Snickers

कमाउन हामीसँग अरु बिजनेश छन्, अस्पताल समाजसेवा गर्न खोलेका हौँ, रुप ज्योतिको अन्तर्वार्ता


भ्याट सम्बन्धी एउटा प्रावधान छ- मिसम्याच भन्ने। त्यो आफैंमा मिसम्याच हो। कहिल्यै पनि म्याच हुन सक्दै सक्दैन। किनभने त्यसमा बिक्रीको रिपोर्ट गर्ने चाहिँ अवधि छ महिना अनि खरिदको चाहिँ दुई बर्ष रहने प्रावधान छ। अब क्रेताले आफ्नो फुर्सदमा जहिले पनि रिपोर्ट दिन सक्ने भयो। बिक्रेतालाई छ महिना भित्र गर्नै पर्ने दबाव हुन्छ। अनि कसरी म्याच हुन सक्छ?
--- 
किनभने आफूले नसकेको काममा सन्तानलाई दबाव दिनु राम्रो पनि होइन। त्यसैले नयाँ पुस्ताले अहिले हिँडेको बाटोबाट बाहिर निकाल्न हामीले मात्र भनेर हुँदैन। राज्यले नै सकारात्मक र सरल नीति बनाएर उनीहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्छ

---

हाम्रो प्रोजेक्ट हुन्थ्यो भने त्यो अर्कै ढंगले चल्थ्यो। किनभने राष्ट्र बैंकले नै २५ प्रतिशतभन्दा बढी इक्विटीमा लगानी गर्न रोक लगाएको थियो। त्यो अवस्थामा हाम्रो ‘स्टेक’ ‘कन्ट्रोल’ गर्न पुग्ने गरि भएन। अरु सबै सेयरहोल्डरमा तत्काल कमाइ हालुँ भन्ने मानसिकता हावी भयो

 ---

 डा. रुप ज्योति उद्योगपति हुन्, व्यापार गर्छन, हार्वार्डका विद्यार्थी हुन्, त्यसैले अर्थशास्त्री पनि हुन्। उनी राजनीतिमा आए, राष्ट्रिय सभाको सदस्य बने, पछि अर्थ राज्यमन्त्रीको रुपमा जिम्मेवारी पनि सम्हाले। त्यति मात्रै होइन उनी विपश्यना सिकाउने आचार्य मध्ये सिनियर आचार्य हुन्, यति धेरै परिचय भए पनि ज्योति समुहका उपाध्यक्ष रुप ज्योतिको अहिले पब्लिक फोरममा उपस्थित भने न्युन छ, बिजमाण्डूका सम्पादक विज्ञान अधिकारी र प्रभात भट्टराईले सोधे, पब्लिक फोरममा मात्रै होइन व्यापार र उद्योगमा तपाईंको समूहले लगाएको ब्रेक छाडेर एक्सिलेटर दवाउने बेला भएन?



ज्योती ग्रुपले उद्योग र ट्रेडिङमा फरक पहिचान बनाइ सकेको थियो। पछिल्ला ३/४ बर्षयता ग्रुपका तर्फबाट विशेष गरि तपाइँ
 हस्पिटल तिर फोकस हुनुभएको छ। यो क्षेत्रले यति धेरै लोभ्याउनुको कारण के हो?
कारण छ नि। केहि अलिकति सिकिस्त विरामी भयो कि विदेश जानु पर्ने अवस्था छ। किनभने नेपालमा त्यो स्तरको सेवा सुविधा भएको हस्पिटलको अभाव थियो। एक समय सबैं टिचिङ हस्पिटल  महाराजगञ्ज जान्थे। किनभने त्यसबेला उक्त हस्पिटल उत्कृष्ट थियो। आज पनि राम्रै छ। तर, त्यहाँ भर्ना गर्न नै धेरै तिर सोर्सफोर्स लगाउनु पर्छ। अप्रेसन गराउनु पर्यो भने एक बर्ष पछि पालो आउँछ। अब बिरामी भएको छ आज अनि उपचार गर्न बर्ष दिन कुर्ने त कुरो आउँदैन।

त्यहि भएर नेपालमा सर्वसाधारणले भनेको समयमा उचित उपचार पाउन्। साथै डाक्टरले राम्रो ठाउँमा मेडिकल प्राक्टिस गर्न पाउन्। अन्तराष्ट्रिय स्तरका उपकणका साथ प्राक्टिस गर्न पाउन् भनेर हामी हस्पिटल तिर लागेका हौँ।
 
सुरुमा ग्रान्डी इन्टरनेशनल अस्पताल धापासीको ब्यवस्थापनमै हुनुहुन्थ्यो। अहिले हुनुहुन्न। त्यहाँ जुन सोचले काम गर्ने इच्छा थियो त्यो असफल भए पछि अहिले कान्तिपथको ग्रान्डी सिटी क्लिनिकलाई हस्पिटलकै रुपमा प्रमोट गर्नु भएको हो?
ग्रान्डी सिटीको स्थापना त कसरी भएको थियो भने धापासी अलिकति टाढा छ। बिरामीलाई जसलाई सुरुमा डाक्टर भेट्नुछ या फलोअप गर्नुछ भने यहिँ सहरमै गर्न पाउन् भन्ने हाम्रो चाहना थियो। जस्तो कसैलाई खाली पेटमा रगत जचाउँनु पर्ने हुन्छ, त्यतिका लागि बिहानै किन धापासी पुग्नु। एक सातासम्म आधा घण्टाको फिजियो थेरापी गर्नु पर्ने हुनसक्छ, त्यस्तो सेवा यहिँ दिउँ भनेर ग्रान्डीकै क्लिनकको रुपमा यसलाई सुरु गरियो।

