प्रिमियर लिग : म्यानचेस्टर सिटीले नटिङ्घमलाई हरायो, शीर्ष स्थानमा भने आर्सनल नै

बिजमाण्डू
२०८१ बैशाख १७ गते ०७:०१ | Apr 29, 2024
प्रिमियर लिग : म्यानचेस्टर सिटीले नटिङ्घमलाई हरायो, शीर्ष स्थानमा भने आर्सनल नै
गोल सेलिब्रेट गर्दै म्यानचेस्टर सिटीका खेलाडी। तस्बिर: रोयटर्स

इङग्लिस प्रिमियर लिगमा गएराति सम्पन्‍न खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई हराएको छ। नटिङ्घमको घरेलु मैदान सिटी ग्राउण्डमा सम्पन्‍न खेलमा म्यानचेस्टर सिटीले २-० गोलअन्तरको जित निकालेको हो।

Tata
GBIME
Nepal Life

खेलको ३२औँ मिनेटमा सिटीका जोस्को जिभारडिओलले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। दोस्रो हाफमा फेरि अर्लिङ हल्याण्डले अग्रता दोब्बर बनाए। उनले ७१ औँ मिनेटमा यो गोल गरेका थिए। दुवै गोललाई केभिन डी ब्रुइनाले एसिस्ट गरेका थिए।

यद्यपि, यो जितले सिटी शीर्षस्थानमा भने उक्लिएको छैन। गएराति नै सम्पन्‍न अर्को खेलमा शीर्ष स्थानको आर्सनलले टोटेनहममाथि जित निकालेको थियो। टोटेनहम हट्स्पर स्टेडियममा सम्पन्‍न खेलमा आर्सनलले घरेलु टोलीमाथि ३-२ गोलअन्तरको जित निकालेको हो।

टोटेनहमलाई हराएपछि आर्सनलका खेलाडी। तस्बिर: रोयटर्स

टोटेनहमका पिअरे इमाइल हजबर्गले आत्मघाती गोल गर्दा आर्सनलले १५ औँ मिनेटमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै २७ औँ मिनेटमा बुकायो साका र ३८ औँ मिनेटमा काइ हार्भटेजले गोल गर्दा पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा घरेलु टोलीले दुई गोल फर्काए पनि खेलमा फर्कन सकेन। टोटेनहमका क्रिस्टियन रोमेरोले ६४ औँ मिनेटमा र सन ह्युङ मिनले ८७ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

योसँगै आर्सनल शीर्षस्थानमा र म्यानचेस्टर सिटी दोस्रो स्थानमा कायम छ। ३५ खेलबाट आर्सनलले ८० अंक जोडेको छ भने सिटीले ३४ खेलबाट ७९ अंक बनाएको छ।