sagoon advert

नास्ता पसलबाट सुरु भएको सिद्धार्थ समूह, जहाँ अहिले १४ आउटलेट र हजार जना कर्मचारी छन्




काठमाडौंबाट यात्रा थालेर चुमलिङटार पुग्दा एउटा स्थापित नामले आकर्षित गर्याे। खाना खानु थियो, सडक पार गरेर त्रिशुलीको किनारतिर मोडियौं। फराकिलो गाडी पार्कसँग जोडिएको रेस्टुराँ र सँगै अग्लिदै गरेको घर। रेस्टुराँमा खानाको अर्डरअघि फेसबुक चेकइन गर्न मन लाग्यो। अर्डर लिन आउनेले माछा खाने कि मटन भनेर सोध्दै थिए। तर, उल्टै सोधेँ -वाइफाइको पासवर्ड के हो?
 
'स्टेसन १४।'

'गजब रहेछ त पासवर्ड।'

'यो हाम्रो १४ औं आउटलेट हो। त्यसैले।'



यो सिद्धार्थ रिसोर्ट हो, भर्खरै सञ्चालनमा आएको। रेस्टुराँ पूरै सञ्चालनमा आइसकेपनि रिसोर्ट भने फिनिसिङ हुँदैछ– २० रुमको लजिङ सुविधासहित।

राजमार्गको खानाले सताइएको अनुभव गरेका जो कसैकालागि पनि यो स्टेसन बलियो बिकल्प बनेको छ। र, यस्ता केही रिसोर्टहरुले नै राजमार्गको भात व्यापारको परिभाषा बदल्दैछ। सिद्धार्थ कटेजको खानाको स्वाद रुचाउनेहरुका लागि यो स्टेसन थकाइ मार्ने थलो बन्ने निश्चित छ। 

पूर्वबाट पश्चिमतिर लाग्नुलाई प्राकृतिक मानिन्छ, सूर्यको चाल पनि यही दिशामा अघि बढ्छ। तर लक्ष्मण न्यौपानेको यात्रा भने यो प्रकृतिक नियमको विपरित छ। उनको उदय पश्चिमबाट भएर गन्तव्य पूर्वतिर जाँदैछ। शून्यबाट सुरु भएको व्यवसायको यात्रा १४ बाट कति टाढासम्म पुग्छ तत्काल अनुमान गर्न सकिन्न।
 

पश्चिमबाट उदाएको सूर्य

स्कुल पूरा गर्न सकेनन् लक्ष्मणले। भारतका विभिन्न शहर र नेपाल गर्दा गर्दै उपल्लो तहको शिक्षा लिन सकेनन्। गुल्मीका लक्ष्मण भारतका विभिन्न ठाउँमा काम गर्दागर्दै २०५३ सालमा गाउँ फर्के। आर्थिक अवस्था धेरै बलियो थिएन। केही नगरी पनि रहन सक्ने अवस्था थिएन। त्यसैले तलतिर झरे।

बुटबलमा अडिन सक्ने अवस्था थिएन। केही गर्नु थियो, चिनेजानेकाले देख्नेगरी सबैखाले काम गर्न पनि सक्ने अवस्थामा थिएनन्। 

'गाउँका मानिसले भाडा माझिरहेको देखे भने त आपत,' लक्ष्मणले आफ्नो सुरुवाती दिन सुनाए, 'पहिचान नभएको ठाउँमा पुग्नु आवश्यकता थियो।'



गुल्मीको गाउँबाट कैलालीको टीकापुरतिर हानिए उनी। मिति बिर्सन सक्दैनन् – २०५४ माघ २३। टीकापुरमा नास्ता पसल सुरु गरें। पहिलो पटक मोमो खान त्यहीँ सिके उनले। चिया, चाउमिन, मोमो, समोसाबाट उनको व्यवसायको थालनी भयो। यहाँ चिन्नेहरु थिएनन् जसले उनलाई काम गर्न धक भएन। एक वर्षपछि उनले सानो गेस्ट हाउस चलाउन थाले। 

२०५६ सालमा भने उनले आफ्नो बिजनेसको नामाकरण गरे 'सिद्धार्थ'। ५० हजार रुपैयाँ लिएर पश्चिमबाट हस्पिटालिटी बिजनेसमा उदाएका लक्ष्मणसामु आफ्नो पहिचान पनि खोज्नु थियो। आञ्चलिकता र त्यसैसँग जोडिएको नाम सिद्धार्थ उनको सफलताको एउटा कडी बन्यो। 