तर, डाक्टर (चक्रराज) पाण्डेसँग मन मिलेन। उहाँले अर्कै तरिकाले हेर्नु भयो। मैले यहाँ आफ्नै घरमा निर्माणको खर्च लिन्न, फर्निचर राख्ने र सञ्चालन खर्च अस्पतालले ब्योहोरोस् भनेको उहाँ मान्नु भएन। मैले अफिसको रुपमा चलाइ रहेको दुई तला खाली गरेर अन्यत्र सारि सकेको थिएँ। तपाइँको ठाउँमा, तपाइँको सम्पत्तिमा आफैं चलाउनुहोस् भन्नु भयो। मलाइ त समस्या पर्यो। त्यस अघि यो क्षेत्रमा काम गरेको अनुभव पनि थिएन।

त्यसपछि क्लिनिकको रुपमा मात्र चलाएर त भएन। अनि थप अफिस पनि सार्दै अहिलेको संरचना तयार गरेका हौं। त्यस क्रममा पनि समितिभेजसँग सल्लाह लियौँ। दुईवटा अपरेसन थिएटर नै बनाएका छौँ। बिरामी राख्न क्याविन र बेडहरु तयार गर्यौँ। आइसियु र इमर्जेन्सीको व्यवस्था गर्यौँ। हाम्रो अस्पताल सानो छ। मात्र २४ बेडको हो। तर, यो पूर्ण सेवा दिने अस्पताल भैसकेको छ।

म ठोकुवाका साथ के भन्न सक्छु भने हामी जस्तो ‘वेल इक्विप्ट’ अस्पताल नेपालमा छैन। हाम्रो सबै प्राइभेट क्याविनमा मोनिटर छ। औषधि दिनलाई सिरिञ्ज पम्प छ। ह्वात्तै दिन नमिल्ने औषधि उक्त पम्पमा हालेपछि विस्तारै बिरामीको शरिरमा जान्छ।

त्यस्तै बेड पनि पहिला जस्तो ह्यान्डल घुमाएर माथि तल सार्नुपर्दैन। स्विचबाटै उठाउन र सुताउन मिल्छ। हरेक बेडमा नर्स कल छ। नर्सलाई मुखले बोलाइ रहनु पर्दैन। स्विच दवाएपछि आफैं म्यासेज दिन्छ। त्यस्तै एयरकन्डिसन पनि अस्पतालकै ‘स्ट्यान्डर्ड’को छ। हामीले अन्त अफिस या कोठा तिर राख्ने जस्तो होइन। अस्पतालमा ‘सेन्ट्रलाइज्ड’ एयर कन्डिसन छ। कोठको हावा एयरकन्डिसले बाहिर पठाउँछ र बाहिरको हावा फिल्टर गरेर मात्र भित्र ल्याउँछ। त्यो हुने वित्तिकै हावामा हरेका किटाणु , धुलोका कण अस्पताल भित्र छिर्न सक्दैनन्। यो भएपछि अस्पताल धुलो, किटाणु र प्रदुषणरहित रह्यो। बिरामीलाई बाह्य कारणले अरु कुनै थप समस्या नआओस् भनेर यो गरेका हौँ।
 


नेपालमा अन्तराष्ट्रिय स्तरको अस्पताल बनोस् र चलोस् भन्ने थियो। बनाएर १/२ दुई बर्ष चलाउँदा नै मनमुटाव भएपछि ल अब तपाइँहरु नै चलाउनुहोस् भनेर म ‘विथड्र’ भएको हुँ। किनभने डा. (चक्रराज) पाण्डेलाई यो ग्रान्डी सिटि र रुप ज्योती भनेपछि एलर्जी छ। नत्र त्यहाँका अरु सबै डाक्टरले बिरामी यहाँ हेर्न र थप उपचार धापासीमा गर्न चाहन्थे

---


तर अस्पताल त शान्त ठाउँमा नभएर कोलाहलयुक्त ठाउँमा छ नि?
हाम्रो अस्पताल कान्तिपथको हल्लायुक्त ठाउँमा छ। त्यो कोलाहलले बिरामीलाई असर नगरोस् भनेर झ्यालमा दुई तहको सिसा राखेका छौँ। यसले एकातिर एयरकन्डिसनको लागि बिजुली खपत कम गर्छ भने अर्को तिर त्यहाँ भित्रको हावा सेन्सर गर्छ। नियमित रुपले सफाइ र सुरक्षाको व्यवस्था गरिएको छ।
 
