खानेतेल उद्योगमा थपियो नयाँ समूह, बोहोरा समूहले २५ करोड लगानीमा नयाँ तेल उद्योग ल्याउँदै

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ साउन ७ गते १०:०६ | Jul 22, 2017
खानेतेल उद्योगमा थपियो नयाँ समूह, बोहोरा समूहले २५ करोड लगानीमा नयाँ तेल उद्योग ल्याउँदै
विराटनगर।एभरेस्ट सोलभेन्टले खाने तेलको कच्चा पदार्थमात्र उत्पादन गरिरहेको बोहरा ग्रुपले अब पूर्ण प्रशोधित तेल नै बजारमा ल्याउने भएको छ ।२५ करोड लगानीमा खानेतेल उत्पादन थाल्न प्लान्ट स्थापना गर्न थालेको छ।
३१ वर्षअघि सञ्चालनमा आएको एभरेस्ट सोलभेन्टले भटमास र राइस ब्रान (धानको भुस)को तेलको कच्चा पदार्थ उत्पादन गरिरहेको छ । उद्योगले उत्पादन गरेको राइस ब्रान तेलको कच्चा पदार्थ (सोलभेन्ट) शत प्रतिशत भारत निर्यात भइरहेको छ ।‘अहिलेसम्म हामी कच्चा तेलमात्र उत्पादन गरिरहेका थियौँ’, ग्रुपका सञ्चालक अविनाश बोहराले भने, ‘अब प्रशोधित खाने तेल नै बजारमा ल्याउने तयारीमा छौं।’
 
सञ्चालक बोहराले भटमास, सूर्यमुखी, राइस ब्रान र तोरीको तेल उत्पादन असोजसम्ममा ल्याउने जानकारी दिए।तेलको ब्राण्ड कुनमा ल्याउने भन्ने निर्णय भने भइनसकेको उनले बताए। ‘अत्यन्त आधुनिक मेसिनबाट तेल उत्पादन गर्ने तयारी भइरहेको छ’, उनले भने, ‘हामीले स्थापना गरिरहेको मेसिन अहिलेसम्मकै आधुनिक र उच्च प्रविधिमा आधारित छ । यो भारतीय मेसिन हो र कम्प्युटर मोनिटरिङबाट मात्र सञ्चालन गरिन्छ ।’सीमा क्षेत्रमा भारतबाट अनधिकृत पैठारी भएर आएको सस्तो र गुणस्तरहीन खाने तेलले स्वदेशी तेल उद्योगलाई सङ्कटमा पारिरहेका बेला बोहरा ग्रुपले तेल उद्योग ल्याउन लागेको हो।
 
भारतको सिमाना जोडिएको जोगबनीबजारबाट २५ किलोमिटर उत्तरमा पर्ने सुनसरीको खनारमा एभरेस्ट सोलभेन्ट सञ्चालित छ । उद्योगबाट दैनिक १ सय टन तेल उत्पादन गर्ने क्षमता हुनेछ । राइस ब्रान (धानको भुस)–को पूर्ण प्रशोधित खाने तेलको उत्पादन नेपालमै पहिलो पटक उत्पादन हुनेछ।
बोहराले आफ्नै उद्योगमा उत्पादित कच्चा पदार्थ भएका कारणले खाने तेलको उत्पादन लागत केही सस्तो पर्ने बताए।

Tata
GBIME
Nepal Life

कच्चा पदार्थमध्ये भटमास, सूर्यमुखी र तोरीका दाना भारत तथा समुद्रपारका मुलुकबाट पैठारी गरिन्छ भने नेपालकै चामल उद्योगबाट प्राप्त हुने धानको भुस उच्च गुणस्तरको मानिन्छ । भटमास, सूर्यमुखी र तोरीका दाना आफैँले पैठारी गर्ने हुँदा ती कच्चा पदार्थको गुणस्तरमा पनि सम्झौता नगरिने उनले बताए।


के हो लेसिथिन ?
तेल उद्योगसँगसँगै विभित्र प्रकारका बिस्कुट र कन्फेक्सनरीमा प्रयोग गरिने फुड ग्रेड लेसिथिनको पनि उत्पादन गरिने भएको छ । उद्योगको प्रति दिन पाँच टन लेसिथिन उत्पादन गर्ने क्षमता छ । 
 
क्रिम बिस्कुटको बिच भागमा प्रयोग गरिने क्रिम नै लेसिथिन हो । भटमासको तेल निकाल्दा यसबाट एक प्रकारको लिस्याइलो पदार्थ पनि सँगसँगै उत्पादन हुन्छ । यही वस्तुलाई लेसिथिन भनिन्छ र यो पूर्णतः खानयोग्य हुन्छ । लेसिथिनलाई भारतमा निर्यात गर्न पनि सकिन्छ ।लेसिथिनको मेसिन आइसकेको र जडान गर्ने कार्य भइरहेको बोहराले जानकारी दिए ।