यसरी भाँडियो सर्वपक्षीय राजनीतिक सभा, नेकपा-माओवादी सहभागि नभएपछि सभा राेकियो

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
यसरी भाँडियो सर्वपक्षीय राजनीतिक सभा, नेकपा-माओवादी सहभागि नभएपछि सभा राेकियो

काठमाडौँ  । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहित संविधान सभा बाहिर रहेका दलहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने तीन महिनादेखिको प्रयास अन्तिम समयमा आएर भाँडिएको छ।  

Tata
GBIME
Nepal Life

आज हुने भनिएको सर्वपक्षीय राजनीतिक सभामा माओवादीसहित ३३ दलको मोर्चाले सहभागी नहुने औपचारिक निर्णय गरेको पहिलोपोस्ट अनलाइनले लेखेको छ। 

आज बिहान नेकपा-माओवादीको पदाधिकारी बैठकपछि केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो।

'शान्ति प्रक्रिया, राष्ट्रिय महत्वका विषय र संविधानका अन्तर्वस्तुमा राजनीतिक सभामा छलफलै नगर्ने प्रमुख दलको अडानका कारण सभामा जानुको औचित्य नरहेको ठहर गर्‍यौँ', नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले बताए। 

सम्लेलन स्थगित भएको बारे प्रधानमन्त्रीले प्रतिक्रिया दिँदै भने, 'हामीले सम्मेलन गर्न खोजेका हौं। पुरा तयारी सकिएपछि उहाँहरु आउनुभएन। किन सम्मेलन भएन भनेर उहाँहरूलाई सोध्नुस्।' तपाइँहरुले देखावटी सम्मेलन गर्न खोज्नुभयो भन्ने आरोप लायो नि मोर्चाले भन्ने प्रश्नमा प्रधानमन्त्रीले नयाँ वानेश्वरको ल्होत्से हलतिर देखाउँदै भने, 'यो देखावटी हो?' अब सम्मेलन हुन्छ कि हुँदैन त भन्ने प्रश्नमा उनले भने, 'यो हामीलाई हैन उहाँहरुलाई सोध्नुस्।'

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा-माओवादीसहितको मोर्चा सम्मेलनमा नअाएपछि सम्मेलन रोकिएको बताए। 'उहाँहरुले यो राम्रो गर्नुभएन,' पौडेलले भने, 'अब के को सम्मेलन वा वार्ता? केही पनि हुँदैन।'

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि नेकपा-माओवादी मोर्चा सम्मेलनमा नआएर गल्ती गरेको बताए। 'उहाँहरु छलफलमा नआएर नकाम गर्नु भयो,' ओलीले भने, 'यसले संविधान निर्माण प्रक्रियामा जान रोक्दैन।'

यसरी भाँडियो सम्मेलन
आज बिहान साढे आठ बजेदेखि संविधान सभाको ल्होत्से हलमा सम्मेलन गर्ने, त्यसमा कुन दलका कति सदस्य सहभागी हुने, कति मिनेट बोल्ने सबै कार्यविधि निर्क्यौल भइसकेको थियो।

सम्मेलन (सभा) मा चार दलबाट पाँच पाँच तथा अन्य दलबाट एक एक नेता सहभागी हुने कार्यविधि तय गरिएको थियो। 

यसअघि मितिमा नै विवाद भएको थियो। वैद्य माओवादीले असोज लागेपछि मात्र सम्मेलन गर्नुपर्ने अडान राखेको थियो। प्रधानमन्त्री सुशील कोइराला असोज ३ देखि विदेश भ्रमणमा जाने भएकोले सम्मेलन आजको मितिमा गर्न माओवादी राजी भएको थियो। 

तर सम्मेलनको एजेन्डामा भने सहमति हुन सकेको थिएन। 

गएराति र आज बिहान पनि  प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार दलको बैठकमा नेकपा-माओवादीले शान्ति प्रक्रिया, संविधानका अन्तर्वस्तु र संक्रमणकालीन राजनीतिक व्यस्थापनका विषयलाई चार दलीय सहमतिमा राख्‍नै पर्ने अडान राखेको थियो।  यसलाई सत्तारुढ दलले अस्वीकार गरेपछि कुरा मिल्न सकेको थिएन। 

नेकपा-माओवादीका नेता त्यसपछि आफ्नो पार्टीको पदाधिकारी बैठकले सम्मेलनबारे निर्णय गर्ने भन्दै बाहिरिएको थियो।

बैठकपछि माओवादीले ३३ दललाई बालुवाटार बैठकबारे ब्रिफिङ गरेपछि सभामा सहभागी नहुने औपचारिक निर्णय मोर्चाले लियो।

वैद्य बिना सभा ?
उता, संविधान सभा भवन नयाँ बानेश्वरमा भने तीन दलका केही नेताहरु भेला भइसकेका थिए। सम्मेलन हुने स्थानमा सञ्चारकर्मीहरुलाई जान दिइएको थिएन।  

सत्तापक्षले वैद्य माओवादी बिना पनि सभा गर्ने अभिव्यक्ति दिएको थियो। यद्यपि त्यसले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउने जुन उद्देश्यले सभाको आयोजना हुन लागेको हो, त्यो पूरा नहुने निश्चित थियो।  

३३ दलको निर्णय आउनुअघि एमालेका प्रमुख सचेतक अग्नि खरेलले भनेका थिए, 'उहाँहरुले समय माग्नुभयो। समय नदिने कुरा भएन। हामी उहाँहरुलाई कुरिबसेका छौँ, उहाँहरु नआउनु भए पनि सम्मेलन हुन्छ।'  

३३ दलको निर्णयपछि एमाओवादी नेता बाबुराम भट्टराईले सम्मेलन हुन नसकेको ट्विट गरेका छन् .