८ वर्षमा पनि निर्माण सम्पन्न भएन विराटनगरको पशु बधशाला, निर्माण भएका संरचना पनि भत्किए

रासस
२०७४ असोज २६ गते ११:४० | Oct 12, 2017

विराटनगर। २०६५ सालबाट निर्माण सुरु गरिएको विराटनगरको पशु बधशाला बजेट अभावमा केही वर्षअघिदेखि रोकिएको निर्माणको काम पूरा नहुँदै भत्किन थालेको छ।
 
आर्थिक वर्ष २०६५÷६६ मा सरकार र विराटनगर महानगरपालिकाले एक करोड १९ लाख रुपैयाँ लगानीमा बधशाला निर्माण शुरु गरिएको थियो।

Tata
GBIME
Nepal Life


 फाईल फोटो
बधशाला निर्माण शुरु भएको आठ वर्ष भईसक्दा समेत निर्माण सम्पन्न भएको छैन। निर्माण गरिएका भौतिक संरचना समेत भत्किन थालेका छन्।
 
बधशाला निर्माण स्थलमा लगाएको पर्खाल भत्किएको छ। पर्खालमा प्रयोग भएका इँटा चोरी भएका छन्।
 
सरकारले एक करोड २४ लाख रुपैयाँ बजेट बधशाला निर्माणका लागि फेरी पठाएको विराटनगर महानगरपालिका पशुपंक्षी महाशाखाका प्रमुख हीरालाल यादवले जानकारी दिए।
 
नगरवासीलाई स्वच्छ मासु बिक्रीका लागि उपयुक्त स्थान बनाउने उद्देश्यले बधशाला निर्माण थालिएको थियो। बजेट अपुग हुँदा निर्माण कार्य अलपत्र परेको छ।
 
लामो समय सम्म निर्माण कार्य रोकिँदा निर्माण भइसकेका संरचना पनि भत्कन थालेको हुन्।
 
पशुपंक्षी महाशाखाका प्रमुख यादवले भने, “अब एक करोड २४ लाख रुपैयाँ आएको छ। चाँडै बधशाला निर्माण सम्पन्न हुन्छ।” यादवका अनुसार बधशाला निर्माण सम्पन्न गर्न सात करोड रुपैयाँ आवश्यक पर्छ। सरकारले वर्षेनी थोरै थोरै रकम पठाएर बधशाला निर्माण प्रक्रियालाई लम्ब्याइरहेको उनको आरोप छ।
 
विराटनगर महानगरपालिकामा दर्ता तथा अनुमति लिएका करिब २०० वटामात्र मासु पसल सञ्चालित छन्। तर नगरका विभिन्न स्थानमा गरी त्यसको तीन गुणाबढी मासु पसल सञ्चालनमा रहेको अनुमान छ। निर्माणाधीन बधशालासँगै उपभोक्ताको स्वास्थ्य सरोकार पनि अलपत्र परेको उपभोक्ता मञ्चका अध्यक्ष मोहन भट्टराईले बताए।
 
बधशाला नहुँदा स्वच्छ मासु कसैले खान पाएका छैनन्। व्यवस्थित बधशालाबिना सहरी क्षेत्रमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ समेत कार्यान्वयन हुन नसक्ने जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. सुशील अधिकारीले बताए।
 
अधिकारीका अनुसार बधशाला नबनेपछि हाल बिक्री हुने मासुको स्वस्थताप्रति प्रभावकारी निगरानी र जाँच हुन पनि सकेको छैन।