क्लोज आउट संख्या एकै महिनामा २२ लाख ३१ हजार, लगानीकर्ताले कति तिरे जरिवाना ?

आकाश बोगटी
२०८१ बैशाख १९ गते १२:५२ | May 1, 2024
क्लोज आउट संख्या एकै महिनामा २२ लाख ३१ हजार, लगानीकर्ताले कति तिरे जरिवाना ?

काठमाडौं। आईपीओमा लगानी गर्ने धेरै लगानीकर्तासँग सेयर बिक्रीपछि आफूले गर्नुपर्ने कामबारे जानकारी नै नरहेको पाइएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांकले धेरै लगानीकर्तासँग आधारभूत ज्ञान नरहेको देखाएको छ।

Tata
GBIME
Nepal Life

सेयर बिक्री गरेपछि समयमै ईडीआईएस (ट्रान्सफर) नगर्दा यो वर्ष ९ महिनामा २७ लाख ६९ हजार ३०४ कारोबार क्लोजआउटमा परेको छ। यो संख्या गत वर्ष ९ महिनामा ३ लाख ८५ हजार २०६ थियो।

के हो क्लोज आउट समस्या ?

लगानीकर्ताले आफूले बिक्री गरेको सेयर समयमै ट्रान्सफर गर्नुपर्छ। कुनै लगानीकर्ताले आज बेचेको सेयर पर्सिपल्ट अपराह्‍न १२ बजेभित्र ट्रान्सफर नगरे क्लोज आउटमा परिन्छ।

मेरो सेयर र डिम्याट खाता नवीकरण नगरी एकाएक सेयर बिक्री गर्दा पनि ट्रान्सफर गर्न समस्या भइ क्लोज आउटमा परिन्छ। क्लोज आउटमा पर्ने लगानीकर्ताले कारोबार रकमको २० प्रतिशत पेनाल्टी तिर्नुपर्छ।

क्लोज आउट संख्या अत्यासलाग्दो

यो वर्ष ९ महिनामा भएको २७ लाख ६९ हजार ३०४ क्लोज आउटमध्ये २२ लाख ३१ हजार २५३ कारोबार माघ महिनाको मात्र हो। यो महिनामा अत्यासलाग्दो गरी किन क्लोजआउट भयो त?

माघ महिनामा हिमालयन रि इन्स्योरेन्सको सेयर अत्यधिक किनबेच भएको थियो। यो कम्पनीको आइपीओ पुस ११ गते सर्वसाधारणलाई बाँडफाँट गरिएको थियो। १५ लाख ६४ हजार ५६४ आवेदकले सेयर पाएका थिए।

पुस २३ देखि दोस्रो बजारमा कारोबार हुन थालेको कम्पनीको सेयर लगातार सातौं सर्किट लागेर प्रति कित्ता मूल्य ६०० रुपैयाँ माथि पुगेपछि मुनाफा बुकिङको लहर चल्यो। आईपीओ‌ हात पारेकाहरुले प्रति कित्ता ४०० रुपैयाँ मुनाफा भएपछि धमाधम बेचे। तर धेरैले समयमै ईडीआईए गरेनन्।

सीडीएससीले पनि नियमित कारोबार गर्नेभन्दा आईपीओ भर्नेहरु नै बढी क्लोज आउटमा पर्ने गरेको बताएको छ।

‘मूल्य बढ्नासाथ आईपीओ बिक्री गरिहाल्ने प्रवृत्ति छ। आईपीओ भर्ने तर दोस्रो बजारमा नियमित कारोबार नगर्नेहरुले खाता अपडेट छ/छैन, मेरो सेयर, डिम्याट खाता नवीकरण भए/नभएको मतलव नगर्दा क्लोजआउटको समस्या बढी हुने गरेको हो,’ सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले भने।

कुन महिनामा कति जरिवाना ?

