किन भएन देश विकास? माधव नेपालले सुनाए तीन अनुभव, भने- 'रोक्नेलाई फाँसी दिनुपर्छ'


फेरि पनि नेपालमा जहाजको प्रसंग चलिरहेको छ। म प्रधानमन्त्री भएको बेलाको एउटा सन्दर्भ राख्न चाहन्छु। हाम्रो मुलुकको समस्या के छ भने कार्यकारीले कुनै एउटा काम गर्न चाहन्छ अनि गैरकार्यकारीले रोक लगाइदिन्छ। नेपालको यो ठूलो समस्या हो।
 
कहाँबाट अवरोध लाग्छ भने एउटा संसदबाट र अर्को अख्तियारबाट। अनि चासो नभएको कुरामा चासो राखेर अनि अर्को निर्देशन दिइन्छ। आज मलाई खुसी केमा लागेको छ भने विमान किन्न किन ढिला भयो भनेर चासो राखेर यो समितिले बैठक बोलाएको छ। म धन्यवाद भन्न चाहन्छु।
 
काम गर्नेलाई काम गर्न दिनुपर्छ भन्ने मान्यता म राख्छु। कार्यकारीलाई काम गर्न दिनुपर्छ त्यस्तै ठिक ढङ्गले काम गरेको छैन भने फाँसी दिइनुपर्छ र कानुन पनि त्यस्तै बनाउनुपर्छ।
 
हाम्रो देशको कानुन कस्तो छ भने निकै फितलो छ। कसैले बदमासी गर्छ भने कडा कारबाही गर्नुपर्छ। यदि कसैले एक लाखको बदमासी गर्छ भने त्यसलाई ५० लाखको जरिवाना गर्नुपर्ने नियम ल्याउनुपर्छ। अनि कसैले पनि ठग्ने आँट गर्दैन।
 
युरोपमा या विकसित देशहरुमा के हुन्छ भने एकचोटि भ्रष्ट्राचार गरेको फेला पर्‍यो भने उसले कि आत्महत्या गर्छ कि उसको व्यापारिक हैसियत पूरै समाप्त हुन्छ। हामीकहाँ ऊ पक्राउ पर्छ र पटके हुन्छ अनि ‍औँला ठड्याउँछ। भन्छ- मलाई बाहिर आउन त देऊ कसरी तह लगाउँछु। किन भन्दा नेपालको सजाय प्रणाली नै कमजोर छ।
 
दोषीलाई कडा सजाय दिनुपर्छ भन्नेमा कोही जाँदैन। कसरी हुन्छ कम सजाय दिएर उम्काउने र जोगाउन खोजिन्छ। सजाय दिने निकायसँग मिल्यो र  जुन कानुनबाट कम सजाय गर्न सकिन्छ त्यही नियमलाई फलो गरिन्छ। त्यसरी त कहाँ हुन्छ?
 
हामीकहाँ पुरस्कार र कारबाहीको कुनै पनि सिस्टम छैन। यो अन्यन्तै जरुरी छ। कामको निम्ति जो एकाउन्टेवल छ, राम्रो गर्दा जिम्मेवार बनाउने, प्रोत्साहित गर्ने र नराम्रो गर्नेलाई दण्डित गरिनुपर्छ। जसका कारण ऊ कतैबाट पनि उम्किन नपाओस्।
 
मैले यो सन्दर्भमा भन्नुपर्छ- अस्ति म अमेरिका जाँदा पासपोर्टको सन्दर्भ आयो। पासपोर्ट नक्कली भनेर आयो। अनि हरायो भनेर यहाँवाट इन्टरपोलमा खबर गरिएको रहेछ। हेर्दै जाँदा त त्यस्तो देखिएन। यसको पनि छानबिन हुनुपर्छ। अखिर कोको हुन् त्यसको दोषी। पासपोर्ट हराएको पनि छैन, म्याद गुज्रिसकेको छ। नेपालको परराष्ट्र मन्त्रालयमार्फत इन्टरपोलमा हरायो भनेर रिपोर्ट जान्छ।
 
अनि कागले कान लग्यो भनेर कान छाम्न छोडेर कागको पछिपछि दौडिए जस्तै अब हराएको पासपोर्ट खोज्न लागिन्छ। पासपोर्ट हराएकै छैन, आखिर किन यस्तो भएको होला? भन्नुको मतलब यस्ता खालका विसंगतिहरु हाम्रो जीवनका विभिन्न क्षेत्रमा छन्।
 
म प्रधानमन्त्री हुँदा सङ्कल्प गरेको थिएँ, नेपाल वायु सेवा निगमका लागि जसरी पनि जहाज खरिद गर्ने। त्यतिखेर शरतसिंह भण्डारी मन्त्री हुन्हुन्थ्यो। मैले धेरैपटक उहाँलाई भनेँ- आँट गर्नुस् म सहयोग गर्छु। उहाँले भन्नुभयो- 'म यहाँ फस्नुछैन, जहाजको चक्करमा भोलि मलाई फसाइदिए भने के गर्नु?'
 
