धि भएको ठाकुरले बताए।

 ‘राजस्व अनुसन्धानले दुःख दियो’
नेपाली नम्बर प्लेट भएका मालवाहक ट्रकमा क्लिङ्कर ढुवानी गर्र्दा राजस्व अनुसन्धान कार्यालयले दुःख दिएको ढुवानीकर्ताको गुनासो छ ।

ढुवानी व्यवसायी ठाकुरका अनुसार इटहरी र पथलैयामा पर्ने राजस्व अनुसन्धान कार्यालयले क्लिंकर ल्याउँदा अनावश्यक दुख दिने गरेका छन्।
ठाकुरका अनुसार विराटनगर नाकाबाट भित्रने क्लिङ्कर मालवाहक रेलको र्याकबाट बथनाहा स्टेसनको यार्डमा अनलोड गर्नुपर्छ । बथनाहा स्टेसन विराटनगर नाकाबाट ९ किलोमिटर दक्षिणमा पर्छ ।

बथनाहाबाट भारतीय नम्बरका ट्रकमा हालेर भन्सार कटाएर नेपालसम्म ल्याउनुपर्छ।नेपाली नम्बरका ट्रक बथनाहासम्म पुग्न पाउँदैनन् ।
अर्कातिर वीरगञ्ज र मिर्चैया लगिने क्लिङ्कर भारतीय नम्बर प्लेटका ट्रकले ओसार्न मान्दैनन् । त्यसैले भारतीय नम्बरका ट्रकबाट विराटनगर क्षेत्रमै अनलोड गरेर नेपाली नम्बरका ट्रकमा फेरि लोड गरेर वीरगञ्ज र मिर्चैया पुर्याउनुपर्छ।

आयातीत उक्त क्लिङ्कर भारतीय नम्बरको ट्रकमा लोड गरिएको प्रज्ञापन पत्रमा उल्लेख हुन्छ । ट्रकको नम्बर समेत प्रज्ञापन पत्रमा उल्लेखित हुन्छ । भन्सार जाँचपास गर्दा भारतीय नम्बरका ट्रकमा क्लिङ्कर राखिएको हुन्छ ।राजस्व अनुसन्धानका कर्मचारीले यही कुरामा अत्तो थापेर दुःख दिइरहेको ठाकुरले बताए ।कर्मचारीले प्रज्ञापन पत्र हेरेर र भारतीय नम्बरको ट्रकमा किन नल्याएको भनेर निहुँ खोज्ने गरेको उनले बताए।

खानी हुने पनि भारतकै भरमा
कोइलाको मूल्यवृद्धिसँगै उत्पादन पनि महँगो भएपछि आफ्नै खानी भएका सिमेन्ट उद्योगले पनि क्लिङ्कर आयात गर्न थालेका छन् ।

सिराहाको मिर्चैयास्थित मारुती सिमेन्ट उद्योगले क्लिङ्करको आयात सुरु गरेको हो ।यसअघि आफ्नो खानी नभएका अन्य स्वदेशी उद्योगलाई क्लिङ्कर विक्री गरिरहेको मारुतीले भारतबाट क्लिङ्करको आयात गरिरहेको छ ।मारुतीका सञ्चालक नन्दकिशोर राठीका अनुसार दक्षिण अफ्रिकाबाट आयात गरिने कोइलाको मूल्य गत वर्षको माघ महिनामा कोलकातासम्म ल्याउँदा प्रति मेट्रिक टन ५१ देखि ५२ अमेरिकी डलर थियो ।

गत भदौ महिनादेखि कोइलाको मूल्य आकासिएको र अहिले कोलकाता बन्दरगाहसम्म दक्षिण अफ्रिकाको कोइला आइपुग्दा प्रति मेट्रिक टन १ सय १८ डलर पर्न थालेको सञ्चालक राठीले बताए ।विश्व बजारमै इन्धन महँगो भएसँगसँगै कोइलाको मूल्य पनि क्रमशः वृद्धि भइरहेको छ ।

‘केही प्राविधिक कारणले मात्र क्लिङ्करको आयात गर्नुपरेको हो’, उनले भने, ‘यो आयात अस्थायी प्रकृतिको हो । केही समयमै क्लिङ्करको उत्पादन उद्योगमै सुरु हुन्छ ।’मारुतीले हालसम्म २१ सय टनमात्र क्लिङ्कर आयात गरेको छ ।