काठमाडौं। चालु आर्थिक बर्षको आर्थिक बृद्धि दर ५.८९ प्रतिशत हुने भएको छ। केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्बजनिक गरेको छ।
यो पनि पढ्नुस्: आर्थिक वृद्धिदर बढाउन तथ्यांक विभागलाई अर्थमन्त्रालयको दबाब, कसरी बढाउने भनेर मन्त्रै सिकायो
बुधबार तथ्यांक सार्बजनिक गर्दै विभागले प्रति ब्यक्ति आम्दानी १ हजार डलर पुगेको जनाएको छ। सरकारले चालु आर्थिक बर्षको बजेटमा ७.२ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेको थियो।
मध्यावधि समिक्षामा त्यसलाई घटाएर ६ प्रतिशतमा झारिएको थियो। विभागले भने ५.८९ प्रतिशत मात्र हुने विवरण सार्बजनिक गरेको छ। यसअघि अर्थमन्त्रालयले आर्थिक बृद्धि ६ प्रतिशत हाराहारी पुर्याइ दिन विभागलाई दवाव दिएको समाचार सार्बजनिक भएको थियो।
विभागले साढे पाँच प्रतिशतभन्दा केही कम हुने जानकारी मन्त्रालयलाई गराएको तर मन्त्रालयले भने ६ प्रतिशत हाराहारी देखाउन दवाव दिएको थियो। एसियाली विकास बैंकले आर्थिक बृद्धि ४.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको थियो भने विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने जनाएको थियो। विभागले गत आर्थिक बर्षको बृद्धि दर ७.३९ प्रतशित पुगेको जनाएको छ। यसअघि उसले ६.९ प्रतिशत पुगेको जनाएको थियो।
यसपाली कृषिको बृद्धि दर २.८२ प्रतिशत र गैरकृषिको बृद्धि दर ७.१ प्रतिशतले बढेको छ। अब अर्थतन्त्रको कारण ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। धान र दलहन बालीको उत्पादन कम हुँदा आर्थिक बृद्धिमा असर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। विद्युत र पानीजन्य क्षेत्र पनि कमजोर रहेको विभागले जनाएको छ।
गत बर्ष १०५ डलरले बढेर ८६२ अमेरिकी डलर पुगेको नेपालीहरुको प्रति ब्यक्ति आम्दानीमा यसपाली थप सुधार आएको छ। केन्द्रीय तथ्यांक विभागले प्रति ब्यक्ति आय १००४ अमेरिकी डलर पुगेको विवरण सार्बजनिक गरेको छ।