त्यसपछि म आफैँ तम्सिएँ र फाइल अगाडि बढाएँ। त्यसपछि अख्तियारले रोक्यो। फेरि अख्तियारलाई बोलाएँ र छलफल गरेँ। भोलिपल्ट पेपरमा के आयो भने 'प्रधानमन्त्री माधवकुमार नेपालले अख्तियारको जिम्मेवार मान्छेलाई बोलाएर झाँको झारे।'
 
मैले त्यही समय भनेको थिएँ, काम सकिएपछि मात्रै काम नराम्रो भयो भने तपाईँले फाइल तानेर छानबिन गर्ने हो। डिल गर्दागर्दै रोक्ने काम तपाईंको हैन।
 
तपाईंहरुलाई मैले पहिले पनि भनेको थिएँ, चीनमा र भारतमा छुट्टाछुट्टै अन्तर्राष्ट्रिय गेम भएको थियो। त्यहाँ खेलकुद मैदान निर्माणका लागि प्रतिस्पर्धामार्फत टेण्डर भयो र ती देशका ठूला कम्पनीले जिम्मा लिए। निर्माणको क्रममा ठूलो भ्रष्टाचार भयो भनेर मिडियामा समाचार आयो। भारतको दिल्ली एशियन गेम्स भएको थियो भने चीनको बेइजिङमा आलम्पिक।
 
खेलकुदको पूर्वाधार निर्माण गर्ने कम्पनीलाई त्यहाँ खेल सुरु अगावै बर्खास्त गर बर्खास्त गर भनेर त्यहाँको संसदीय समितिले भनेको थियो। बर्खास्त गरेपछि त्यहाँ खेल नहुने निश्चित भएपछि फेरि देशको इज्जतका लागि काम सुचारु गर भनेर त्यही संसदीय समितिले भन्यो।
 
निर्माण पूरा भयो, तय समयमा खेलकुद भयो। त्यसपछि मात्रै त्यहाँ छानबिन सुरु भयो। पछि छानबिन गर्दा निकै ठूलो भ्रष्टाचार भएको प्रमाणित भयो। त्यो भ्रष्टाचारमा भारतमा उसलाई यस्तो सजाय दिइएको छ कि अहिलेसम्म जेलमा सडिइरहेका छन् भने चीनमा मृत्युदण्ड दिइएको छ।
 
हामीकहाँ भएको भए त्यो कामलाई अख्तियारमा बोलाएर पूर्जी काटिन्थ्यो र रोक भनेर निर्देशन जान्थ्यो। त्यसको देशभित्र के असर हुन्थ्यो भनेर यहाँ कसैले पनि सोच्दैन। त्यसैले यहाँ सवाल के हो भने एउटा आएर केही गर्‍यो भन्नेबित्तिकै काम रोक्ने होइन, काम भइसकेपछि र सम्पन्न भइसकेपछि जो दोषी देखिन्छन् उनीहरुलाई हदैसम्मको सजाय दिनुपर्छ। हामीकहाँ सजाय दिइँदैन, कम दिइन्छ, खुकुलो बनाइन्छ मुद्दा र ठगलाई जोगाइन्छ।
 
विमान किन्न मैले पहल गरेँ र त्यसपछि अख्तियारलाई अवरोध नगर्नु भनेर भनेँ। त्यस बेला अख्तियारका सदस्य पनि थिएनन्, एउटा अधिकृतलाई फाइल जिम्मा दिइएको रहेछ।
 
अख्तियारबाट विमान किन्ने कुरा क्लियर भएपछि फेरि अगाडि बढ्न खोजेको लेखा समितिले बोलायो। मलाई रिस उठ्यो तैपनि गएँ लेखा समितिमा। लेखा समितिले भन्छ- यो किन किन्ने? अर्को किन। मैले भनेँ- तपाईंहरु विज्ञ हो? कस्तो प्लेन किन्नुपर्छ भनेर सुझाव दिने तपाईंको काम हो? यस्तो सुझाव दिने काम लेखा समितिको  हैन। के कति काम भयो, समयमा काम भएको छ कि छैन भनेर चासो राख्ने काम पो समितिको हो। काम गर्दा केही ल्याप्सेस भएका छन् भने सुझाव दिने काम हो, रोक्ने काम हैन।
 