हाम्रोमा अस्पतालको बिजनेशलाई राम्रो मुनाफाको क्षेत्र मानिन्छ। त्यति हुँदा पनि लो-कष्ट उपकरण ल्याउने, डाक्टर पनि सकेसम्म विशेषज्ञ नराखेर मेडिकल अफिसरबाटै चलाउने खोज्ने, तपाइँले त्यसलाई चिर्न खोज्नु भएको हो ?
हामीले अस्पताल बिजनेशभन्दा पनि समाज सेवा गर्न खोलेका हौँ। नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवाको अभाव थियो। हामी त्यहि दिन चाहन्छौँ। कमाउनलाई हामीसँग अरु बिजनेश छन्। हेल्थ केयरलाई चाहिँ कमाउने बाटोको रुपमा हामीले अहिलेसम्म लिएका छैनौँ। यति लगानी गरेसकेपछि अस्पताल आफैंले बैंक ब्याज तिरेर ‘सस्टेनेवल’ होस् भन्ने त हामी चाहन्छौँ। तर यसबाट नाफा कमाउनु भने परेको छैन।

यदि त्यसरी नाफा मात्र खोज्थ्यौँ भने हामी यस्ता उपकरण नै राख्थेनौँ नि। हामीले डिजिटल एक्सरे राखेका छौँ। जसको लागत नै ९० लाख हो। बाहिर डिजिटल भन्दै कम्युटर जोडेर राखेका एक्सरे २५ /३० लाखका हुन्। साँच्चिकै डिजिटल चाहिँ हामीले राखेका हौँ।

यो मेसिन खरिद गर्दा डाक्टरहरु नै भन्थे- तपाइँको दिनमा यतिवटा एक्सरे आएन भने त लागत उठ्दैन। मैले हाम्रो त्यो चाहना होइन, मान्छेको रोग राम्रोसँग पहिचान होस्, उपचार पाउन् भन्न खोजेको हो भनेँ। उत्कृष्ठ उपकरण भए पनि हामीले बाहिरभन्दा सस्तोमा एक्सरे गरेका छौँ। त्यो भए पछि बिरामी नआउने भन्ने त कुरा हुँदैन।

हामीकहाँ अल्ट्रासाउन्ड मेसिन त्यस्तै छ। हामीसँग भएको मेसिनले अरु मेसिनले नदेख्ने चिज पनि फेला पार्छ। हाम्रै अस्पतालको रेडियोलोजी डाक्टरहरु पनि अरु मेसिनमा नदेखिएको समस्या यहाँको मेशिनबाट पहिचान भयो भन्छन्। यसले बिशेष गरि गर्भावस्थामा बच्चाको अवस्था कस्तो छ भनेर राम्रोसँग ‘डिटेक्ट’ गर्न सक्छ।

लगानीकै हिसाबले हेर्नुस्। ठुल्ठुला भनिएका अस्पताल जान्छु। उनीहरु गर्वका साथ हामीले यसमा छ करोड लगानी गरेका छौँ भन्छन्। १०० बेडको अस्पताल कसरी त्‍यति लगानीले बन्न सक्छ। जबकी २४ बेडको अस्पताल खोल्दा यहाँ मैले उपकरणमा मात्रै  ४०/५० करोड लगानी गरि सकेको छु।
मैले यहाँ सिटिस्क्यान मेसिन ल्याएको छु। त्यसको लागत १५ करोड रुपैयाँ हो। जो कोहीले त यो मेसिन किन्न नै हिम्मत गर्दैनन्। अरु सिटिस्क्यानले गर्न नसक्ने काम यसले गर्छ। अर्को सातादेखि यो प्रयोगमा आउँछ। यो मेसिनमा सिटि गर्न एनजिओ गराउनु पर्दैन। एनजिओ गराउन बिरामीलाई सेमी बेहोस नै पार्नुपर्छ। तर, हामीले यो मेसिन प्रयोगमा ल्याएपछि त्यस्तो केहि गर्न पर्दैन। यसले ठूलो समस्या नभए पनि स्वस्थ रहन मुटु परिक्षण गर्नेको संख्या बढ्छ भन्ने विश्वास छ।

तपाइँले उपकरणमै यति धेरै लगानी गरि सक्नु भयो, २४ बेडको अस्पतालमा ५०/६० करोड लगानी भैसक्यो। नाफा नै नखोजे पनि यत्रो अस्पतालले त्यत्रो लगानीको ब्याज तिर्न सक्ला? की तपाइँ अस्पताललाई ठूलो 'स्केलमा एक्पान्डको तयारीमा हुनुहुन्छ?
कमाउन खोज्दा त ठूलो स्केलमा जानु पर्ला। तर, बाँच्न मात्र यहि स्केलबाट पनि सकिन्छ भन्ने मलाइ लाग्छ। किनभने हामीकहाँ भएको उपकरणले मान्छेको शरिरको स्वस्थता पुर्ण रुपमा जाँच गरिदिन्छन्। त्यसले पनि हामीलाई मद्दत गर्छ भन्ने मलाइ लाग्छ। फेरि हामीले शुल्क पनि महंगो लिएका छैनौँ। तर मान्छेलाई थाहा छैन। अब थाहा दिनु पर्नेछ।
 
