आगामी निर्वाचनका लागि म्यादी प्रहरी माग, ९८२६८ जना राख्ने, तलव करिव ४० हजार रुपैयाँ

बिजमाण्डू
२०७४ असोज २४ गते ०९:३३ | Oct 10, 2017
आगामी निर्वाचनका लागि म्यादी प्रहरी माग, ९८२६८ जना राख्ने, तलव करिव ४० हजार रुपैयाँ
काठमाडौं। नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वचन सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले ५५ दिनको लागि ९८ हजार २६८ जना म्यादी प्रहरीको भर्ना खुलाएको हो। 
 
म्यादी प्रहरीको दरखास्त आवेदनको लागि प्रहरीले प्रधान कार्यालयले असोज २४ गतेदेखि ३० गतेसम्म तोकेको छ। दरखास्त बुझाउन उपत्यकाको हकमा प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर तथा सबै जिल्ला प्रहरी कार्यालयहरु तोकिएको छ।
 
आवेदनको लागि १८ बर्ष पुरा भएका तथा ५४ बर्ष ननाघेका नेपाली नागरिक हुनु पर्ने नेपाल प्रहरीले जनाएको छ। कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरीएका, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारिरिक तथा मानसिक रुपले तन्दुरुस्त र साधारण लेखपढ गर्न जान्ने नेपाली नागरिकले आवेदन दिन पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।  
 
म्यादी प्रहरीले ५५ दिनको लागि प्रति महिना १७ हजार २३० रुपैयाँका दरले तलव पाउने छन्। यसवाहेक ४ हजार रुपैयाँ पोशाक सुविधा र एक हजार रुपैयाँ तयारी खर्च पाउने छन्। 
 
निर्बाचनको क्रममा ७ दिन खटिने प्रहरीले प्रति दिन २५० रुपैयाँ विशेष भत्ता र २५० रुपैयाँको खाजा खर्च पाउने छन्। यो सबै गरेर एक जवानले ४० हजार रुपैयाँ पाउने छन्। निर्वाचनको क्रममा घाइते भएका प्रहरीले अधिकतम एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च पाउने भएका छन्।
 
आवेदन दिएका म्यादी प्रहरीको सम्पर्क मिति कार्तिक १ गते आवेदन दर्ता गरेको स्थानमा तोकिएको छ। प्रहरीले म्यादी प्रहरीको छनोट कार्तिक ५ गतेदेखि ८ गतेसम्म सकिसक्ने तथा अन्तिम नतिजा प्रकाशन कार्तिक १० गते गर्ने छ।

Tata
GBIME
Nepal Life