मैले त्यो बेलै भनेको थिएँ, काम गर्नका लागि संसदका कुनै पनि समिति बाधक हुनुहुँदैन। समितिको काम त सहयोगी बन्ने हो। काममा सहयोग गर्ने हो। काम सकिएपछि भ्रष्टाचार भएको रहेछ भने छानबिन गर्ने हो। तर काम सुरु नहुँदै भ्रष्टाचार भनेर करायो भने कुनै पनि काम हुनेवाला छैन यो देशमा।
 
म अर्को उदाहरण पनि दिन्छु। सांसदहरुको आवास बनाउनका लागि २०४८ सालमा राष्ट्रियसभाका अध्यक्ष वेनिबहादुर कार्कीजीलाई भनिएको थियो। म विपक्षी दलको नेता थिएँ। भैँसेपाटीमा सांसद भवन बनाउने भनिएको थियो।
 
त्यसका लागि नक्सा पनि तयार भयो। सांसदका लागि एकतले, दुईतले, तीनतले घरहरु बनाउने टुङ्गो लागिसकेको थियो। विवाह भएकालाई अलि ठूलो घर, नभएकालाई अलि सानो घर बनाउने तय भएको थियो। संसदमा पहिलो पटक पुगेकालाई छुट्टै र दुईपटक वा तीनपटक सांसद भएकालाई अलग्गै आवास बनाउन तय भएको थियो।
 
अब ठेक्का दिने भन्ने मात्र कुरा उठेको थियो, पेपरमा ठूलोठूलो अक्षरमा समाचार आयो 'बेनिबहादुर कार्की भ्रष्टाचारीको चङ्गुलमा, ठूलो कमिसनको खेल'। भोलिपल्ट बेनिबहादुरजी फाइल पल्टाउँदै पड्किनु भो- म यो कुनै कुरा गर्दिनँ, सही पनि गर्दिनँ। यो पनि गर्दिनँ, उ पनि गर्दिनँ।
 
मैले सम्झाएँ पनि। बहिर पेपरमा आएजस्तो भएको छैन र हुँदैन पनि। तर मैले मात्रै कराएर भएन। नेपालीमा उखान छ नि बिँडोमात्र तातेर भएन ताप्के तात्नुपर्‍यो। के गर्नु, त्यस्तै भयो। ताप्के बोक्नेले नै आँटेको छैन भने के गर्ने र म भएको भए सही गरिदिन्थेँ तर के गर्नु उहाँले ज्यानजाला सही गर्नुभएन।
 
आज २५ वर्ष भयो, २०४८ सालदेखि। सांसदहरु बस्नका निम्ति आवास बन्ने थियो सबै सांसद बस्ने थिए। मानौँ त्यो ठेकेदारले पैसा खाएको र नराम्रो काम गरेको भए, छानबिन हुन्थ्यो होला, कारबाही गरिन्थ्यो होला।
 
त्यसैले म मिडियालाई पनि भन्न चाहन्छु, सहयोगी हुनुपर्‍यो।
 
एकपटक मैले पुल बनाउनका लागि भनेको थिएँ। एक महिनामा काम सम्पन्न भयो भनेर सचिवहरुले रिपोर्ट गरे। अनि मैले मुख्य सचिवलाई हेर्न पठाएको त काम फिटिक्कै भएको रहेनछ। सचिवलाई झपार्नेबित्तिकै मिडियामा आयो- 'प्रधानमन्त्रीले सचिवको मानमर्दन गरे' वाह!
 