भनेपछि धेरै रोग पत्ता लगाउन हामी बैंकक, सिंगापुर या दिल्ली जानु नपर्ने भयो अब?
हो त्यतिका लागि अब विदेश गैरहनु पर्दैन। किनभने रोग पहिचान गर्न उपकरण नै मुख्य कुरा हो। ग्रान्डी सिटि क्लिनिकले नै शरिरका हरेक अंगको अवस्था बताइदिन्छ।

साथै रोग पहिचान मात्र होइन उपचारका लागि पनि हामीसँग राम्रो उपकरण छ। म आफैंलाई लामो समय रुघा लागेजस्तो भएपछि अस्ति क्लिनिकमा गएको थिएँ। डाक्टरले मेरो प्रशंसा गर्दै भने- विरामीको अवस्था जाँच्ने यो जस्तो मेसिन त अन्यत्र कतै पनि छैन। यति भन्दै उनले मलाइ नै मेरो नाक भित्र के समस्या भनेर क्यामेरामा प्रष्ट फोटो देखाइ दिए। अरुले त्यस्तो मेसिननै राख्दैनन्। एउटा सानो तार जस्तो छ। त्यसको मूल्य नै २८ लाख रुपैयाँ पर्छ।

मेरो नाकमा सानो पोलिभ रहेछ। अब त्यो निकाल्न पनि अरु भन्दा सहज तरिकाले सक्छौँ। हामीसँग इन्डोस्कोपिक सर्जरीका लागि स्पाइस भिजन सिष्टम भन्ने छ। त्यसले एकदमै प्रष्ट देखिन्छ। यो उपकरण पनि नेपालका अरु अस्पतालमा छैन। त्यसैले कान, नाक, घाँटीको हकमा ग्रान्डी सिटि क्लिनिक जत्तिको सेवा दिन सक्ने अरु छैनन्।
 


धापासीको ग्रान्डी अस्पतालसँग चाहिँ तपाइँको सबै सम्बन्ध टुटेको हो?
हामीले सिटि क्लिनिकमा रोग पहिचान र धापासीस्थित ग्रान्डी हस्पिटलमा उपचार होस् भनेर यी उपकरण यहाँ राखेका थियौँ। तर, उहाँहरु त्यसो गर्न मान्नु भएन। १०० करोड चानचुन मेरो लगानी त त्यहाँ बाँकी नै छ। मैले एक पैसा लिएको छैन। मेरो मनसाय चाहिँ नेपालमा अन्तराष्ट्रिय स्तरको अस्पताल बनोस् र चलोस् भन्ने थियो। बनाएर १/२ दुई बर्ष चलाउँदा नै मनमुटाव भएपछि ल अब तपाइँहरु नै चलाउनु होस् भनेर म ‘विथड्र’ भएको हुँ। किनभने डा. (चक्रराज) पाण्डेलाई यो ग्रान्डी सिटि र रुप ज्योती भनेपछि एलर्जी छ। नत्र त्यहाँका अरु सबै डाक्टरले बिरामी यहाँ हेर्न र थप उपचार धापासीमा गर्न चाहन्थे।

जब उनले ग्रान्डी सिटिसँग सम्बन्ध नै राख्न चाहेनन् भने हामीले पनि त्यसै चुप लागेर बस्नु त भएन। यहाँ हस्पिटल बनाउने भनेपछि अपरेसन थिएटर(ओटि)देखि सबै संरचना तयार गर्नु पर्‍यो। फेरि समितिभेजले भन्यो तपाइँ जत्तिको मान्छेले अस्पताल बनाइ सकेपछि एउटाले हुन्न दुईवटा ओटी चाहिन्छ। यहाँ ठाउँ पनि पर्याप्त थिएन। धेरै मेहनतले तयार गरियो। किनभने बनाइ सकेपछि लरतरो बनाउने कुरा आएन। त्यहि अनुरुप बनायौँ। अहिले त हामी यहाँ हिप रिप्लेसमेन्ट समेत गर्न सक्छौँ।
 
ग्रान्डी र तपाइँहरुकै उदाहरण हेर्दा पनि नेपालीले साझेदारीमा काम गर्नु भनेको ज्यादै चुनौतीपूर्ण देखिन्छ?
यसमा म के कमेन्ट गरौँ! म त्यहाँ सुरुदेखि गएको भनेको त आफ्नो निजी स्वार्थले त हुँदै होइन। सुरु देखिनै शंका उपशंका गर्ने, गलत नजरले हेरेपछि त काम गर्न सकिन्न। म अस्ति आमा बिरामी हुँदा त्यहाँ अस्पतालमा गएको थिएँ।

त्यहाँ जाँदा मलाई उतिबेला आफुले निर्माण गरेको संरचना प्रति गर्व लाग्यो। ती संरचना बनाउँदा मैले यति र उति खर्च बढाएको भन्दै गाली खाएको थिएँ। तर, अहिले त्यहि संरचनाले बिरामीदेखि डाक्‍टरसम्म सबैलाई सजिलो भएको रहेछ। उहाँहरु आइसियु नै राम्रोसँग बनाउन चाहनु हुन्नथ्यो।

