
नेपाललाई बर्सेनि करिब १ अर्ब रुपैयाँ सहयोग गर्दै आएका अमेरिकी अर्बपति जेम्स साइमन्सको ८६ वर्षको उमेरमा निधन भएको छ।
निक साइमन्स फाउन्डेनसमार्फत हरेक वर्ष नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सहयोग पुर्याउँदै आएका जेम्स गणितका प्रोफेसर हुनुका साथै वालस्ट्रिटको चर्चित हेज फण्ड रेनेसा टेक्नोलोजिज्का संस्थापक समेत हुन्।
फोर्ब्समा ३१ अर्ब डलरको सम्पत्तिका साथ अर्बपतिको सूचीमा रहेका उनी विश्वभर मेडिकल तथा साइन्स रिसर्चका क्षेत्रमा अर्बौ डलर दान दिने व्यक्तिका रुपमा चर्चित छन्।
गणितका विज्ञका रूपमा उनले सन् १९८२ सम्म विभिन्न विश्वविद्यालयमा पढाए। तर विश्वविद्यालय छोडेपछि उनले रेनेसा टेक्नोलोजिज खोले।
उनले जीवनको उत्तरार्ध समाजसेवामा बिताए। उनको साइमन्स फाउन्डेसनले अटिजम, रिसर्च साइन्स र म्याथको रिसर्चको काम गर्नका लागि धेरै ठूलो धनराशि खर्च गरेको छ।
उनले तयार पारेका कम्प्युटर मोडलहरुले वालस्ट्रिटमा हेज फण्डलाई मल्टी डलर बिजनेसका रूपमा अघि बढाउन मद्दत पुग्यो।
एमआइटी प्रोफेसरबाट मल्टीबिलेनियर बनेका उनले आफ्नो फण्डमार्फत दशकौंसम्म वार्षिक ६६ प्रतिशत रकम कमाए। कमाएको धेरैजसो रकम परोपकारमै खन्याए।
उनले सन् १९९४ का श्रीमती मार्लिनसँग मिलेर द साइमन्स फाउन्डेसन्स स्थापना गरेका थिए, जसले विश्वमा वैज्ञानिकहरु तथा विश्वव्यापी विज्ञानसँग सम्बन्धित अनुसन्धानको काममा विभिन्न संस्थाहरुलाई सहयोग गरे।
नेपालमा भने उनीहरु सन् २००२ मा जोडिएका थिए। सन् २००२ मा नेपाल आएर केही महिना बिताएका उनीहरुका छोरा निक साइमन्सले देखाएको नेपाल प्रेमका कारण उनीहरुको नाता नेपालसँग गाँसिएको हो। निकको निधनपछि उनीहरुले स्थापना गरेको निक साइमन्स इन्स्टिच्युटले नेपालका दुर्गम जिल्लाहरुमा आफैंले छात्रवृत्तिमा पढाएका डाक्टरहरु पठाएर दुर्गमका जनताको उपचारमा सहयोग गर्दै आएका छ।
साइमन्स दम्पती दुई वर्षमा एक पटक नेपाल आउँथे र विकट जिल्लाहरुमा पुग्ने गर्थे। उनीहरुले नेपालको ग्रामीण क्षेत्रमा भएका स्वास्थ्य संस्थाहरुको अवस्था सुधारका लागि ती क्षेत्रमा लगानी गरेका थिए।
निक साइमन्स इन्स्टिच्युटले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा देशका विभिन्न अस्पतालहरुलाई सहयोग पुर्याउँदै आएको छ।
‘मैले जीवनमा अंकहरुसँग धेरै नै खेलेँ। हिसाबकिताबको काम गरेँ। पैसा टन्नै कमाएँ। अनि सबैजसो पैसा परोपकारमा दिएँ पनि।’- आफ्नो जीवनको सफलताका बारेमा बोल्दै सन् २०२२ मा उनले भनेका थिए- ‘मेरो जीवनको कथा यति नै हो।’