तरकारीमध्ये सबैभन्दा धेरै बिष टमाटरमा, जानिराखौं कतिसम्म विषादी हालिएको तरकारी खान मिल्छ !

बिजमाण्डू
२०७४ जेठ ११ गते १२:३२ | May 25, 2017

काठमाडौं। तीन वर्ष अघिसम्म पनि हामी तरकारीमा विषादी खाइरहेका हुन्थ्यौं। विषादीको प्रयोग त्यतिबेला पनि हुने गर्थ्यो । तर कति मात्रामा विषादी हुन्थ्यो त्यो हामीलार्इ थाहा हुन्थेन।

तर देशकै सबैभन्दा पुरानो र ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा जब स्प्याक्ट्रो फोटो मिटर (बिषादी नाप्ने मेसीन) राखियो अनि मात्र थाहा भयो हामीले खाइरहेका तरकारीमा त ९० प्रतिशतसम्म पनि बिष रहेछ।

Tata
GBIME
Nepal Life

हुन त तरकारीमा बिषादीको प्रयोग सबै देशमा हुन्छ। मात्रा भने देश अनुसार फरक फरक। कुनै देशमा बढी र कुनै देशमा कम।

तर कुन र कति मात्रामा प्रयोग गर्ने र कसरी विषादीको असर कम गरेर खान योग्य बनाउने भन्ने विज्ञहरुको सुझाव अनुसार प्रयोग गरिन्छ।

तर हामीकहाँ भने नियम अनुसार भन्दा पनि मनपर्दि ढंगले विषादी प्रयोग भइरहेछ जसले हाम्रो जनजीवनमा निकै असर पारिरहेको छ।

बाली विकास निर्देशननालयका वरिष्ठ बाली संरक्षण अधिकृत मानबहादुर क्षेत्रीका अनुसार चालु आर्थिक वर्षमा टमाटरमा खान अयोग्य हुने गरी बिषादी प्रयोग भएको छ । परिक्षणले के देखाएको छ भने यो वर्ष विगतको भन्दा धेरै खान अयोग्य तरकारीको मात्रा बढेको छ।

परिक्षण गरिएका नमुनाको विवरण

आर्थिक वर्ष खान योग्य पर्खनुपर्ने नष्ट गर्नुपर्ने जम्मा नमुना
२०७०/७७१ १०८ २५ १४०
२०७१/७२ १५६६ २१ ३२ १६१९
२०७२/७३ १९१७ १० १९३५
२०७३/७४ १५२३ २१ १५४८

 
आर्थिक वर्ष २०७०/७१ देखि कालीमाटीमा बिषादी जाँच्ने मेसीन राखिएको थियो। उक्त वर्ष १४० वटा नमुना परिक्षण गर्दा २५ वटा नमुना खान अयोग्य भएका थिए। सात वटा नमुना केहि दिन पर्खेर खान सकिने भेटिएका थिए।

२०७१/७२ मा भने १६१९ नमुना परिक्षण गर्दा ३२ वटा नमुना खान अयोग्य भेटिएका थिए भने २१ वटा पर्खनुपर्ने भेटिएका थिए। २०७०/७१ को तुलनामा १२ गुणा बढी नमुना परिक्षणमा खान अयोग्य परिक्षणको संख्या भने ३२ मात्र थियो।

पर्खनुपर्ने परिक्षणको संख्या भने तीन गुणा बढी अर्थात् २१ वटा थियो।
आर्थिक वर्ष २०७२/७३ मा कुल १९३५ नमुना परिक्षण गर्दा १० वटा मात्रै खान अयोग्य र आठ वटा पर्खनु पर्ने नमुना भेटिएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा परिक्षण गरिएको संख्या बढ्दा पनि खान अयोग्य परिक्षणको संख्या भने तीन गुणाले घटेको थियो।

चालु आर्थिक वर्षको बैशाखसम्मको तथ्याङ्कले भने यो वर्ष खान अयोग्य तरकारीको मात्रा बढेको प्रष्ट्याउँछ।
चालु आर्थिक वर्षमा १५४८ वटा नमुना परिक्षण गर्दा २१ वटा खान अयोग्य र चारवटा पर्खनुपर्ने नमुना भेटिसकेको निर्देशनालयका अधिकृत क्षेत्रीले जानकारी दिए।

