सोमबार पनि शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम ३१ करोड रुपैयाँले बढ्यो

बिजमाण्डू
२०७४ कात्तिक २७ गते १५:५० | Nov 13, 2017
काठमाडौं । सोमबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ। १४ दिन लगातार घटेको बजार आइतबार देखि बढ्न थालेको हो।
 
कारोबारमा आएका नौ समुहमध्ये सात उपसूचक बढेको प्रभाव समग्र बजारमा देखिएको छ। सोमबार बैंक ०.८६, जलबिद्युत ४.१५, फाइनान्स १.३२, बीमा ०.१८, उत्पादनमुलक ०.५३, अन्य २.२७, लघुवित्त ०.६३ प्रतिशतले बढेका छन्। होटल ०.५५ र विकास बैंक ०.१३ प्रतिशतले घटेका छन्।  
 
साताको दोस्रो दिन नेप्से परिसूचक १३.७४ अंकले बढेर १४९०.८८ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.४७ अंकले बढेर ३१४.०१ अंकमा उक्लिएको छ। 
 
सोमबार बजार खुलेदेखिनै उकालो  लागेको थियो। कारोबार खुलेको पौने एक घण्टामा १२ अंकले बढेको बजार त्यसपछी पौने एक बजेसम्म ओरालो लागेको थियो। त्यसपछि बजार उकालो लागेको हो।
 
सोमबार कारोबार रकममा पनि उत्साहजनक बृद्धि देखिएको छ। आइतबार ३९ करोडको कारोबार भएकोमा सोमबार ७१ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको हो। १५८ कम्पनीका १७ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भए। सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ११ करोड २४ लाख रुपैयाँमा खरिद बिक्रि भयो। 
 
सोमबार सबैभन्दा बढी चिलिमे जलबिद्युत कम्पनीका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन्। प्रभु बैंकका संस्थापक शेयरधनीले बढी करिब सात प्रतिशत गुमाए। 

Tata
GBIME
Nepal Life