राप्रपामा कमल थापालाई टक्कर दिने यी को हुन् ? कमल थापा नक्कली राजावादी भएको आरोप

बिजमाण्डू
२०७३ फागुन ८ गते १७:५९ | Feb 19, 2017

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा प्रदीपविक्रम राणाले आफूलाई राजाको पक्षधर भन्दै अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन्।

Tata
GBIME
Nepal Life

वर्तमान अध्यक्ष कमल थापाले राजसंस्थालाई राजनीतिक एजेण्डा मात्र बनाएको तथा हिन्दू राज्यलाई पनि मागी खाने भाँडोको रुपमा प्रयोग मात्र गरेको भन्दै उनले उमेदवारी दर्ता गरेका हुन्।

'अध्यक्ष कमल थापाले पार्टीलाई विर्ताको रुपमा प्रयोग गर्न खोजे, राजसंस्था र हिन्दू राज्यलाई पनि जनता झुक्याउने र पार्टीलाई भजाँउने माध्यम बनाउन खोजे,' प्रदीपविक्रमले उम्मेदवारी दर्तापछि भने, 'त्यसैले हिन्दू राज्य र राजाका तर्फबाट मैले उम्मेदवारी दिएको हुँ।' उनले कमलथापा नक्कली राजावादी र हिन्दूवादी भएको आरोप लगाए।

'मलाई उम्मेदवारी दर्ता गर्न जाँदासमेत फर्म छैन भनेर उम्मेद्वारी दर्ता गर्ने रोक लगाउने प्रयास भयो,' राणाले भने, '३४ सय प्रतिनिधिलाई उमेद्वारी हाल्ने अधिकारमा कमल थापाले तानाशाही लाद्न पाउँदैनन्।' उनले उम्मेद्वारी दर्ता गर्न बसेकाहरुलाई समेत तानाशाहीविरुद्ध नारा लगाएर हुँटिङ गराएका थिए।
 
सानो झुण्डमा राष्ट्रियसभाको उम्मेद्वारी दर्ता कक्षमा पुगेका राणाले निर्वाचन समितिले भित्रबाट आउन गरेको आग्रहसमेत अस्वीकार गर्दै बाहिरबाटै उम्मेद्वारी दर्ता गर्न सफल भए।
 
गत चार गते साँझ नै अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका प्रकाशचन्द्र लोहनी र अध्यक्ष कमल थापाबीच सहमति गरी वरिष्ठ नेताहरु लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अध्यक्ष कमल थापाले संयुक्त विज्ञप्ति जारी गरेर कमल थापा सर्वसम्मत अध्यक्ष हुने सहमति सार्वजनिक गरेका थिए।
 
तर त्यसको एक दिनपछि पार्टीको चुनाव चिन्ह हलो हुने पार्टी एकता हुँदाको सहमति पालना नभएको भन्दै लोहनीले पुन  उम्मेद्वारी दिने घोषणा गरेका थिए। तर, बन्दसत्रमा मत विभाजनपछि विधानमा दुवै चिन्ह नराख्ने तर कार्यकर्तातहमा स्थानीय कार्यसमितिहरुमा छलफल गरेर निर्णय गर्नेगरी पछि टुंग्याउने भन्दै विधानलाई अन्तिम रुप दिइएको थियो।
 
'बन्दसत्रमा चुनाव चिन्ह गाई र हलो बनाउनुपर्छ भन्ने आवाज चर्को रुपमा उठेको थियो त्यसलाई अहिले निर्णय गर्दा प्रतिनिधिहरु विभाजित नहुन् भनेर पछि हलो नै चिन्ह बनाउने गरी वरिष्ठ नेताहरुबीच सहमति भयो,' केन्द्रीय सदस्य ईश्वरबहादुर कार्कीले भने, 'त्यसैले अध्यक्षमा डाक्टर लोहनीले उम्मेद्वारीसमेत नदिनुहुने भएको छ।' उनले नेताको तहमा सहमति भए पनि प्रतिनिधिमा विवाद नहोस् भनेर पछि निर्णय लिने गरी सहमति गरेको जानकारी दिए।

को हुन् प्रदीपविक्रम राणा?

काठमाडौँको बालाजुका प्रदीपविक्रम अहिले राप्रपाको काठमाडौँ क्षेत्र नम्बर सातका अध्यक्ष हुन्। त्यही अध्यक्षको हैसियतमा महाधिवेशन प्रतिनिधि बनेका उनी पहिले कमल थापाकै प्यानलमा थिए र राप्रपा नेपालमा रहेर क्रियाशील भएका हुन्।

तर, उनले हिन्दू राज्य र राजसंस्थाका विषयमा कमल थापाले उठाएका कुरा नै आफूलाई शंकास्पद भएको बताएपछि उनलाई अध्यक्ष थापाले यसलाई 'घोक्रेठ्याक' लाएर बाहिर निकाल भन्दै आदेश दिएका थिए। त्यसपछि राणालाई स्वयंसेवकहरुले बन्दसत्रबाट बाहिर निकालिदिएका थिए।

'पार्टीभित्र बोल्नसमेत नपाउने गरी तानाशाह हाबी भयो, आफ्ना कुरा राख्नसमेत कमल थापाको अनुमति लिनुपर्ने भयो,' राणाले भने, 'त्यसैले तानाशाहविरुद्ध सबैलाई एकजुट बनाउँदै राप्रपालाई उदारवादी पार्टीका रुपमा स्थापित गर्न मैले उम्मेद्वारी दिएको हुँ।'