आफुले भन्सार सुविधा दिएका वस्तु निर्यात बढाउन नेपाललाई अमेरिकी आग्रह, गत बर्ष ९ अर्बको निर्यात

बिजमाण्डू
२०७४ बैशाख ८ गते १२:२७ | Apr 21, 2017
काठमाडौं । अमेरिकाले शुन्य भन्सारमा बजार पहुँच दिने घोषणा गरेका बस्तुको ब्यापार बढाएर लाभ लिन सरकार र नेपाली व्यवसायीलाई आग्रह गरेको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा अमेरिकी अधिकारीले ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’ अन्तर्गतका ६६ नेपाली उत्पादनको निर्यात प्रवर्धन गर्न नेपाल सरकार एवं व्यवसायीलाई आग्रह गरेका हुन्।

Tata
GBIME
Nepal Life


 

अमेरिकी राष्ट्रपतिको कार्यकारी सचिवालय अन्तर्गत ट्रेड रिप्रेजेन्टेटिभ अफिसका एसिस्टेन्ट ट्रेड रिप्रेजेन्टेटिभ मार्क लिन्सकटले ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’बाट नेपालले मनग्ने लाभ लिने आफुहरुको अपेक्षा रहेको बताए। ‘ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क (टिफा)’ काउन्सिलको बैठकमा भाग लिन आएका लिन्सकटले अमेरिका नेपाली उत्पादनको दोस्रो प्रमुख निर्यात साझेदार रहेको र ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’का कारण यो अझ ब्यापक बन्ने आशा लिएको उनको भनाइ थियो। 
 
बिहीबार आफु र वाणिज्य सचिव ङइन्द्र उपाध्याय नेतृत्वमा अमेरिका र नेपाली टोलीबीच भएको टिफा बैठकमा समेत दुई पक्षिय व्यापार अभिबृद्धिबारे बिस्तृत छलफल भएको उनले जानकारी दिए। 
 
अमेरिकी संसदले सन् २०१६ मा पारित गरेको ‘द ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्ट’ अन्तर्गत अमेरिकाले नेपाललाई ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’ उपलब्ध गराएको हो। जसमा गलैंचा, शल, स्कार्फ, लगेज ब्याग, हाते झोला, कम्बल, टोपी, पञ्जा लगायत नेपाली उत्पादनले सन् २०२५ को डिसेम्बरसम्म बिना भन्सार अमेरिकी बजारमा प्रवेश पाउनेछन्। 


 

सुविधा प्राप्तिका लागि सूचीमा रहेको उत्पादन तेस्रो मुलुकको बजार प्रकृयामा प्रवेश नगरि नेपालबाट सोझै अमेरिका निर्यात भएको हुनुपर्ने जनाइएको छ। उक्त वस्तु नेपालमा उत्पादन हुन अनिवार्य छ साथै कम्तिमा ३५ प्रतिशत मूल्य अभिबृद्धि पनि हुनै पर्ने व्यवस्था गरिएको छ। 
 
कार्यक्रममा वाणिज्य मन्त्री रोमी गौचन थकालीले अमेरिकाले उपलब्ध गराएको ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’बाट फाइदा लिन नेपाली उत्पादक एवं व्यवसायीलाई सरकारले प्रोत्साहित गर्ने बताए। नेपालका लागि अमेरिकी राजदुत एलाइना टेप्लिजले मौलिक नेपाली उत्पादनको बजार प्रवर्धनका लागि ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’ राम्रो प्लेटफर्म हुने धारणा व्यक्त गरिन्।
 
नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकामा नेपाली उत्पादनको बजार प्रबर्धनका लागि क्रेताको पहिचाननै सबैभन्दा ठूलो चुनौती भएको बताइन्। त्यसका लागि ‘विजनेश टु विजनेश’ कन्ट्यान्टको वातावरण बनाइदिन उनले नेपाल स्थित अमेरिकी राजदुताबासलाई अनुरोध समेत गरिन्।


 

अमेरिकाले ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’ अन्तर्गत भन्सार सुविधा दिएका बस्तु निर्यातको प्रकृया बारे नेपाली व्यवसायीलाई बुझाउन महासंघले इन्फोग्राफिक्स नै बनाएको उनले जानकारी दिइन्।
 
कार्यक्रममा अमेरिकामा नेपाली उत्पादन निर्यात गरि रहेका व्यवसायीहरु मृदुला राजभण्डारी, पेमा कार्पोचे,  रविचन्द्र मल्ल र अर्सलान अख्तरले आ-आफ्नो व्यापारिक अनुभव पनि सुनाएका थिए। 
 
नेपालबाट हुने कुल निर्यात मध्ये १२.३ प्रतिशत अमेरिका जाने गरेको छ। सन् २०१६ मा नेपालबाट आठ करोड ९० लाख (झन्डै ९ अर्ब रुपैयाँ) अमेरिकी डलरका सामान निर्यात भएका थिए। गलैंचा, कुकुरको खाना, पश्मिना सल लगायत उत्पादन नेपालबाट अमेरिका जाने बस्तुको अग्रसूचीमा छन्।