विद्युत प्राधिकरणले काम अलपत्र पार्ने ६ कम्पनीसँग ठेक्का तोड्दै, अगाडि बढायो प्रक्रिया

बिजमाण्डू
२०८१ बैशाख १६ गते १२:०८ | Apr 28, 2024
विद्युत प्राधिकरणले काम अलपत्र पार्ने ६ कम्पनीसँग ठेक्का तोड्दै, अगाडि बढायो प्रक्रिया

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयले प्रसारण लाइन र सब स्टेसनको काम अलपत्र पार्ने ६ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने भएको छ।

Tata
GBIME
Nepal Life

कार्यालयले आइतबार एक सूचना निकाल्दै काम अलपत्र पारेकाले ठेक्का तोड्न लागिएको जनाएको छ।

पटकपटक लिखितरुपमा ताकेता गर्दा पनि ठेक्का पाएका कम्पनीले प्रसारण लाइन र सब स्टेसनको काम अगाडि नबढाएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ।

कार्यालयले तारुपारे निर्माण सेवा, सुनिता एण्ड कविता कन्स्ट्रक्सन, भगवती कन्स्ट्रक्सन, सकुन इन्जिनियरिङ निर्माण सेवा, आर बी कन्स्ट्रक्सन र निग्लासैनी कन्स्ट्रक्सनसँगको ठेक्का तोड्न लागेको हो।

कार्यालयले यी कम्पनीलाई ठेक्का नतोड्ने कुनै कारण भएमा ७ दिनभित्र कारणसहित उपस्थिति हुन भनेको छ।

कार्यालयका अनुसार तारुपारे निर्माण सेवाले लालपुरदेखि महेन्द्रनगर र धनगढीदेखि पुनर्वाससम्म ३३ केभी प्रसारण लाइन, सुनिता एण्ड कविता कन्स्ट्रक्सनले बुडर सबस्टेसनदेखि जोगबुढा सबस्टेसनसम्म ३३ केभी लाइन, भगवती कन्स्ट्रक्सन, आर बी कन्स्ट्रक्सन र निग्लासैनी कन्स्ट्रक्सनले पर्शुराम र आलिताल नगरपालिकाका विभिन्न स्थानमा विद्युतीकरणका काम अलपत्र पारेका छन्।

यस्तै सकुन इन्जिनियरिङ निर्माण सेवाले पर्शुराम र अमरगढी नगरपालिका तथा नवदुर्गा, आलिताल र गन्यापधुरा गाउँपालिकाका विभिन्न स्थानमा विद्युतीकरणका दुई वटा ठेक्का अलपत्र पारेको छ।