विदेशी लगानी स्वीकृतिका लागि अब कार्यालय धाउनु नपर्ने, अटोमेटिक रुट कार्यान्वयनमा

बिजमाण्डू
२०८१ बैशाख १७ गते १६:१८ | Apr 29, 2024
विदेशी लगानी स्वीकृतिका लागि अब कार्यालय धाउनु नपर्ने,  अटोमेटिक रुट कार्यान्वयनमा
लगानी स्वीकृतिको पत्र दिंदै उद्योगमन्त्री दामोदर भण्डारी

काठमाडौं। अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा ल्याइएको छ।

Tata
GBIME
Nepal Life

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमा भएको व्यवस्था अनुसार स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने प्रणाली लगानी सम्मेलनका अवसरमा सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो।

स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्ताको समय र खर्चको बचत हुने छ। सरकारले यसलाई लगानीको वातावरण भनेको छ।

उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने गरी विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको हो।

विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट आवेदन दिई लगानी स्वीकृति गरिएको पत्र ईमेलमार्फत आवेदन दिने बित्तिकै प्राप्त गर्ने सक्ने र सोही आधारमा कम्पनी दर्ता गर्न सक्ने विभागले जनाएको छ।

विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेस गर्न सकिनेछ।

स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति गराउन चाहनेले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लग इन गरी सो प्रणालीले माग गरे बमोजिम विवरण तथा कागजात प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।

त्यसपछि प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बर सहितको निजको लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) दिइने विभागले जनाएको छ।

स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायको विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था छ। सूचना प्रविधिमा आधारित उद्योगका हकमा भने स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ मा शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको कम्पनीले पूँजी वृद्विका लागि स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था छ।

विभागले ९ अर्ब १३ करोडको विदेशी लगानी स्वीकृत गरी सोमबार तीन लगानीकर्तालाई पत्र हस्तान्तरण गरेको छ। उद्योगमन्त्री दामोदर भण्डारीले पत्र हस्तान्तरण गरेका हुन्।