एयर एसियाले बैंकक-काठमाडौं उडानका लागि माग्यो अनुमति, सातामा ७ उडान गर्ने

बिजमाण्डू
२०८१ बैशाख १८ गते १३:४२ | Apr 30, 2024
एयर एसियाले बैंकक-काठमाडौं उडानका लागि माग्यो अनुमति, सातामा ७ उडान गर्ने

काठमाडौं। मलेसियाको बजेट एयरलाइन्स कम्पनी एयर एसियाले नेपालमा सातामा ७ वटा व्यावसायिक उडान गर्ने प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले नेपालका लागि नयाँ जीएसए युनिभर्सल टुर्स एण्ड ट्राभलमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष सातामा ७ वटा उडान गर्ने प्रस्ताव गरेको हो। प्रस्ताव अनुसार एयर एसियाले आफ्नो भगिनी कम्पनी थाइ एयर एसियामार्फत नेपालमा उडान गर्नेछ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले काठमाडौं-बैंकक उडानका लागि युनिभर्सल टुर्सले पेस गरेको प्रस्ताव अध्ययनको क्रममा रहेको जानकारी दिए।

‘एयर एसिया अन्तर्गत धेरै ब्राण्डमा वायुसेवा कम्पनी संचालित छन्। यसअघि नेपालमा एयर एसिया एक्सले नियमित व्यावसायिक उडान गर्दै आएको थियो। अहिले जीएसए नियुक्त भएको युनिभर्सल टुर्सले काठमाडौं-बैंकक उडानका लागि निवेदन दिएको छ। हामी अध्ययन गरेर स्लटको अनुमति दिनेछौं,’ भुलले भने।   

थाइ एयर एसियाले डेढ वर्षअघि नै बैंकक-काठमाडौं उडान गर्ने प्रस्ताव गरेको थियो। तर माउ कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्कबापतको १९ करोड रुपैयाँ बक्यौता नतिरेको कारण देखाउँदै क्यानले अनुमति दिन अस्वीकार गरेको थियो।

एयर एसियाले काठमाडौंमा उडानका लागि गत फेब्रुअरीयता धमाधम किस्ता तिरिरहेको छ। बक्यौता २४ किस्तामा तिर्ने सम्झौता गरेको यो कम्पनीले मासिक १ करोड २५ लाख रुपैयाँ बुझाउँदै आएको भूलले जानकारी दिए।

थाइ एयर एसिया थपिएपछि काठमाडौं-बैंकक-काठमाडौं उडानमा प्रतिस्पर्धाले भाडा सस्तिने विश्वास छ। हाल यो रुटमा नेपाल वायुसेवा निगम र थाइ एयरवेजले नियमित व्‍यावसायिक उडान गर्दै आएका छन्।

एयर एसियाले २०६९ बाट क्वालालाम्पुर-काठमाडौंमा व्यावसायिक उडान सुरु गरेको थियो। सातामा पाँच वटा उडान गर्दै आएको कम्पनीको उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायत सेवाको बक्यौता नतिरेपछि ५ वर्षअघि बन्द भएको थियो।