वीरगंज । पर्सा प्रहरीले वीरगंजको शिखर होटलमा अबैध क्यासिनो सञ्चालन गरी जुवा खेलि रहेका दुई महिला सहित छ जनालाई पक्राउ गरेको छ।
वीरगंज–१६ रजतजयन्ती स्थित शिखर होटलमा कोठा बुक गरी जुवा खेलि रहेको अवस्थामा फेला परेपछि प्रकाशपुर नगरपालिका–७ बस्ने आकृति बस्नेत, सर्लाही भक्तीपुर नगरपालिका –७ की अनिता कार्की, कंचनपुर बेतकोट नगरपालिका–५ का रमेश भट्ट, बैतडी दशरथ नगरपालिका –८ का गगनसिंह थापा, वीरगंज–६ कुमालटोलका लक्ष्मी राम, पर्सा विन्दवासिनी–४ अमरपट्टिका मनोजकुमार चौरसिया पक्राउ परेका हुन्।
गोप्य सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिस कर्णको कमान्डमा गएको टोलीले बुधवार राती १० बजे होटलको तेस्रो तल्लाको एउटा कोठाबाट ४० हजार नगद र जुवा खेल्ने सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए।
प्रहरीले क्यासिनो खोल्ने बोर्ड, क्यासिनो खेलमा प्रयोग हुने आधा बोरा क्वाइन समेत बरामद गरेको छ। उनीहरुमाथि बिहीवार जुवा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ।
यसैबीच, पर्सा प्रहरीले वीरगंज–१० घडिअर्वाबाट जुवा खेलिरहेको अवस्थामा चार जना र घण्टाघर बजारबाट तीनजना गरी थप सात जनालाई पक्राउ गरेको छ।