दश अर्वको पोर्टफोलियो म्यानेज गर्ने श्रेष्ठ भन्छन्, बजार अनुमान चल्थ्यो भने सबै अर्बपति बन्थे


नेपालको पुरानो व्यवसायिक घरानामध्ये एक इन्द्रभक्त श्रेष्ठका दुई छोरा छन्, जेठा भारतभक्त श्रेष्ठ कान्छा रविभक्त श्रेष्ठ। कान्छा रविभक्तले भारतीय ज्वाइन्टभेञ्चर युनिलिभरमा साझेदारी गरेका छन्। जुन कम्पनीको सेयर नेपालको स्टक बजारमा सबैभन्दा महँगो मूल्यमा खरिद बिक्री हुन्छ।
 
रविभक्त होटल सोल्टीमा साझेदार छन्। उनले सोल्टी र नेपालका एक मात्रा डलर अर्बपति विनोद चौधरीसँग साझेदारी गरेर चार होटल खोल्दैछन्। होटल समिटमा पनि श्रेष्ठले चौधरीसँग साझेदारी गरेका छन्। त्यसबाहेक कफि चेनदेखि रोग निदान गर्ने ल्याबसम्म उनको लगानी छ। पर्यटक बसदेखि बैंक, इन्सुरेन्स हुँदै रियलस्टेटसम्म दर्जनौं कम्पनीमा रविभक्तको लगानी छ। अर्बौ रुपैयाँको प्रोटफोलियो।
 
तर उनै इन्द्रभक्तका जेठा छोरा भारतभक्तको भने नेपालमा कतै चर्चा हुँदैन्। केही साता अघि पिता इन्द्रभक्तको जन्म जयन्तीमा भेटिएका उनले एक कार्यक्रममा शानदार भाषण दिए। उद्योगी र व्यापारीहरुको ठूलो जमातबीच उनले आफ्ना पिताका विषयमा फरक ढंगले सबैको 'एटेन्सन क्रियट' गरे। आखिर यस्ता दमदार व्याक्ति कहाँ छन्? 
 


पहिले इन्जिनियरिङ
जतिवेला म अमेरिका जाँदै थिएँ, त्यतिवेला नै हाम्रो बिजनेस ठूलो भै सकेको थियो। बिजनेस हाउसको जेठो छोरा अमेरिका जाने भनेपछि धेरैले मेरो बुबा इन्द्रभक्त श्रेष्ठलाई सम्झाए पनि। बुबाको भित्री चाहना पनि छोराले बिजनेश हेरोस भन्ने थियो।
 
तर मैले पढ्न जान्छु भनेर जिद्दी गरें। उहाँ कन्भिन्स हुनुभयो, कसैका कुरा सुन्नु भएन्। म अमेरिका पुगेर इन्जिनियरिङ पढें। युनिभर्सिटी अफ डेट्रोइट मर्सिबाट सन् १९६९ मा सिभिल इन्जिनियरिङमा बिएस गरें। पछि १९७१ मा एमआईटिबाट सिभिल इन्जिनियरिङमा एमएस गरें।
 
त्यसपछि नेपाल फर्किएँ। फेरी पनि बुबाको चाहना थियो छोराले बिजनेस सम्हालोस्। तर मलाई बिजनेशमा चाहना भएन। मैले जागिर गर्ने निर्णय गरें र इन्जिनियरका रुपमा सडक विभाग ज्वाइन गरें।
 
सडक विभागमा दुई महिना काम गरें। थापाथलीमा राम भण्डार नजिक कार्यालय थियो। अमेरिकामा पढेर आएको युवा उमेर काम गर्ने जोश थियो। तर दुई महिनामा एउटा पनि खास काम पाइएन्। कार्यालय गयो, घाम ताप्यो फेरी राम भण्डारमा पुगेर चिया चना खायो।
 
