मनाङ एयरको निलम्बन फुकुवामा क्यानको अस्वाभाविक ढिलाइ, नयाँ हेलिकोप्टरले पाएन उडान गर्न

वसन्तराज उप्रेती
२०८१ बैशाख २० गते १५:१७ | May 2, 2024
मनाङ एयरको निलम्बन फुकुवामा क्यानको अस्वाभाविक ढिलाइ, नयाँ हेलिकोप्टरले पाएन उडान गर्न

काठमाडौं। मनाङ एयरले गत चैत पहिलो साता नयाँ हेलिकोप्टर किन्यो। एयरबस कम्पनीको बीथ्रीई सिरिजको नयाँ हेलिकोप्टर खरिदमा कम्पनीले भ्याटसहित करिब ४६ करोड रुपैयाँ खर्च गर्‍यो।

Tata
GBIME
Nepal Life

हेलिकोप्टर चैत ७ गते त्रिभुवन विमानस्थल आइपुग्यो। तर कम्पनीले अझै यो हेलिकोप्टरबाट उडान गरेको छैन।

किन त?

कम्पनीका सुरक्षा प्रवन्धक राजु न्यौपानेले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आवश्यक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले हेलिकोप्टर उडाउन नपाएको बताए।

‘हामी अहिले क्यानको प्रक्रियामै छौं,’ प्रबन्धक न्यौपानेले भने, ‘निलम्बन फुकुवाको प्रक्रिया पूरा भएपछि उडान गर्ने टुंगो लाग्छ।’

मनाङ एयर ६ महिनाअघि निलम्बनमा परेको थियो। गत वर्ष उसका दुई हेलिकोप्टर दुर्घटनामा परेका थिए। गत असार अन्तिम सातामा सोलुखुम्बुको सुर्केबाट काठमाडौंमा उडान गर्ने क्रममा कम्पनीको नाइन एन-एमभी कलसाइनको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो।

त्यसको अनुसन्धान नसकिंदै असोज २७ गते मनाङ एयरकै ९ एन-एएनजे कलसाइनको हेलिकोप्टर लुक्ला-लोबुचे उडानका क्रममा दुर्घटनामा परेको थियो। त्यसपछि क्यानले कम्पनीको उडान इजाजत पत्र (एओसी) नै निलम्बन गरेको थियो।

तत्कालका लागि भनेर निलम्बन गरिएको एओसी क्यानले अझै फुकुवा गरेको छैन। कम्पनीले नयाँ हेलिकोप्टर किनेर ल्याउनेवित्तिकै एओसी फुकुवाका लागि निवेदन दिएको थियो।

क्यानले निलम्बन फुकुवामा ढिलाइ गर्दा मनाङ एयरले डेढ महिनामा करिब ४ करोड रुपैयाँ आम्दानी गुमाएको छ। हेलिकोप्टरका लागि अहिले कमाउने सिजन हो।

न्यौपानेका अनुसार हेलिकोप्टरले सिजनमा मासिक १०० घण्टा उडान गर्ने क्षमता राख्छ। क्यानले अनुमति नदिंदा हेलिकोप्टरले १५० घण्टाको उडान अवसर गुमाइसकेको छ।

६ महिनायता उडान ठप्प रहेपनि कम्पनीले आफ्ना ६० जना कर्मचारीलाई भने नियमित रुपमा तलब खुवाइरहेको छ।

क्यानले एक साताभित्र निलम्बन फुकुवा गरी नयाँ हेलिकोप्टरलाई उडान अनुमति दिने कम्पनीको विश्वास छ। ‘हामीले सबै कागजात क्यानमा यसअघि नै बुझाइसकेका छौं। अबको एक साताभित्र अनुमति पाएर व्यावसायिक उडान गर्न पाउँछौं कि भन्ने लागेको छ,’ न्यौपानेले भने।

स्रोतका अनुसार क्यानका अधिकारीले निलम्बन चाँडै फुकुवा गर्ने आश्वासन दिएपछि कम्पनीले नयाँ हेलिकोप्टर किनेको हो। त्यो हेलिकोप्टर क्यानमा यसअघि नै दर्ता भइसकेको छ।

क्यानका अधिकारीले मनाङ एयरको निलम्बन फुकुवा प्रक्रियामा रहेको बताएका छन्। ‘मनाङको नयाँ हेलिकोप्टर आइपुगे लगत्तै हामीले निलम्बन फुकुवा प्रक्रिया अगाडि बढाएका थियौं। तर पूरा भएको छैन, ‘क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘नयाँ हेलिकोप्टर दर्ता भइसकेको छ। तर यसको एयर वर्दिनेस इस्यु हुन बाँकी छ।’

निलम्बन फुकुवाका साथै एयर वर्दिनेस सर्टिफिकेट नपाएसम्म कम्पनीले उडान गर्न पाउँदैन। ‘सर्टिफिकेसन जारी भएपछि उसले व्यावसायिक उडान गर्न पाउँछ। अब एक महिना जति लाग्ला,’ भुलले भने।

क्यानले निलम्बन फुकुवा गरी उडान अनुमति दिन ढिलाइ गरेकामा स्वाभाविक मानिएको छैन। ‘नियामकले डेढ महिनासम्म प्रक्रियाका नाममा अल्झाएपछि सेवा प्रदायकले कुन मनोबलले काम गर्ने,’ एक हेलिकोप्टर कम्पनीका सञ्चालकले भने, ‘प्रक्रियाका नाममा व्यवसायीलाई अल्झाउने काम राम्रो भएन। कि त सेवा दिन नपाउँदा गुमेको आम्दानीको क्षतिपूर्ति दिने व्यवस्था हुसनुपर्‍यो।’

मनाङ एयर भने निलम्बन फुकुवा नहुँदै अर्को हेलिकोप्टर पनि भित्र्याउने योजनामा छ। उसले जुन महिनामा एयरबस कम्पनीकै अर्को हेलिकोप्टर ल्याउने तयारी अगाडि बढाइसकेको छ।