लघुवित्तहरुको वासलातमा अस्वाभाविक सुधार, खुद नाफा कसरी १८ गुणासम्म बढ्यो ?

आकाश बोगटी
२०८१ जेठ २ गते १९:४१ | May 15, 2024
लघुवित्तहरुको वासलातमा अस्वाभाविक सुधार, खुद नाफा कसरी १८ गुणासम्म बढ्यो ?

काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्थामा अस्वाभाविक सुधार देखिएको छ।

Tata
GBIME
NLIC

कतिपयले ऋण तिर्नु पर्दैन भन्ने अराजक अभियान चलाउँदा त्यसको असर व्यवसाय विस्तार र ऋण उठाउन नसकेका लघुवित्तले तेस्रो त्रैमासमा अस्वाभाविक सुधार भएको वासलात सार्वजनिक गरेका छन्।

लघुवित्तहरुले यो वर्ष चैत महिनामा आइपुग्दा खुद नाफा ६.२८ प्रतिशतले बढाएका छन् भने खराब ऋणमा सुधार भएको विवरण सार्वजनिक गरिएको छ।

सञ्चालनमा रहेका ५५ मध्ये ५१ वटा लघुवित्तले ९ महिनामा ३ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन्। उनीहरुको खुद नाफा पोहोर ९ महिनामा ३ अर्ब ३५ करोड १९ लाख रुपैयाँ थियो। ४ लघुवित्तको वित्तीय विवरण आउन बाँकी छ।

२३ लघुवित्तले नाफा बढाएका छन्। छिमेक लघुवित्तले सबैभन्दा धेरै ६४ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ। लघुवित्तले करिब १८ गुणासम्म खुद नाफा बढेको देखाएका छन्। १५ वटा लघुवित्तले नाफा शतप्रतिशतभन्दा धेरै बढैको विवरण प्रकाशित गरेका छन्।

२१ लघुवित्तको नाफा घट्दा ७ लघुवित्तको नाफा ऋणात्मक देखिएको छ।

लघुवित्तविरोधी अभियानले नयाँ कर्जा लगानी विस्तार गर्न र यसअघि दिएको ऋण उठाउन नसकेका कारण गत आर्थिक वर्षको तेस्रो त्रैमासमा औसत खराब कर्जा (एनपीएल) ७ प्रतिशत माथि पुगेको थियो। यो वर्ष कर्जा असुलीमा झनै समस्या छ।

तर लघुवित्तले यो वर्ष तेस्रो त्रैमासमा एनपीएल ६ प्रतिशतबाट तल झरेको विवरण सार्वजनिक गरेका छन्। ५१ मध्ये ३१ वटा लघुवित्तले एनपीएल घटाएका हुन्।

खुद नाफा र एनपीएलमा सुधार कसरी ?

यो वर्ष ९ महिनामा वाणिज्य बैंकको नाफा १३ प्रतिशत भन्दा धेरै घटेको छ भने। उनीहरुले आफ्नो एनपीएल बढेको विवरण एक महिनाअघि नै सार्वजनिक गरिसकेका छन्। तर लघुवित्तको वासलातमा चाहिं कसरी सुधार देखियो त?

लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेसनल माइक्रोफाइनान्सका सीइओ रामबहादुर यादवले राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना र पुनर्तालिकरणको व्यवस्थाले नाफा बढेको बताए।

‘तेस्रो त्रैमासम्म आइपुग्दा लघुवित्त संस्थाहरुको औसत ब्याज आम्दानीसँगै नाफा बढेको छ। कर्जा रिकभरि उल्लेख्य सुधार भएर तथा व्यवसाय विस्तार भएर नाफा बढेको भने होइन,’ उनले भने, ‘राष्ट्र बैंकले ऋणीले ५ प्रतिशत ब्याज तिरेर कर्जा पुनर्संरचना र पुनर्तालिकरण गर्न पाउने व्यवस्था गरिदिएकाले खराब कर्जा घट्न पुगेको हो।’

पुनर्संरचना र पुनर्तालिकरण गर्न पाउने व्यवस्थाले ब्याज आम्दानी बढ्न गई नाफामा सुधार देखिएको उनको भनाइ छ।

यादवले ब्याज आम्दानी बढेको भने पनि तथ्यांकले त्यस्तो सुधार देखाउँदैन। लघुवित्तहरुले पोहोर ९ महिनामा ४३ अर्ब १८ करोड ९८ लाख रुपैयाँ ब्याज आम्दानी गरेकामा यसपालि ३ करोड पनि बढेको देखिंदैन। ५१ लघुवित्तले यो वर्ष ९ महिनामा ४३ अर्ब २१ करोड ७३ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन्।

कर्जा असुलीमा समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले २०८० असारमा निर्देशन जारी गर्दै लघुवित्तबाट लिएको ऋण तिर्न नसकेका ग्राहकलाई ऋण भुक्तान अवधि १ वर्ष थप गरी कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको थियो।

स्रोत : लघुवित्तहरुले सार्वजनिक गरेको वित्तीय विवरण

२०७९ चैतमा सक्रिय वर्गमा रहेको कर्जाका ऋणीले तिर्न बाँकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज रकम तिरेर ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्थाले एनपीएल घटेको लघुवित्तका सीइओहरुको भनाइ छ।

विजय लघुवित्तका सीइओ वसन्तराज लम्सालले असल वर्गमा रहेको कर्जाको आउनुपर्ने ब्याज आम्दानीलाई नाफामा देखाउन पाउने व्यवस्थाका कारण नाफा बढेको देखिएको तर त्यो वास्तविक नाफा नभएको बताए।

‘असल वर्गमा रहेको कर्जाको आउन बाँकी ब्याज आम्दानी नाफा देखाएका छौं’, उनले भने, ‘ग्राहकको हातमा भएको पैसा हामीले आम्दानीको रुपमा देखाएका छौं। त्यसैले नाफा बढेको देखिएको हो। तर वासलातमा देखाइएको नाफा वास्तविक होइन।’

विजय लघुवित्तले खुद नाफा १७८३.२३ प्रतिशतले बढैको विवरण प्रकाशित गरेको छ। तर उसको खराब कर्जा भने केही बढेको छ। लम्सालले खासगरी मर्जरमा गएका लघुवित्तहरुको नाफा बढेको देखिएको बताए।

‘उल्लेख्य रुपमा कर्जा रिकभरि भएर नाफा बढ्ने अवस्था अहिले छैन। पुनर्तालिकीकरण र पुनर्संरचनाको व्यवस्थाले सुधारिएको रिपोर्ट आएको हो। अहिले व्यवसाय नै विस्तार गर्न सकिरहेका छैनौं,’ उनले भने।