काममा 'हार्डवर्क' नभएपछि मलाई जागिरदेखि दिक्दारी लाग्यो। मैले फेरी अमेरिका जाने निर्णय गरें। त्यसपछि कोलोम्बिया युनिभर्सिटीमा व्यवस्थापनमा ज्वाइन गरें। सन् १९७४ मा एमबिए गरेपछि मेरो जीवनले युटर्न लियो।
 
फेरी पनि पछुतो छैन्
दोस्रो पटक अमेरिका जाने निर्णय सुनाउँदा बुबाको फेरी पनि भित्री चाहना छोरो नेपालमै बसोस् भन्ने थियो। उहाँका साथीभाईहरुले पनि अमेरिका नपठाउन सुझाव दिएका थिए। तर यसपटक पनि बुबाले मलाई सहजै अमेरिका जाने अवसर दिनुभयो। मेरो बाबु मात्रै होइन कसैका बाबुका लागि उसको छोरा देश फर्किएर आए हुन्थ्यो, भन्ने हुन्छ। तर मलाई अमेरिकाको हावापानी लाग्यो।
 
आज अमेरिका पुगेको ५२ वर्ष पुग्यो। मैले बुवालाई उतै सेटल हुने निर्णय दिएँ, त्यसमा पनि बुबा ओके हुनुहुन्थ्यो। म आज फर्किएर सोंच्चु मेरो बुबा 'अमेजिङ' हुनुहुन्थ्यो। मेरा बच्चाहरु पनि त्यहिं जन्मिए। उनीहरुले राम्रो गरेका पनि छन्। 
 
 
नेपालमा म एक्लो छोरो भएको भए परिवारका लागि डिजास्टर हुन्थ्यो। हामी दुई भाई थियौं। धेरैको धेरै विचार हुन सक्छ। तर मेरो बिचारमा रविले नेपालमा धेरै राम्रो काम गरेका छन्। उनीमाथि म गर्व गर्छु, धेरै धेरै खुशी।
 
 
कहिले काहिं मनमा प्रश्न उठ्दैन नेपाल नछाडेको भए...
मलाई मेरो मनले होइन, यो प्रश्न शुभचिन्तकले सोध्छन्। त्यसपछि म जवाफ खोज्छु। यदी मैले अमेरिकामा आज पनि संघर्ष गरिरहेको हुने थिएँ, भने कुरा फरक हुन सक्थ्यो। तर तपाईंलाई सही भन्छु। मेरो मनमा यो प्रश्न उठ्दै उठ्दैन्, नट रियल्ली। 
 
नेपालमा हाम्रो व्यवसायिक घराना धेरै सफल भएको छ। म यहाँ भएको भए, फिस आउट अफ वाटर पनि हुन सक्थें। 
 
एमआइटीबाट इन्जिनियर गरिसकेपछि लाग्यो, इन्जिनियर चलाउने व्यवस्थापनले हो। कोलोम्बियाबाट एमबिए गरेपछि मैले एक्जोन मोविल कर्पोरेशनमा काम गरें। विश्वको सबैभन्दा ठूलो कर्पोरेशनमा काम जीवनका लागि एउटा राम्रो र ठूलो अनुभव। 
 
व्यक्तिको फरक सोंच हुन सक्छ। तर मलाई त्यही जागिरले खुशी दियो। सबै कुरा लगेर सम्पत्ती सिर्जनामा जोड्नु हुँदैन्। सम्पत्ती सिर्जना भए खुशी हुने, जीवनलाई सार्थक मान्ने दृष्टिकोण मात्रै राख्नु हुँदैन्। मलाई मेरो बुबा भन्नुहुन्थ्यो तिमी जसरी खुशी हुन सक्छौ, त्यसरी काम गर। तिमी त्यहाँ रहेर नै खुशी बन।
 
विनोद चौधरी, मभन्दा युवा छन्, उनी मलाई ह्युस्टनमा भेट्न आउँछन्। म उनका लागि पनि खुशी छु। 
 