मैले त खालि काम भएन, काम गर भनेर निर्देशन दिएको। उल्टै मानमर्दन गरे भनेर आउँछ। यो कस्तो देश हो? काम गर्ने मान्छेलाई पनि हौसला दिनुछैन। अरु देश भएको भए ठिक गरिस् भनेर हौसला दिन्थे।
 
त्यस्तै मैले सर्लाहीको वन सखाप भयो भनेर त्यहाँको डिएफओलाई भनेको थिएँ। उसले त्यहाँको वन फाँड्ने कर्मचारीलाई सजाय दियो। त्यसपछि उसले भन्न थाल्यो-मैले १० हजार रुख काट्यो भनेर प्रधानमन्त्रीले मलाई कारबाही गर्न लगायो। अब २० हाजर रुख काट्छु।
 
त्यसैले म के भन्छु भने- जहाज खरिद गर्न ढिला नगर्नुस्। किनकि हाम्रो देशमा पर्यटन विकासको अथाह सम्भावना छ। यो सम्भावनालाई साकार पार्नका लागि लाग्नुपर्ने एउटा पाटो छ। अहिले नै एक हिसाबले नेपालमा हवाइ यात्रु चाप धेरै छ। यत्रा विदेशी जहाज कम्पनीले जहाज थपेका थप्यै छन् भने नेपाल वायुसेवा निगमले किन थप्न नसक्ने?
 
त्यसको लागि अब बोइङ कि एयरबस भनेर नजाऔं। त्यसका लागि पहिले नै गरिसक्नुपर्छ। त्यो डिसिजन समयमा नै गर्ने हो। तपाईंहरुको लजिक सही छ, नयाँ हुनुपर्छ सस्तो हुनुपर्छ क्वालिटीको हुनुपर्छ र चल्ने हुनुपर्छ। तलमाथि केही भयो भने पूर्ण रुपमा खरिदकर्ताले जिम्मेवारी लिनुपर्छ। भोलि गएर केही भयो भने त्यसमा कारबाही गर्न तयार रहनुपर्छ।
 
अहिले नेपाललाई दुई वटा होइन, १०० वटा जहाजको खाँचो छ। त्यसो हुनाले सबैले तर्कसंगत कुरा गरौं। खरिदपछि कसैले केही गर्‍यो भने त्यो बेला कारबाही हामी गर्छौं।
 
दोस्रो कुरा, यो सबै कामका लागि कम्युनिटी मुभ हुनुपर्‍यो। तपाईंहरुले एउटा जहाज किन्ने मात्र भन्नुभएन। जहाजले त पर्यटकलाई नेपालमा ल्याउने कुरा हो। पर्यटकलाई जहाजमा सुविधा दिने कुरा छ।
 
विमान किनेर मात्रै हुँदैन विमानस्थल पनि बनाउनुपर्छ। निजगढ विमानस्थल निर्माण गर्न अवरोध भएको भयै छ। प्रधानमन्त्री निरीह छन्, सम्बन्धित मन्त्रीहरु निरीह छन्। के गरेर बसेका छन् प्रधानमन्त्री? के हो उनको काम?
 
हाम्रा छिमेकी देशमा प्रशस्त उदाहरण छन्। दुई वर्षभित्र अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सकिन्छ। तर यही नेपालमा किन सकिँदैन? केले रोकेको छ यहाँ? कसैले पनि हेर्दैन। सबैभन्दा पहिले हेर्नुपर्ने प्रधानमन्त्रीले हो। उहाँले हेर्नुहुन्न, किनभने उहाँको दिमाग अहिले ठिक छैन। उहाँको दिमाग अहिले बाहिरबाहिर गएको छ। देशको समस्याले पिरलेको होला उहाँलाई तर किन गर्न सक्नुहुन्न त?
 
स्वयं पर्यटमन्त्री पनि उपस्थित हुनुहुन्छ। मेरो सुझाव के छ भने तुरुन्त निजगढ विमानस्थल बनाउनुस् अनि फास्टट्रयाक बनाउने कुरालाई तुरुन्त अगाडि बढाउनुस्। तीन वर्षभित्र निजगढ विमानस्थल र फास्टट्रयाक बनाउने योजनाका साथ अगाडि बढ्नुस्। यसलाई तीन/चार फेजमा अगाडि बढाएर काम सम्पन्न गर्न सकिन्छ।
 
सरकारी कामका लागि निजी क्षेत्रले पैसा खुवाएको छ भने पनि त्यसलाई छानबिन गर्नुस्। विकासका आयोजनालाई चाँडो अगाडि बढाउनुस्। तपाईंहरुलाई मेरो शुभकामना छ।
 
(संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा नेपालले राखेको धारणाको सम्पादित अंश)

Share this Story

   

किन भएन देश विकास? माधव नेपालले सुनाए तीन अनुभव, भने- 'रोक्नेलाई फाँसी दिनुपर्छ' को लागी १ प्रतिक्रिया(हरु)

man k[ Dec 29, 2016 - 08:50 pm ]
अरुण राेक्नेलाइ के गर्ने माकुने ?

   हालसम्म ५७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.