मेरै जिद्दिले १२ बेडको आइसियु र आठ बेठको एनआइसियु बनाइ दिएको थिएँ। अहिले त त्यो सबै फुल छ। यस्तै मेरै बलमा हेलिप्याड बनाइएको थियो अस्पतालको छतमा। उहाँहरुलाई त्यो पनि मन परेको थिएन। तर, अहिले त त्यसैले धेरै राम्रो नतिजा दिएको छ। त्यसैले प्रतिफल त मैले हेरिरहेको छु। मलाइ जस चाहिएको छैन। बिरामीले राम्रोसँग उपचार पाए पुग्छ।
 
ज्योती ग्रुपमा तपाइँले सुरु गरेका महत्वाकांक्षी परियोजनामा ग्रान्डी अस्पताल थियो, यति सजिलै गिभअप गरि दिनु भयो?
त्यो हाम्रो आफ्नो प्रोजेक्ट थिएन। हाम्रो प्रोजेक्ट हुन्थ्यो भने त्यो अर्कै ढंगले चल्थ्यो। किनभने राष्ट्र बैंकले नै २५ प्रतिशतभन्दा बढी इक्विटीमा लगानी गर्न रोक लगाएको थियो। त्यो अवस्थामा हाम्रो ‘स्टेक’ ‘कन्ट्रोल’ गर्न पुग्ने गरि भएन। अरु सबै सेयरहोल्डरमा तत्काल कमाइ हालुँ भन्ने मानसिकता हावी भयो।

अलिक दिगो ढंगले चलाउँ भन्नेमा म एक्लै भएँ। त्यहि भएर व्यवस्थापन उहाँहरुलाई नै जिम्मा लगाएर बाहिरिएको हुँ। र, यहाँ क्‍लिनिकलाई अस्पतालमा स्तरोन्नती गरे पनि धेरै राम्रो रेस्पोन्स पाएको छु। जो एक पटक आएको छ उ अवश्य फर्केको छ। केहि प्रचार प्रसार हुने वित्तिकै यसले ‘म्यासिभ’ प्रगति गर्छ भन्ने विश्वास छ।
 
तपाइँले धापासीमा ग्रान्डी सुरु गर्ने भयो, त्यो राम्रो भयो। अहिले यहाँ ग्रान्डी सिटि पनि राम्रो हुँदैछ। भनेपछि नेपालमा स्तरिय अस्पतालको ठूलै सम्भावना रहेछ?
हो। बुद्धिमानीपूर्वक गर्ने हो भने त्यो संभावना छ। हाम्रो पनि यो क्षेत्रमा केहि नयाँ गर्ने योजना छ। सायद १/२ बर्षमा तपाइँले थाहा पनि पाउनु हुनेछ।
 
भनेपछि अस्पताल क्षेत्रमा गर्ने लगानीमा तपाइँ रोकिनु हुन्न?
मलाइ के खुसी लागेको छ भने मेरो आनीबानी र व्यवहार हेरेर यो काम नेपालमा गर्ने हो भने तपाइँसँगै गर्छु भन्दै मान्छे आएका छन्। उनीहरु अरुसँग काम गर्दा तुरुन्तै प्रतिफल खोज्छन् तर तपाइँ त्यसमा हतार नगरिकन संस्थाको भलाइमा लाग्नु हुँदो रहेछ भनि रहेका छन्। विजनेश ग्रुप मात्र नभइ यहाँका स्थानीय डाक्टरहरु पनि साझेदारी गरौँ भन्‍दै आएका छन्।
 

हाम्रो अरु बिजनेस नभएको भए हिमाल उद्योग चालु राख्न समस्या पर्ने अवस्था छ। हिमाल आइरन मात्र मुलुकमा एउटा यस्तो उद्योग हो, जसले अन्तिम चरणसम्म भ्याट तिर्छ। हाम्रा हरेक बिक्री केन्द्रले जतिको सामान किन्नु भयो तपाइँलाई त्यति कै भ्याट बिल दिन्छ। अरु उद्योगले आफ्नो कारखानामा बिल काटिदिन्छन् सिध्यो
 ---

ज्योती ग्रुपको समग्र व्यवसायको कुरा गरौँ। अहिले तपाइँ तेस्रो पुस्ताको रुपमा यो ग्रुप चलाइरहनु भएको छ। सय बर्षको इतिहास भैसक्यो। यति लामो इतिहास भएको ग्रुपको ग्रोथ अहिले केहि स्लो भएजस्तो लाग्दैन तपाइँलाई?
यसमा हामी आफैंले ब्रेक लगाएका पनि हौँ। साथै ब्रेक लागेको पनि हो। शिक्षा, स्वास्थ्य जस्ता क्षेत्र छाड्ने हो भने हाम्रो संलग्नता भएको उद्योग र ब्यापारमा हो। ज्योती ग्रुपको दिशा निर्धारण बुवाले गर्नु भएको हो। उहाँको सोच के थियो भने कमाउन त हरेक प्रकारले सकिन्छ तर स्वच्छ र सहि क्षेत्रमा काम गरेर कमाउनु पर्छ।