लक्ष्मणले नास्ता पसल सुरु गर्दा एकजना सहयोगी लिएर काम थालेका थिए। र, ती अहिले हेड सेफका रुपमा सिद्धार्थमै कार्यरत छन्। 

पश्चिमबाट उदाएको व्यवसाय मध्य नेपालसम्म फैलिसकेको छ भने अब यो पूर्वतिरको यात्रा तय गर्ने तयारीमा छ। 
 

व्यवसायमा : फेमेली एन्ड फ्रेन्डस्

जेठो दाजुको सहयोगमा व्यवसाय थालेका लक्ष्मणको सिद्धार्थ यात्रामा धेरैको साथ छ। सुरुमा परिवार र साथीहरु बिजनेस पार्टनर हुँदै गर्दा 'सिद्धार्थ ग्रुप' बनेको छ। लक्ष्मणका भाइहरु बिजनेसमा उत्तिकै सक्रिय छन्। केशव, इन्द्रलाल, कृष्णलाई सिद्धार्थका कुनै न कुनै आउटलेट ह्यान्डल गरिरहेको भेटिन्छ। कर्मचारीहरु पनि साटफेर भैरहेका हुन्छन् एउटा आउटलेट र अर्को आउटलेटतिर।
 
टीकापुरबाट सुरु भएको होटलको यात्रा बुटबल, नेपालगञ्ज हुँदै चिसापानी पुग्यो। टीकापुर पार्कमा रेस्टुराँ खोल्ने चाहना पूरा नभएपछि उनले बुटबलबाट बिजनेस अघि बढाए। २०५७ सालमा नेपालगञ्जमा सुरु भएको हस्पिटालिटी बिजनेस अहिले यसरी विस्तार भएको छ कि सिद्धार्थलाई भेट्न अरु कर्पोरेट हाउसले धेरै नै लगानी गर्नुपर्छ।

कान्छा भाइ केशव अहिले नेपालगञ्जमा छन्। नेपालगञ्जमा दुई बिगाह जमिनमा फैलिएको छ होटल। ५० रुम अहिले सञ्चालनमा छ भने ७५ रुम थप्नका लागि स्ट्रक्चर तयार भैसक्यो। 'त्यो ३५ करोड रुपैयाँको प्रोजेक्ट हो,' लक्ष्मणले सुनाए।
 
सुर्खेतमा ३५, टीकापुरमा ३२, बुटवलमा दुई वटा गरी ४४, चिसापानीमा १७, सुन्धारामा २५, नेपालगञ्जमा १ सय २५ र चुमलिङटारमा २० रुमका होटल छन् सिद्धार्थको ब्रान्डभित्र। भाइसँगै ज्वाईंहरुलाई उनले व्यवसायमा समेटेका छन्। 

पछिल्लो समय भान्जाहरुसमेत उनकै पेशामा जोडिएका छन्। 'अहिले विदेशमा पढाइ सकेर दाजुका छोरा, भानिजहरु पनि सँगै हुनुहुन्छ,' लक्ष्मणले सुनाए। उनका पाँच भाइ पनि विभिन्न आउटलेटको व्यवस्थापन सम्हालेर बसेका छन्। सँगै साथीहरु र कर्मचारीहरु पनि। भन्छन्, 'एक्लै थिएँ भने भने टीकापुरबाट बाहिर आउनै सक्दैन थिएँ।'
 

किचेन हेल्परबाट क्षेत्रीय प्रमुख

लक्ष्मणसँगै सिद्धार्थसँग जोडिएकाहरुको पनि फरक फरक प्लटका कथा छन् – सफलताका। किचेन हेल्परका रुपमा सिद्धार्थ प्रवेश गरेका कृष्ण भण्डारी अहिले सञ्चालक समिति सदस्य छन् – शेयर होल्डरका रुपमा। सिद्धार्थ ग्रुपको क्षेत्रीय प्रमुखसमेत हुन् उनी।
 
'किचेन हेल्परबाट काम थालेपनि उहाँले आफ्नो अध्ययनलाई निरन्तरता दिनुभयो,' लक्ष्मणले भने, 'त्यसैको प्रतिफल हो सिद्धार्थ फैलिँदै गर्दा उहाँहरुको पनि उन्नति भएको छ।'

नास्ता पसल सुरु गर्दा उनलाई सघाउनेमात्र होइन उनीहरुका परिवारसमेत सिद्धार्थसँग जोडिएका छन्। 'परिवारका सदस्यमात्र होइन स्टाफहरुलाई पनि शेयर दिएका छौं। यसले उहाँहरुमा संस्थाप्रति प्रतिवद्ध हुनुहुन्छ,' उनले भने। 
 