हालसम्म परिक्षण गरिएको ५२४२ नमुनामध्ये ५११४ वटा नमुना खान योग्य भेटिएका छन्। बाँकी नमुनामध्ये ८८ वटा नमुना खान अयोग्य र ४० वटा नमुना उपभोगका लागि पर्खनु पर्ने भेटिएका थिए।

कति प्रतिशतसम्म बिषादी खान योग्य
सामान्यतया ३५ प्रतिशत भन्दा कम बिषादीको मात्रा भएका तरकारीहरु खान योग्य हुन्छन्। ३५ देखि ४५ प्रतिशत सम्म बिषादी भएका तरकारी केहि दिन पर्खेर खान सकिने खालका हुन्छन्। ४५ प्रतिशत भन्दा बढी बिषादी भएका तरकारी भने खान अयोग्य हुन्छन्। त्यस्ता तरकारीहरुलाई नष्ट नै गर्ने गरेको निर्देशनालयले बताएको छ।

नेपालमा ल्याईएको बिषादी मापन गर्ने मेसिनले ताईवान एग्रिकल्चर रिसर्च ईन्स्टिच्युट (तारी) प्रविधिमा जाँच गर्छ। विश्वमा सर्वमान्य प्रविधि भने जिसी प्रविधिलाई मानिन्छ। झण्झटिलो र लामो समय लाग्ने यो प्रविधिले कुन बिषादी कति पिपिमा छ भन्ने पनि देखाउँछ। नेपालमा जाँच गर्ने मेसिनले भने कति प्रतिशत बिषादीको मात्रा छ भन्ने मात्र देखाउँछ र एक घण्टामा रिजल्ट आँउछ।

आज बिषादी हालेर भोलि नै तरकारी बेच्छन्
विश्वमा सबै मुलुकमा तरकारीमा बिषादी प्रयोग हुन्छ। अन्य देशको तुलनामा नेपालमा थोरै मात्र बिषादीको प्रयोग गर्ने भएपनि आज बिषादी हालेर भोलि बजार पठाउने गर्नाले बिषादीको मात्रा धेरै देखिएको हो। किसानहरुले बिषादी प्रयोग गरेको कति समयपछि बजारमा पठाउनुपर्छ भन्ने ज्ञान नभएकोले बिषादीको मात्रा धेरै देखिने क्षेत्रीले बताए।

जापान, कोरिया लगायतका देशमा बिषादीको मात्रा अत्याधिक हुन्छ। तर उनीहरु बिषादीको प्रयोग गरेपछि निश्चित समयपछि मात्र बजारमा पठाउँछन्। त्यसले गर्दा बिषादीको मात्रा थोरै देखिन्छ।
के के मा जाँचिन्छ बिषादी
नेपालमा प्याज, अदुवा र लसुन बाहेक सबै तरकारीको बिषादी जाँच गरिन्छ।

सबैभन्दा बढी टमाटरमा बिषादीको मात्रा भेटिने गरेको क्षेत्रीले बताए।

उनले खान योग्य तरकारीमा शून्य प्रतिशतदेखि १०/१५ प्रतिशतसम्म बिषादीको मात्रा बढी भेटिने र खान अयोग्य तरकारीमा भने ९० प्रतिशतसम्म बिषादी भेटिने गरेको बताए।

कहाँकहाँ जाँचिन्छ बिषादी
सबैभन्दा बढी कालीमाटी तरकारी बजारका होलसेल पसलबाट नमुना लिएर बिषादी जाँच हुन्छ।

कहिलेकाहीँ बाहिरबाट तरकारी आउने नाका थानकोट र जगाती लगायतका ठाउँबाट खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग समेतको सहयोगमा नमुना संकलन गरिन्छ।
कहिलेकाँही तरकारी उत्पादन हुने ठाउँहरुबाट पनि नमुना ल्याएर जाँच गर्ने गरेको क्षेत्रीले बताए।