 
चिन्ता नेपालको लाग्छ नै
नेपालको विषयमा मैले धेरै बोलिहाल्नु त्यति उचित होइन्। तर नेपालको अवस्था देखेपछि मनले मान्दैन पनि। सडक विभागमा दुई महिनाको मेरो त्यो अनुभव अहिले पनि उस्तै लाग्छ, नेपालमा धेरै गफ हुन्छ काम कम।
 
मेरो अमेरिकाको अनुभवले के भन्छ भने जब प्राइभेट संस्थालाई सरकारले प्राथमिकता दिन्छ तव मात्रै देशले सफलता प्राप्त गर्ने हो। त्यसो हुँदा नेपालमा धेरै रोजगारीको  सिर्जना पनि हुन्छ।
 
एक जना २० वर्षको भारतीय युवा होला, सिएनएनमा भन्दै थियो, म अमेरिकामा किन छु भने मलाई बिजनेस गर्न मन लाग्यो भने म आज फर्म भर्छु, भोलीदेखि बिजनेशमा हुन्छु। भारतमा हुनुहुन्छ भने लाइसेन्स लिनुपर्यो, प्रक्रिया पुर्याउँदा पुर्याउँदा कयौं महिना वितिसक्छ। भारतमा जे अवस्था छ, नेपालमा पनि त्यही हो। 
 
मैले रविलाई पनि भन्छु, तिमीहरुको त प्रधानमन्त्री, देशका ठूला ठूला नेतासँग भेट भैरहेको हुन्छ। उनीहरुलाई भन न देश विकास गर्ने हो भने धेरै कुरा प्राइभेटाइज गर्नुपर्छ भनेर। सरकारले बिजनेश पिपुललाई भ्यालु गर्नुपर्छ भनेर। बिजनेस पिपुललाई जबदेखि भ्यालु हुन्छ, त्यसपछि रोजगारीको सिर्जना हुन्छ। इकोनोमिक प्रोग्रेस हुन्छ।
 
 
बिजनेसमा इन्ट्रेष्ट
इन्जिनियरलाई काम गर्न बिजनेशम्यानले हायरिङ गर्छन। उनीहरुले नै ठूला डिसिजन लिन्छन। इन्जिनियरिङ पढेर त्यो चेत खुलेपछि मैले बिजनेश पढें। पछि मलाई इन्जिनियरिङ भन्दा फाइनान्समा बढी रुची पनि भयो। 
 
त्यसपछि म फाइनान्सको दुनियाँमा प्रवेश गरें। मलाई फाइनान्स, इन्भेष्टमेन्ट र स्टक मार्केटले आकार्षित गर्यो। २००९ मा एक्सोन मोविलबाट रिटार्यड भएँ। त्यसपछि फाइनान्सियल मार्केटका विषयमा अलि बढि रिसर्च गर्न थालें। साथी अल्फ्रेड मार्स सान्डर्ससँग मिलेर भ्यालुड रिटायर्डमेन्ट कम्पनी स्थापन गरेका छौं। 
 
यो कम्पनीले अवकाश प्राप्त व्याक्तिहरुको १० करोड डलर(दश अर्व रुपैयाँ)को फण्ड म्यानेज गर्छ। हामीले म्यानेज गर्ने फण्ड रिटायर्डहरुले अवकासपछिको जीवन धान्ने पैसा हो। त्यसैले यो फण्ड चलाउँदा हामी बढी सचेत हुनुपर्छ।
 
 
त्यसो भए त सबै अर्बपति बन्थे
हामीसँग भएको फण्ड हामीले स्टक, म्युचुअल फण्ड र रियलस्टेट इन्भेष्टमेन्ट ट्रष्टमा लगानी गर्छौं। लगानीका लागि हामी सबै लगानीकर्तासँग व्याक्तिगत रुपमा कुराकानी गर्छौं। उनीहरुको जोखिम धान्ने क्षमता कति छ त्यो हेर्छौं। 
 
हामीलाई लगानी गर्ने केहीको जोखिम बहन गर्ने क्षमता बढी हुन्छ। उनीहरुको पैसा लगानीका लागि हामीले स्टकमा ध्यान दिन्छौं। किनभने स्टकको अप एण्ड डाउनले उनीहरुलाई कुनै फरक पर्दैन्।
 