नेपालगञ्ज महत्वकांक्षा

लगानीका हिसाबले सबैभन्दा ठूलो भने नेपालगञ्जकै हो जहाँ पछिल्लो समय गैर सरकारी संस्थाहरुको गतिविधि र तिब्बतको मानसरोबर यात्राले अर्थतन्त्रलाई भाइब्रेन्ट बनाइरहेको छ। नेपालगञ्जमा सिद्धार्थ हस्पिटालिटी बिजनेसमा पहिलो स्थानमा छ। त्यसैले कम्पनीले त्यही लगानी केन्द्रित गरेको छ।
 


लक्ष्मण भन्छन्, '१ नम्बरमा जान कठिन छ। त्यो भन्दा कठिन त दुई नम्बरमा झर्न हुन्छ।' दोस्रो नबन्ने महत्वकांक्षाले नेपालगञ्जमा यो समूह फोकस भएको हो। अर्को महत्वपूर्ण पक्ष के हो भने नेपालगञ्ज मध्यपश्चिमका पहाडी जिल्लाको लाइफलाइन र भारतको उत्तर प्रदेशको राजधानी लखनउबाट १ सय ८० किलोमिटरमात्रको दुरीमा छ। राजधानी काठमाडौंसँग कम्तिमा पनि ६ वटा हवाइ उडान रहने भएकाले व्यवसायिक भविष्य बलियो देख्छन् उनी। 

नेपालगञ्जमा फेमेली रेस्टुराँ नदेखेपछि उनले त्यहाँ बिजनेस थालेका थिए। अहिले एउटा होटल र एउटा कटेज छ। रेस्टुराँ कल्चर नै नभएको ठाउँमा लगानी गर्नु थोरै जोखिमको विषय थिएन। उनले जोखिम मोले र सफलता पनि हासिल गरे।

त्यसो त उनले जतिखेर बिजनेस सुरु गरे कैलालीमा तेस्रो दर्जाको पेशा मानिन्थ्यो होटल व्यवसाय। त्यसमाथि माओवादी द्वन्द्व चर्किएको अवस्था। मदिरा निषेध क्षेत्र। टिक्नु नै मुस्किल हुने अवस्थामा उनले व्यवसायलाई अघि बढाइरहे। भन्छन्,'हिजो होटल र रेस्टुराँ नै नहुँदा पनि चलेकै थियो। आज पनि चलेकै छ।'

पछिल्लो समय नेपालगञ्ज होटलहरुको शहरका रुपमा विकसित हुँदैछ। स्तरीय र महँगा कोठा यहाँका पहिचान बनिरहेको छ। 
 

काठमाडौं कब्जा

२०५९ असोजमा सुन्धारामा सिद्धार्थको लज सुरु भयो। ज्वाइँका लागि यो आउटलेट तयार गरेका थिए उनले। २०६१ सालमा काठमाडौंको तीनकुनेमा कटेज पनि सुरु भयो सिद्धार्थ ब्रान्डकै नाममा। २५ लाख रुपैयाँमा सुरु भएको कटेज चलाउन निक्कै हम्मे पर्योे उनलाई।
 


जसले उनीसँग पार्टनरसीप गरेका थिए उनी बाहिरिए। कठिन अवस्थामा पनि उनले तीनकुनेको कटेज जोगाए। 'रेस्टुरेन्टबाट ब्याक हुनु भनेको बिजनेसबाट ब्याक हुनु थियो,' उनले भने, 'त्यसैले बिजनेसबाट ब्याक हुन मन लागेन। अहिले राम्रोसँग चलिरहेको छ।'

त्यसको दुई वर्षपछि पुरानो बानेश्वरमा अर्को आउटलेट सुरु भयो। स्पेसका आधारमा अझै ठूलो ललितपुरको धोविघाटमा पनि अर्को रेस्टुराँ सुरु भयो। त्यस्तै तीनकुनेमै सिद्धार्थ स्वीटस् एन्ड बेकरी पनि सञ्चालनमा आइसकेको छ। 

सिद्धार्थमा अहिले करिब हजार जनाले रोजगारी पाएका छन्। लगानी कति पुग्यो त? उनी खुलेनन्। 

