पूर्वआइजिपी बरालका नाति म्यादीमा भए पास, ७५ हजार म्यादीमा छानिए

सविन ढकाल/बिजमाण्डू
२०७३ चैत्र २५ गते १२:०२ | Apr 7, 2017
पूर्वआइजिपी बरालका नाति म्यादीमा भए पास, ७५ हजार म्यादीमा छानिए
काठमाडौँ। आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट कार्य सकिएको छ। आवेदन दिएका एक लाख ७२ हजारमध्ये ७५ हजार चुनावी सुरक्षाका लागि म्यादीमा छनोट भएका हुन्। 
 

प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले एक/दुई जिल्लाबाहेक सवैमा छनोट भएकाहरुको नामावली प्रकाशन भइसकेको बताए। नेपाल प्रहरीले चैत १० गते सूचना जारी गरी म्यादी प्रहरीको लागि आवेदन माग गरेको थियो। 
 
चैत ११ देखि १७ गतेसम्म देशभरबाट म्यादी प्रहरीमा भर्ना हुन इच्छुक एक लाख ७२ हजार जनाले आवेदन दिएका थिए। चैत १९ गतेदेखि २२ गतेसम्म भएको छनोट प्रक्रिया सुरु भएको थियो। 
 
म्यादी प्रहरीको लागि प्रदेश नम्बर १ मा १२ हजार पाँच सय ५१ जना मागे भएकोमा ३७ हजार ६ सय ५६ जनाको आवेदन परेको थियो।
 
निर्वाचको सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएको प्रदेश २ मा म्यादी प्रहरीमा भर्ना आर्कषण बढेको थियो। प्रदेश २ मा ३५ हजार ७१ जनाले आवेदन दिएका थिए। प्रहरीले उक्त प्रदेशमा १६ हजार नौ सय नौ जनामात्र भर्ना लिनेगरी सूचना प्रकाशित गरेको थियो।  
 
प्रदेश नम्बर ३ मा १२ हजार आठ सय दुई जना माग गरेकामा २४ हजार एक सय दुईजना, प्रदेश नम्बर ४ मा ६ हजार ६ सय ५७ जना माग गरेकोमा १२ हजार आठ जना, प्रदेश नम्बर ५ मा १४ हजार एक सय ५१ जना माग भएकोमा ३५ हजार सात सय २८ जनाको आवदेन परेको थियो। प्रदेश नम्बर ६ मा पाँच हजार १८ जना माग गरेकोमा १५ हजार एक सय १८ जना र प्रदेश नम्बर ७ मा १९ हजार दुई सय ५८ जनाले आवेदन दिएका थिए।
 
स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि ५५ दिनको रहनेछ । म्यादी प्रहरीले नेपाल प्रहरीका जवानले खाइपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउनेछन्। नेपाल प्रहरीका जवानले हाल ग्रेडसहित मासिक २१ हजार ८ सय २२ रुपैयाँ तलब पाउने गर्छन्। तर म्यादी प्रहरीले भने ग्रेड पाउँदैनन्। उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ मात्रै पाउनेछन्। तराईका जिल्लामा दैकिन एक सय ९७ रुपैयाँ रासन बापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँ अनुसार फरक–फरक रकम पाउने छन्। 
 
पूर्वआइजिपी खड्गजित बरालका नाति पास
अवकाशप्राप्त आइजिपी खड्गजित बरालका १७ वर्षीय नाति पुजन बराल पनि म्यादी प्रहरीमा छनोट भएका छन्। पुजन सबै परीक्षा पार गरी छनोट भएको महानगरीय प्रहरी परिसरका एसपी प्रधुम्म कार्कीले बताए।
 
चिकित्सक आमा–बाबुका छोरा पुजनले महानगरीय प्रहरी परिसर काठमाडौंबाट म्यादीमा आवेदन दिएका थिए। रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्रा.डा. ज्योति बराल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रसुति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छिन्।
 
 

Tata
GBIME
Nepal Life