काठमाडौं। सानिमा बैंकले चालु आर्थिक बर्षको चैतसम्म २४ प्रतिशतले नाफा बढाएर नौं महिनामै अर्बपति क्लवमा प्रवेश गरेको छ। बैंकले एक अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ। गत आर्थिक बर्ष नाफा ९४ करोड ६९ लाख रुपैयाँ थियो।
बैंकले खुद ब्याज आम्दानी २ अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको छ। विदेशी तथा स्वेदशी निक्षेप ७१ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेर ६४ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको कर्जा प्रवाह रियलस्टेट र व्यक्तिगत घरजग्गाका साथै ओभर ड्राफ्ट र आवधिकमा बढाएको छ।
८ अर्ब रुपैयाँ चुक्ता पूँजीको बैंकसँग जगेडा कोषमा २ अर्ब २५ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात १३.१५ प्रतिशत छ। खराब कर्जा एक वर्षमा ०.०४ प्रतिशतबाट बढेर ०.१७ प्रतिशत पुगेको छ। उच्च ब्यादरको दवावमा पनि बैंकको आधार व्याज दरमा ठूलो अन्तर देखिँदैन।
गत बर्षको आधार व्याजदर ९.११ प्रतिशतबाट १०.६३ प्रतिशत पुगेको छ। चुक्ता पूँजी ३३ प्रतिशतले बढाएको बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँले मात्रै घटेर २० रुपैयाँ कायम गर्न सफल भएको छ।