अनलाइन ब्यापार गर्न चाहनेका लागि पसल्सको प्लेटफर्म, सित्तैमा आफ्नो अनलाइन पसल चलाउन पाइने

बिजमाण्डू
२०७४ भदौ २१ गते १२:४५ | Sep 6, 2017
अनलाइन ब्यापार गर्न चाहनेका लागि पसल्सको प्लेटफर्म, सित्तैमा आफ्नो अनलाइन पसल चलाउन पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। चलि रहेको व्यापारलाई अनलाइन प्लेटफर्ममा ढाल्ने या नयाँ इ-कमर्स व्यापार थाल्ने सुरमा हुनुहुन्छ? छुट्टै वेवसाइट डिजाइन र होष्टिङको तनावमा नछिरि आफ्नो व्यवसाय गर्ने मौका पाउनु हुने भएको छ। 

 
पाँच युवाको टिमले सुरु गरेको पसल्स डट कम नामको 'सफ्टवेयर एज अ सर्भिस' प्लेटफर्ममा छिरेर आफ्ना उत्पादन एवं पसलका सामान अनलाइन बिक्री गर्न सकिने भएको हो। त्यसका लागि पैसा तिर्नै पर्छ भन्ने पनि छैन। सित्तैमा समेत अनलाइनमा पसल राख्न सकिन्छ। कम्पनीका सिइओ राजेश शर्मा इकमर्स प्रति नेपालीमा देखिएको रुचीलाई 'बुष्ट' गर्ने सोचका साथ यो सेवा सञ्चालनमा ल्याएको बताउँछन्। 
 
अहिलेसम्म पसल्स मार्फत तीन 'क्याटोगोरी'मा आफ्नो व्यापार अघि बढाउन सकिन्छ। सबैभन्दा पहिलो त निशुल्क नै हो। जसमा कुनै पनि पसल या व्यवसायले अगाडी आफुले चाहेको नाम डट पसल्स डट कमबाट आफ्ना उत्पादन एवं सामान बिक्री गर्न सक्छन्। 
 
दोस्रो सेवा लिँदा भने मासिक १५ सय रुपैयाँ शुल्क तिर्नु पर्ने हुन्छ। यसमा छुट्टै डोमेननै प्राप्त हुन्छ। सिङ्गल युजरबाट चलाइने यो प्लेटफर्ममा आफुले चाहेको नामबाट नै सिधै व्यापार गर्न मिल्छ। पसल्ड डट कम जोडि रहन पर्दैन। 

तेस्रोमा भने प्रिमियम स्केलको 'सफ्टवेयर एज अ सर्भिस' उपलब्ध गराउने शर्मा बताउँछन्। यो पनि छुट्टै डोमेन जसरी पसल्सको नाम नजोडि सञ्चालन गर्न सकिन्छ। यसको मासिक शुल्क २९ सय ९९ रुपैयाँ तिर्नु पर्ने हुन्छ। 'यो चाहिँ कुनै एक जनाको ह्यान्डलमा हुने भन्दा पनि इन्टरप्राइजहरुलाई नै हो, उनले भने- यसमा मल्टी युजर्स फेसिलिटी हुन्छ त्यसैले बिभिन्न सेक्सनका स्टाफहरुले लग इन गरि आ-आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सक्छन्।'
 
शुल्क तिर्ने ग्राहकलाई तुलनात्मक रुपमा रुपमा मेन्टिनेन्स लगायतका अतिरिक्त सुविधा धेरै दिने रणनीति कम्पनीको छ। साथै निशुल्क सेवाले पसल्सको ब्रान्डिङमा सघाउ पुर्याउने विश्वासका साथ निरन्तरता दिने शर्मा बताउँछन्। 
 
दुई बर्ष अघि गृहकार्य सुरु गरिएको पसल्स तीन महिना अघि मात्र 'लन्च' भएको हो। कुपन्डोल स्थित पसल्स कार्यालयमा पाँच तन्नेरीको टिम इकमर्स व्यवसाय गर्ने बहु संख्यक ग्राहकलाई एउटै थलोबाट सेवा दिने हेतुले निरन्तर खटि रहेका हुन्छन्। तीन महिनाको अवधिमा ५०० हाराहारी इकमर्स पसलहरु पसल्स डट कममा दर्ता भइ सकेका छन्। 
 
'यी सबै अनलाइन आउटलेट दीर्घकालसम्म सञ्चालन हुन्छन् भन्ने ग्यारेन्टी त छैन, शर्मा भन्छन्- तर, इकमर्स प्रति नेपालीको हुटहुटीलाई भने यो तथ्याङ्कले पुष्टि गर्छ।' थाइल्याण्ड वा बंगलादेशबाट लत्ता कपडा लगायतका सामान आयात गर्ने र अनलाइनबाट बिक्री गर्ने प्रचलन बढ्न थालेको शर्माको अनुभव छ।
 
यसरी सानो स्केलमा व्यवसाय थाल्ने व्यवसायीलाई छुट्टै सफ्टवेयर डिजाइन, डोमेन होष्टिङ लगायतका काम झन्झटिलो मात्र होइन लगानीका दृष्टिले पनि खर्चिलो हुन्छ। यस्तोमा पसल्सको प्लेटफर्म उनीहरुका लागि महत्वपुर्ण छनौट हुने सक्ने उनको भनाइ छ। 'मासिक १५ सय रुपैयाँले त चिया चुरोट खाने खर्च पनि पुग्दैन त्यसैले उत्क शुल्क यो व्यवसायमा भन्नेका लागि अति न्यून हो भन्ने प्रतिकृया आएको छ' शर्माले सुनाए।


 
पसल्समा आफ्नो अनलाइन व्यवसाय गर्ने व्यक्तिले छुट्टै सफ्टवेयरको व्यवस्था गरि चाहेको बेला छोड्न पनि सक्छ। त्यस्ता ग्राहकलाई उनीहरुको डाटा सिष्टमबाट एक्सपोर्ट गरेर उपलब्ध गराउने शर्माले जानकारी दिए। तर, पसल्सको प्लेटफर्म छोडि सकेपछि त्यही सफ्टवेयर चलाउने भन्ने संभावना भने रहँदैन। 
 
'हामीले यो दुनियाँमै नयाँ काम गरेका होइनौँ, उनले भने- नेपालको सन्दर्भमा चाहिँ नयाँ हो। यसले व्यवसाय गर्न खोज्ने युवा पुस्तालाई धेरै लाभ पुग्छ भन्ने विश्वास लिएका छौँ।' 
 
नेपालमा अहिले उपलब्ध अरु अनलाइन प्लेटफर्ममा पसलेले आफ्नो नाम राख्न पाउँदैन। कुनै अनलाइन प्लेटफर्मले त्यहाँ पसल सञ्चालनको अवसर दिए पनि उक्त प्लेटफर्मकै नामबाट वेब लगइन गरे पछि मात्र सम्बन्धित सामान खोज्न सकिन्छ। तर, पसल्सले हरेक व्यवसायीको निजी पहिचानलाई पनि बचाइ दिन्छ। 
 
साथै एउटा सामान खोज्दै छिरेपछि त्यससँग सम्बन्धित अन्य पसल पनि वेब साइट आफैँले सिफारिस गर्छ। त्यसैले पसल्स कुनै पनि इकमर्स व्यवसायीका लागि भरपर्दो छनौट हुने शर्माको विश्वास छ।