केहीको जोखिम बहन गर्ने क्षमता ज्यादै न्युन हुन्छ। उनीहरुको लगानी हामी युएसको ट्रेजरी बोन्डसमा लगानी गर्छौं। यहाँ गरिएको पैसा कहिल्यै पनि गुम्दैन्। सेयर बजार तल माथि भए पनि लामो समयमा सबैभन्दा राम्रो रिर्टन स्टक मार्केटले नै दिन्छ। अमेरिकामा व्याज एक प्रतिशतभन्दा पनि तल छ। बैंकमा पैसा राख्नुको अर्थ हो पैसा गुमाउनु। अमेरिकामा त्यो अझ बढी जोखिमपूर्ण छ।
 
 
हामीसँग भएको फण्डको एसेट एलेकोशन मोर्डरेट छ। हामी ५० देखि ६० प्रतिशत मुयचुअल फण्डको इक्वीटीमा लगानी गर्छौं। १० प्रतिशत बोन्डमा, त्यस्तै दश प्रतिशत रियलस्टेट इन्भेष्टमेन्टमा र बाँकी सुन जस्ता उपकरणमा। यस्तोमा एउटा तल जाँदा अर्को माथि जान्छ। यसले सन्तुलन पनि बनाउँछ।
 
योङमा लिनुस रिस्क
फण्ड म्यानेजमेन्टमा कोही योङले लगानी गरेको छ भने उसको लामो समयको होराइजन हुन्छ। उसले जोखिम पनि लिन सक्छ। उनीहरुका लागि हामीले बायोटेक्नोलोजीका स्टक किन्दिन्छौं। जहाँ धेरै सम्भावनाहरु हुन्छ। 
 
यदी त्यसभन्दा माथिको जोखिम उठाउने हो भने त्यो जुवा हो। त्यसका लागि लसभेगास छँदैछ। स्टक मार्कटको सुत्र हो, तपाई जति लामो समय बजारमा टिक्न सक्नुहुन्छ। तपाई त्यति धेरै नै पैसा कमाउनुहुन्छ। तर यो बजारमा सबैले भविष्य अनुमान गर्न सक्दैन्। अनुमान गर्न सक्थे भने, आज सबै जना अर्वपति हुन्थे।
 
 
तर सेयर म्याजिक होइन्
नेपालको बजारका विषयमा मलाई त्यति थाहा छैन्। तर अमेरिका बसे पनि हामी भारतको सेयर बजार भने हेर्छौं। जहाँ जे भए पनि बजार कसरी जान्छ, थाहा हुँदैन्। अमेरिकाको कुरा गर्दा अर्थतन्त्र कता जाँदैछ र त्यसले स्टक मार्केटलाई कसरी प्रभाव पार्छ भन्ने बुझ्न जरुरी हुन्छ। त्यसैगरी फेडरल रिजर्भले व्याजदर कसरी तय गर्छ त्यसले पनि असर पार्छ। 
 
हामी संधै क्लाइन्टलाई भन्छौं, धैर्य गर्नुस र लामो समयको प्रतिक्षा। बजारमा संधै अप्स एण्ड डाउन हुन्छ। तल झर्दा प्यानिक हुन जरुरी छैन्। तल झर्छ भन्नुको अर्थ हो त्यो फेरी माथि पनि जान्छ। 
 
जब मुनाफा हुन्छ। तब त्यसलाई रिव्यालेन्स गर्नुस। मुनाफाबाट आफ्नो भाग लिनुहोस्। स्टक बजारमा डन्ट बि ग्रीडी। आखिरमा स्लो एण्ड स्टडी विन्स द रेस। किनकि सेयर बजार म्याजिक होइन्।


Share this Story

   

दश अर्वको पोर्टफोलियो म्यानेज गर्ने श्रेष्ठ भन्छन्, बजार अनुमान चल्थ्यो भने सबै अर्बपति बन्थे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.