उहाँ सुरुमा आउँदा नेपालमा दुई वटा क्षेत्रको बिगबिगी थियो। एउटा आइरन र स्टिल अर्को सेन्थेटिक उद्योग। ती उत्पादनमा भारतले नेपाललाई सहुलियत दिएको थियो तर त्यसलाई दुरुपयोग गरेर विदेशबाट फलामको पाता नै मगाउने र अलिअलि बंग्याएर भारत पठाउने एवं विदेशबाट धागो ल्याएर यसो बेरेर नेपाली भन्दै पठाउने काम धैरैले गरे। बुवाले आफ्नो जीवनको अन्तिम क्षणमा हामीहरुलाई भन्नु भएको कुरा हो यो।

'मैले पनि त्यसबेला त्यस्तै गलत व्यापारको फर्मुला अपनाएको भए आर्थिक रुपमा आज तिमीहरुको हैसियत अर्कै हुने थियो तर त्यसरी त के कमाउनु भनेर म त्यता लागिनँ, तिमीहरुले आफ्नो पालोमा पनि यो कुरा चाहिँ हेक्का राख्नु'  भन्नु भएको थियो।

नेपालको आवश्यकता बुझेर फलाम, अक्सिजन जस्ता उद्योगमा लागेको बुबाको भनाइ थियो। यस्तै सामान झिकाएर बेच्दा पनि देशको आवश्यकतालाई नै केन्द्रमा राखेर ट्रयाक्टर, पम्पसेट जस्ता उपकरणको ब्यापार गरेको उहाँले बताउनु भएको थियो। बुबाकै पालामा संयोगले मोटरसाइकल पनि हाम्रो हातमा परेको हो। बुबा लामो समय भारतमा बस्नु भएको थियो। उहाँले भारतबाटै ब्यापार सुरु गर्नु भयो। भारतको पहिलो स्टिल उद्योग भेलाइ स्टिल प्लान्डको डिलरशिप लिन सफल हुनु भएछ। स्टिलको उद्घाटन समारोहमा जवाहरलाल नेहरु उपस्थित भएको बेला बुबा पुग्नु भएको फोटो अहिले पनि छ।

नेपालमा रोलिङ मिल लगाउने बुवाको चाहना बुझेपछि एक जापानीले तिमीहरुलाई नयाँ र ठूलो रोलिङ मिल चाहिन्न। जापानको एउटा सेकेन्डह्यान्ड मिल ल्याए पुग्छ भनिदिएछ। त्यहि अनुरुप जापानबाट रोलिङ मिल ल्याएर नेपालमा उद्योग सुरु गर्नु भएको हो। रोलिङ मिल जडान गर्न एक जना जापानी इन्जिनियर आएको रहेछ। उसले बुवालाई भनेछ- तिमी होण्डाको मोटरसाइकल नेपालमा बिक्री गर, मेरो ज्वाइँ होण्डामा काम गर्छ, उ नेपालमा मोटरसाइकलको बजार खोज्न चाहेको छ, म तिमीलाई डिलरसीपको लागि वातावरण बनाइदिन्छु।

यसरी हामीले २०२२ साल तिर होण्डाको डिलरसीप पाएको हो। अन्यथा बुबाको ध्यान उद्योगमा नै थियो। ट्रेडिङमा ट्र्याक्टर, पम्पसेट जस्ता उपकरणमात्र उहाँका प्राथमिकतामा थिए। त्यसरी संयोगले सुरु गरेको मोटरसाइकल कारोबार आज हाम्रो परिवारकै मुख्य र कमाउने बिजनेस बनेको छ। एक किसिमले यो देशकै आवश्यकताको विजनेस पनि हो।

यस्तो विजनेसमा राज्यको नीति फेरियो भने पनि खासै फरक पर्दैन। धेरै ठूलो लगानी पनि हुँदैन। किनेर ल्याएर बेच्ने मात्र हो। तर, उद्योग जस्तो क्षेत्रमा नीतिगत एकरुपता रहेन भने डामाडोल हुन्छ। बुवाकै चाहना थियो स्पिनिङ मिल्स सञ्चालन गर्ने। त्यसको सुरुवात देखिनै संलग्न हुन पाएकोमा मलाइ पनि गर्व लाग्छ। तर, हामीले मात्र गरेर कसरी हुने! सरकारको नीति नै चौपट छ। लगानी गर्ने विषयमा सरकारले निजी क्षेत्रलाई सुरु देखि नै शंकाको नजरले हेर्ने, नाफाखोर भन्ने, लगानीकर्तालाई कसरी बाँध्ने भनेर मात्र सोच्छ।

जस्तो ज्योती स्पिनिङ मिल्स खोल्दा हामीलाई सूती धागो बनाउनै पर्ने सर्त राखियो। ४९ प्रतिशत मात्र आफुले राखेर ५१ प्रतिशत सेयर जनतालाई दिनै पर्ने प्रावधान तोकियो। त्यति सर्त राखे पनि हामीले काम थालेका थियौँ। पछि यस्तो नीति आयो की भारतबाट निर्वाध धागो ल्याउन दिइयो। त्यसपछि हाम्रो उद्योग धरासायी भयो। अर्कोतिर लोडसेडिङ सुरु भयो। मजदुरको पनि उस्तै समस्या। श्रम नीति र ऐन पनि त्यस्तै छ।

