खोल्साको सुन अलैंचीको भाउ लगातार घट्दो, किन्ने ब्यापारी समेत गाउँ छिरेनन्

रासस
२०७३ मंसिर २० गते १२:५० | Dec 5, 2016
गोरखा । खोल्साको सुनको रुपमा पहिचान बनाएको अलैँचीको भाउ यो बर्ष लगातार घटि रहेको छ। विगतमा किलोको तीन हजार रुपैयाँ सम्ममा बिक्री भएपछि किसानले अलैंचीलाई खोल्साको सुन भन्न थालेका थिए। 
 
तर, यो बर्ष दुई तिहाइ भन्दा धेरैले भाउ घटि सकेको छ। मूल्य घटेपछि गतवर्ष किसानका घरघरै आउने व्यापारीको समेत यसपाली चहल पहल छैन।

Tata
GBIME
Nepal Life


 

जिल्लाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिन्छ। गत बर्ष गाउँमै ब्यापारी आएर अलैंची उठाए पनि यसपाली बिक्री नभएको हंशपुर- ४ का विष्णुहरी अधिकारीले बताए। 
 
गतवर्ष पूर्वी नेपालको झापा, इलामलगायत क्षेत्रबाट आउने व्यापारीले स्थानीय व्यापारीसँग मिलेर जिल्लामा अलैँची खरिद गरेका थिए।
 
भूकम्पले जमिनको माटो हल्लाएको र चिस्यान हराउँदै गएको हुँदा गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादन समेत घटेको किसान बताउँछन् । 
पछिल्ला बर्षमा अलैँचीको मूल्य लगातार उकालो लागेपछि किसानले धान फल्ने खेत समेत मासेर यसको बिरुवा रोपेका थिए।
 
गतवर्ष सजिलै प्रतिकिलो दुई हजार ५०० रुपैयाँमा बिकेको अलैंचीलाई अहिले एक हजार ५०० हाल्न समेत व्यापारी तयार नभएको किसानहरु बताउँछन्।
उत्पादन भएको अलैँची बिक्री गर्न जिल्ला कृषि विकास कार्यालयले कुनै पहल नगरेको उनीहरुको गुनासो छ । 
 
कृषि कार्यालय प्रमुख यमकुमार श्रेष्ठले गत वर्ष अलैँची बिक्री वितरणमा कुनै पनि समस्या नरहेको हुँदा यसवर्ष पनि ढिलोचाँडो बिक्ने बताए। उनले अलैँची बिक्रीका लागि कार्यालय किसान र व्यापारीबीच पुलको काम गरि रहेको दावी गरे।