'यति नै भनेर मूल्याङ्कन भएको छैन,' १४ आउटलेट स्थापना गरिसकेका लक्ष्मणले भने। योजनाहरु भने छ उनको। विकट जुम्लामा होटलको सम्भावना देखेका छन्। मुगुको रारासँग कनेक्ट गर्न सके जुम्लाममा हस्पिटालिटी बिजनेस फस्टाउने उनले बताए। 

मध्य नेपालबाट अब पूर्वको यात्रामा लाग्ने मुडमा उनी छन्। 'इटहरी, विर्तामोड र इलामतिर जाने तयारी अघि बढेको छ,' उनले भने। हरेकजसो आउटलेटमा ६० प्रतिशतको औशतमा सिद्धार्थ समूहको शेयर र बाँकीमा नयाँ लगानीकर्ता भित्र्याउँदै उनले आफ्नो व्यवसायलाई फैलाउँदैछन्।

'देशभित्रमात्र होइन विदेशतिर पनि फैलने योजना छ,' उनले महत्वकांक्षा खुलाए, 'अहिलेसम्म जसरी विस्तार भयो त्यही अनुसार भयो भने विदेशसम्मै फैलिने छौं।'
 

कहाँ कस्तो?


सिद्धार्थको हस्पिटालिटी करिब सबैतिर उस्तै छ। हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्ममा रुम सेल गर्ने कम्पनीले सुरुमा १ सय रुपैयाँमा रुम बेच्थ्यो। 'सबैका लागि लक्षित गरेका छौं,' लक्ष्मणले भने।
 
नेपालगञ्ज सिद्धार्थको सबैभन्दा बढी कन्सर्नट्रेसन भएको क्षेत्र भएकाले पनि यहाँको सेवा राम्रो छ। बुटबलमा साँघुरो ठाउँ भए पनि हस्पिटालिटी राम्रो छ। कटेजका रुमहरु सुविधासम्पन्न भए पनि तुलनात्मक रुपमा साँघुरा छन्। सबैभन्दा राम्रो रिसोर्ट भने सुर्खेतको हो। तर, सिद्धार्थको ब्रान्डमा सबैभन्दा कमजोर सेवा भने यही पाइयो। 

होटलमा रुम होल्ड गर्ने र पहिला सबैभन्दा खराब रुम सेल गर्ने प्रवृत्ति सुर्खेतमा भेटियो। हस्पिटालिटी चित्तबुझ्दो नभएपछि खानाको स्वाद पनि फरक हुने रहेछ। यहाँका केही रुममा भ्यागुता छिरे भने अनौठो मान्न पर्दैन। स्विमङ पुलले यो होटलको आकर्षण भने ह्वत्तै बढाएको छ। 

डेकोरेसनका हिसावमा सिद्धार्थका अन्य आउटलेटभन्दा यो फरक छ। नेपालगञ्जमा बन्दै गरेको होटलले पुरानोलाई सानो बनाइदिएको छ। स्विमिङ पुलको सो पनि केही गुमेको छ। होटल पूरै बनेपछि भने यसको सौन्दर्य सुधार हुनसक्छ। पूर्वतिर बिस्तार भएको होटलको जग्गालाई मेन्टेन गर्दा होटल राम्रो हुने सम्भावना छ। 

प्रकृतिसँग साक्षतकार हुनकालागि भने कैलाली चिसापानीको कटेज राम्रो छ। माछा र खानाकालागि यो ठाउँ गज्जब छ। कटेजसँगैका जग्गाहरु यस्तै खालका सेवाप्रदायक व्यवसायसँग जोडियो भने अझ राम्रो हुने देखिन्छ। कैलालीकै अर्को आउटलेट टीकापुर पुरानो भएपनि स्तर कायम राखेको देखिन्छ। 

चुम्लिङटारमा बन्दै गरेको संरचना पूरा भएपछि यसको सौन्दर्य थप राम्रो हुने देखिन्छ। त्रिशुली नदीसँग रिसोर्ट कनेक्टेड भयो भने यसले बिजनेसलाई थप विस्तार गर्ने देखिन्छ। समग्रमा सिद्धार्थको हस्पिटालिटी बिजनेस नेपालमा उदाउँदो सम्भावनाको एउटा नमुना भने बनिसकेको छ। चितवन चुम्लिङटारको १४ औं आउटलेटपछि जुम्ला या पूर्व कता छिटो सिद्धार्थ पुग्छ त्यो भने हेर्न बाँकी छ।



Share this Story

   

नास्ता पसलबाट सुरु भएको सिद्धार्थ समूह, जहाँ अहिले १४ आउटलेट र हजार जना कर्मचारी छन् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.