त्यहि भएर उद्योगमा चाहेर पनि हात बढाउन सकिएको छैन। हामी प्यासिभ भएको कारण पनि यही हो। नत्र २/४ वटा उद्योग सुरु गर्ने भनेर लगातार बाटो हेरिरहेका छौँ। तर, आँट गर्न सकेको छैन।
 
तर हिमाल स्टिल त नाफा कमाउने उद्योगमा नै पर्छ नि?
उद्योग धान्न ज्यादै मुस्किल छ। हाम्रो अरु बिजनेस नभएको भए हिमाल उद्योग चालु राख्न समस्या पर्ने अवस्था छ। हिमाल आइरन मात्र मुलुकमा एउटा यस्तो उद्योग हो, जसले अन्तिम चरणसम्म भ्याट तिर्छ। हाम्रा हरेक बिक्री केन्द्रले जतिको सामान किन्नु भयो तपाइँलाई त्यति कै भ्याट बिल दिन्छ। अरु उद्योगले आफ्नो कारखानामा बिल काटिदिन्छन् सिध्यो।

भ्याट तिर्नु पर्छ, यो हाम्रो दायित्व हो भनेर भन्दा निजी क्षेत्रकै साथिहरुले कति कचकच गरेको भनेर मलाइ कराउँछन्। तर, इथिकल बिजनेश गर्नु पर्छ भन्ने मेरो मूल धर्म कहिल्यै छोड्न आँट आउँदैन। मन्त्री हुँदा पनि त्यहि गरेको थिएँ।

बिजुलीमा पनि हामीलाई त्यस्तै ब्यवहार हुन्छ। हामीले एउटा इन्डक्सन फर्मेक्स राख्नु पर्यो भनेर चार मेगावाट थप बिजुली माग गरेको,  प्राधिकरणले दिनै सक्दैनौँ, हामीसँग बिजुली नै छैन भन्ने जवाफ दियो। अर्को सँगैको उद्योगले आरामले १० मेगावाट उपयोग गरिरहेको छ। हामी तलमाथि केहि गर्दैनौँ, हामीले सुविधा पाउन्नौँ।
 
भनेपछि इथिकल बिजनेश गर्न खोज्दा नै तपाइँहरुको ग्रोथमा ब्रेक लागेको भन्ने हो?
भएको उद्योग बचाउनै गार्ह्रो परेको बेला नयाँको कुरै आएन नि। जस्तो हामी भन्दा पछि आएका स्पिनिङ मिल्सलाई न पब्लिकमा सेयर बेच्ने बाध्यता छ, न त कपास प्रयोग गर्न नै बाध्यता छ। उनीहरुले फटाफट कमाए। हामी हेरेको हेर्यै भयौँ। त्यहि भएर केहि बर्षदेखि औषधी उद्योग लगाउने की भनेर सोच बनाए पनि आँट गर्न सकेका छैनौँ।
 
अस्पतालमा जसरी लोभलाग्दो रुपमाले छिर्नु भएको छ , औषधी उद्योगमा नि त्यो संभावना होला नि?
गरौँला अब। त्यसमा जान बिजुलीको समस्या पनि मुख्य थियो। तर अहिले त्यो समस्या पार लाग्ने लक्षण देखिएको छ। लोडसेडिङ नभएको अवस्थामा फेरि सोच्न सकिन्छ। 
 
अहिले केहि सकारात्मक चित्र पनि देखिन थालेका छन्। जस्तो तपाइँले नै भन्नु भयो बिजुली नियमित आएको छ, देश द्वन्दबाट शान्तिको चरणमा गएको छ, मजदुरमा पनि अब मालिकसँग लडेर होइन सहमतिमा मात्र अघि बढ्न सक्छ भन्ने चेत पलाएको देखिन्छ। यो पृष्ठभूमीमा ब्रेक होइन एक्सिलेटर थिच्ने समय आएको हो?
त्यसको लागि अब नयाँ ड्राइभर आउनु पर्छ। म र मेरो दाइ त अब बिस्तारै किनारा लाग्न थालि सक्यौँ। नयाँ जेनेरेसनले गर्ने हिम्मत र सोच जुटाउन सक्नु पर्‍यो।
 
केहि बर्षदेखि नयाँ जेनेरेसन सक्रिय देखिन्छ?
हो उनीहरु लागेका छन्। तर, अहिलेसम्म उनीहरु पनि कमाइ आउने क्षेत्रमा मात्र ध्यान दिइरहेका छन्। कमाउने ठाउँ छाडेर मजदुरले घर्ने, सरकारले नीति बदलेर कतिबेला डुबाइदिन्छ भन्ने टुङ्गो नभएको क्षेत्रमा के लाग्लान् र उनीहरु! त्यसको सट्टामा मजाले मोटरसाइकल बेच्यो, कमायो, घुमफिर गर्यो। रमाइलो छ।

