काठमाडौं। पूर्व-पश्चिम राजमार्गमा पर्ने नारायणी नदीमा करिब पौने २ अर्ब रुपैयाँ खर्च गरेर सिग्नेचर ब्रिज बनाउन लागिएको छ। अहिले रहेको पुलसँगै ४२० मिटर लामो सिग्नेचर ब्रिज बनाउन लागिएको हो।
एडभान्स टेक्नोलोजीसहितको सिग्नेचर ब्रिजको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने तालिका छ। पुल निर्माण गर्ने कम्पनी यसअघि नै छानिएको छ।
पुल निर्माण गर्न २०७९ कात्तिक २ गते ठेक्का आह्वान गरिएकामा तुण्डी कन्स्ट्रक्सन र अनक कन्स्ट्रक्सनको आवेदन परेको थियो। ठेक्का तुण्डी कन्स्ट्रक्सनले पाएको हो। यो कम्पनीसँग २०८० जेठ १९ गते ठेक्का सम्झौता भएको थियो। सिग्नेचर ब्रिजको लागत १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ हो।
सम्झौता अनुसार पुलको डिजाइन निर्माण कम्पनीले नै बनाएको छ। डिजाइनका लागि एक वर्षको समय दिइएको थियो। कम्पनीले तयार पारेको पुलको फाउन्डेसनको डिजाइन सडक विभागको पुल महाशाखाले स्वीकृत गरेको छ।
तर स्ट्रक्चरको डिजाइन कम्पनीलाई रिभाइज्ड गर्न भनिएको महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिए। उनका अनुसार २०८४ असारसम्म पुल बनाइसक्ने योजना छ।
नारायणी नदीको हालको पुल पुरानो र साँघुरो भएकाले पनि नयाँ पुल बनाउन लागिएको हो। अहिलेको पुल करिब ४५ वर्ष पुरानो हो। त्यतिखेर बनाइएको पुलले अहिलेको ट्राफिक थेग्न नसकेकाले नयाँ पुलको आवश्यकता परेको विभागका अधिकारीहरूले बताएका छन्। भरतपुर महानगरपालिका-२६ को घोसरघाटबाट पूर्वी नवलपरासीको पिठौली जोड्ने गरी पुल बनाइनेछ।
विश्व बैंकको ऋण सहयोगमा पुल बनाउन लागिएको हो। ४ वटा सिग्नेचर पुल बनाउन विश्व बैंकसँग २०७५ मा नै सम्झौता गरिएको थियो।
यस्तो हुनेछ सिग्नेचर ब्रिज
सिग्नेचर पुल नयाँ प्रविधिबाट निर्माण गरिंदैछ। एक्स्ट्राडोज्ड, केबल स्टेयड, नेटवर्क आर्क, टाइड आर्क र सस्पेन्सन पुल निर्माणको सुझाव प्राप्त भएकामा एक्स्ट्राडोज्ड निर्माण गर्न लागिएको खनालले बताए।
एक्स्ट्राडोज्ड पुल झट्ट हेर्दा पुल नेटवर्क आर्क जस्तै देखिन्छ। तर त्योभन्दा अझ आकर्षक हुन्छ। लेनको बीचमा डिभाइडर रहनेछ। २ लेनको पुलमा यात्रुका लागि फराकिलो फुटपाथ समेत रहने महाशाखाले जनाएको छ। पुलमा दुई वटा पाइलन राखिनेछ।
यसमा मुख्य स्प्यान २१० मिटरको हुनेछ। यस्तै यसको क्यारिज वे ७.५ मिटरको हुने छ। फुटपाथ र साइकल ट्रयाक एक साइडमा ३.५ मिटरको हुनेछ। पुल १०० वर्षसम्म टिकाउ हुने गरी निर्माण गरिने सडक विभागका अधिकारीहरुको भनाइ छ।
रेणुको निरन्तर चासो
नारायणी नदीमा सिग्नेचर पुल निर्माणको विषयलाई भरतपुर महानगर प्रमुख रेणु दाहालले विशेष चासो दिंदै आएकी छन्।
योजना पार्नका लागि आफ्ना पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत लबिङ गरेकी उनी पुल निर्माण सकेसम्म चाँडो गराउन पाए त्यसले आफ्नो उचाइ बढ्ने बुझाइमा छिन्। पुल निर्माणको योजना अगाडि बढाउँदा प्रचण्ड प्रधानमन्त्री थिएनन्। आफू पदमा नरहेपनि प्रचण्ड निर्णय गराउन सक्ने सामर्थ्य भने राख्थे।
निर्माण कम्पनी भने प्रचण्ड प्रधानमन्त्री भएपछि छनोट भएको हो। निर्माण कम्पनी छनोट भएपछि विभागका अधिकारी गत भदौमा पुल निर्माण गर्ने स्थलको निरीक्षणमा जाँदा रेणु पनि सहभागी भएकी थिइन्।
महानगरको योजना नभएपनि उनको चासो हुनुको कारण हो आफ्नो निरन्तरको पहलले पुल बनेको जस लिन चाहनु। पुल निर्माण भए आफ्नो राजनीतिक उचाइ बढ्ने उनको बुझाइ छ। पुलका कारण भरतपुरमा आन्तरिक पर्यटक बढाउन सजिलो हुने पनि उनले आफू निकटहरुसँग बताउँदै आएकी छन्।
रेणुले डेढ महिनाअघि भरतपुर भ्रमण वर्ष सुरु गरेकी थिइन्। नयाँ प्रविधिसहितको पुलमा रातको समयमा आकर्षक खालका बत्ती राख्न मिल्छ जसले सौन्दर्य बढाउनेछ। तर पुल निर्माण सकिंदा सम्भवत रेणु महानगर प्रमुखको पदमा रहने छैनन्।
युरोपका धेरै देशमा पर्यटकलाई आकर्षित गर्ने पुल निर्माण गरेको देखेर नेपालमा पनि सवारीसाधन सञ्चालनका अलावा थप आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने ध्ययेसहित बनाउन लागेको विभागका अधिकारीहरुको भनाइ छ।
महाशाखा प्रमुख खनालले नारायणी नदीमा भविष्यमा साना खालका जहाज सञ्चालनमा कुनै किसिमको वाधा नहुने गरी सिग्नेचर पुल बनाइने बताए।