सेयर समयमा ईडीआईएस नगर्दा लगानीकर्ताले ५ करोड १ लाख रुपैयाँ पेनाल्टी (जरिवाना) तिरेका छन्।

चालु आवको ९ महिनामा २५ करोड ९ लाख ५६ हजार ५९२ रुपैयाँको सेयर बिक्री क्लोज आउटमा परेर लगानीकर्ताले ५ करोड १ लाख ९१ हजार ३१८ रुपैयाँ जरिवाना तिर्नुपरेको हो। गत वर्ष सोही अवधिमा लगानीकर्ताले ३ करोड ८६ लाख रुपैयाँ जरिवाना तिरेका थिए।

क्लोज आउटमा परेका लगानीकर्ताले साउनमा ५३ लाख ५० हजार जरिवाना तिरेका थिए। भदौदेखि कात्तिकसम्म जरिवाना घटेको देखिन्छ।

भदौमा ४४ लाख ७२ हजार, असोजमा ३६ लाख ५८ हजार र कात्तिकमा ११ लाख ६६ हजार जरिवाना तिरेको तथ्यांक छ। मंसिरदेखि माघसम्म बढ्यो। लगानीकर्ताले मंसिरमा ३३ लाख ६७ हजार, पुसमा ९३ लाख ४७ हजार र माघमा १ करोड ४६ लाख जरिवाना बुझाए।

माघमा क्लोज आउट संख्या २२ लाख ३१ हजार २५३ हुँदा जरिवाना रकम १ करोड ४६ लाख मात्र हुनुले पनि आईपीओ बेचेर निस्किएको देखिन्छ। त्यो महिना ७ करोड ३१ लाख रुपैयाँको सेयर बिक्री क्लोजआउटमा परेको थियो।

जरिवाना रकम फागुनमा ३७ लाख ४९ हजार कायम भएकामा लगातीकर्ताले चैतमा ४४ लाख ५८ लाख रुपैयाँ पेनाल्टी तिरेका छन्।

लगानीकर्ताले गत वर्ष १२ महिनामा ६ लाख २ हजार २३८ पटकको कारोबारमा २० करोडको रुपैयाँको बिक्री गरेको सेयर समयमा ट्रान्सफर नगर्दा ४ करोड १७ हजार रुपैयाँ जरिवाना तिरेका थिए।

समस्या समाधान अब अक्सन मार्केटबाट

क्लोज आउटको समस्या बढ्दै जाँदा सीडीएससीले ‘अक्सन मार्केट’ सञ्चालनका लागि कार्यविधिको मस्यौदा तयार पारी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ।

सीडीएससीले लिलाममार्फत सेयर किनबेच हुने बजार सञ्चालनमा ल्याउने उद्देश्यले कार्यविधिको मस्यौदा बोर्डमा पठाएको हो। बोर्डले स्वीकृति दिएपछि सो अक्सन मार्केट सञ्चालनमा ल्याउने सूचना अधिकारी न्यौपानेले बताए।

‘अक्सन मार्केट सञ्चालनका लागि कार्यविधिको मस्यौदा बनाएर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएका छौँ,’ न्यौपानेले भने, ‘बोर्डले स्वीकृति दिएपछि अक्सन मार्केट सञ्चालनमा ल्याउँछौँ।’

बोर्डले स्वीकृति दिएको छैन। स्वीकृति नदिनुको कारण पनि सीडीएससीलाई भनेको छैन।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली अक्सनविनाको बजार अपूरो हुने बताउँछन्। ‘स्टक एक्सचेञ्ज चलाइसकेपछि त्यसमा डिफल्टको सम्भावना धेरै हुन्छ। किन्नेले पैसा नदिन सक्छ र बेच्नेले सेयर नदिन सक्छ’, उनले भने, ‘सेकेन्डरी मार्केटको मुख्य च्यालेन्ज नै बजार सहज रुपमा चलाउनु नै हो। यहाँ सेयर किन्नेले सेयर र बेच्नेले पैसा पाउनुपर्‍यो। आधुनिक र पर्फेक्ट स्टक सेटलमेन्ट फन्ड र अक्सन मार्केटसहितको हुनुपर्छ।’