हामीले यसमा उनीहरुलाई जबरजस्ती गर्न पनि सक्दैनौँ। किनभने आफूले नसकेको काममा सन्तानलाई दबाव दिनु राम्रो पनि होइन। त्यसैले नयाँ पुस्ताले अहिले हिँडेको बाटोबाट बाहिर निकाल्न हामीले मात्र भनेर हुँदैन। राज्यले नै सकारात्मक र सरल नीति बनाएर उनीहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्छ।
 


राज्यको नीति सुधारमा त तपाइँहरु जस्ता दिग्गजले आवाज बुलन्द गर्नु पर्‍यो नि?
हो। बेला बेला बोलाएर व्यवसायी साथीहरुलाई भन्ने पनि गरेको छु- लौन आवाज उठाउनु पर्‍यो, कम्तिमा नीतिमा एक रुपता चाहियो भनेर। उनीहरु पनि मेरो साथ हुन्जेल त हवस भन्छन् फेरी छुटेपछि भुल्छन्। सधैं भरि कराइ रहन मेरो पनि समय हुँदैन। फेरि एक्लैले त के गर्न सकिन्छ र!

अर्कोतिर यस्ता सुधारका कुरा मैले २/३ बर्ष पहिले भनेको भए त यो राजाको पालाको मन्त्री, हामीलाई बिगार्न भन्यो भनेर बचन लगाइ हाल्थे। वास्तवमा म मन्त्री हुँदा कर प्रशासन सुधारका धेरै कार्यक्रम अघि सारेको थिएँ। अहिले ती कतिपय प्रावधान मेटाउँदै गएको छ सरकारले।
 
तपाइँको नजरमा कर नियम सम्बन्धि अहिलेको सबै भन्दा ठूलो समस्या के हो त?
कर कानुनमा भ्याट सम्बन्धी एउटा प्रावधान छ- मिसम्याच भन्ने। त्यो आफैंमा मिसम्याच हो। कहिल्यै पनि म्याच हुन सक्दै सक्दैन। किनभने त्यसमा बिक्रीको रिपोर्ट गर्ने चाहिँ अवधि छ महिना अनि खरिदको चाहिँ दुई बर्ष रहने प्रावधान छ।

अब क्रेताले आफ्नो फुर्सदमा जहिले पनि रिपोर्ट दिन सक्ने भयो। बिक्रेतालाई छ महिना भित्र गर्नै पर्ने दबाव हुन्छ। अनि कसरी म्याच हुन सक्छ? कसैले मसँग कुनै सामान खरिद गर्‍यो तर आफ्नो हिसाबमा देखाएन भने बिक्रेताको रुपमा मेरो टाउको दुखाइ किन हुनपर्‍यो?

अर्को समस्या दायित्वको सिमामा छ। भन्नलाई सिमित दायित्व भनिन्छ। तर, व्यवहारमा उद्योग ब्यवसाय गर्ने हरेकलाई असिमित दायित्व वहन गराइन्छ।

यी विषयमा एक्लै कराएर घाँटी मात्र सुक्ने हो। अहिले आएर मेरो जस्तै सोच राख्ने केहि साथी फेला पारेको छु। त्यसैले सायद अब चाहिँ हामी सामुहिक आवाज उठाउँछौँ होला।
 
हाम्रो नीति निर्माताहरुलाई पनि राम्रोसँग थाहा छैन कि के गर्यो भने के हुन्छ भन्ने कुरा, जस्तो तपाइँ अर्थराज्यमन्त्री हुँदा हरेक पसलमा बिलिङ सिष्टम लागु गर्नु भएको थियो। त्यसको नतिजा अहिले देखिन थालेको छ। आज पनि यस्ता सुधार गर्नु पर्ने कैयन क्षेत्र छन्। यस्ता विषयमा बाहिर रहँदा पनि तपाइँले निरन्तर बहस गर्नु पर्ने होइन?
साँच्चै भन्दा म एक्लै बोल्दा घाँटी सुक्ने भएकै कारण चुप बसेको हुँ। नत्र मलाइ 'क्रक्स' राम्रोसँग थाहा छ। हामीकहाँ भोली के होला भन्ने नसोची लोकप्रिय बन्न कानुन ल्याउने गरिएको छ। अहिले आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे धेरैले प्रश्न उठाउन थालेका छन्। तर, मैले त भ्रष्टाचार निवारण ऐन ल्याउँदा उतिबेलै भनेको थिएँ- यसले राम्रो नतिजा दिँदैन भनेर। अहिले त त्यो देखियो।

यस्तै अर्को खतरनाक ऐन सम्पत्ति शुद्धिकरण निवारणका लागि भनेर ल्याइएको छ। बिदेशीको पेलानका कारण दायाँ बायाँ नहेरी उक्त ऐन ल्याइएको छ। त्यसको कडाइका साथ कार्यान्वयन हुने हो भने नेपालमा जो पनि फस्न सक्छ। 

Share this Story

   

कमाउन हामीसँग अरु बिजनेश छन्, अस्पताल समाजसेवा गर्न खोलेका हौँ, रुप ज्योतिको अन्तर्वार्ता को लागी १ प्रतिक्रिया(हरु)

Apurba[ Jan 22, 2017 - 04:31 am ]
Grapes are Sour

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.