बेङ्लोरमा मतदातालाई आकर्षित गर्न होटल र राइड सेयरिङको अफर, नि:शुल्क बियरदेखि डोसासम्म

बिजमाण्डू
२०८१ बैशाख १४ गते ०९:२४ | Apr 26, 2024
बेङ्लोरमा मतदातालाई आकर्षित गर्न होटल र राइड सेयरिङको अफर, नि:शुल्क बियरदेखि डोसासम्म
Photo : opindia

भारतमा आज दोस्रो चरणको लोकसभा निर्वाचन हुँदैछ। १३ राज्यको ८८ लोकसभा सिटका लागि आज मतदान भइरहेको छ। बिहानैदेखि मतदाताहरु मतदान केन्द्र पुगिरहेका छन्।

Tata
GBIME
Nepal Life

आजको निर्वाचनमा वायानाडबाट प्रतिष्पर्धामा छन् भारतीय राष्ट्रिय कंग्रेसका राहुल गान्धी। यस्तै, शशी थरुर, हेमा मालिनी लगायतका नेताको भाग्य पनि आजको निर्वाचनमा टिकेको छ।

आज कूल १ लाख ६७ हजार पोलिङ स्टेनसनमा १५ करोड ८८ लाख मतदाताले मतदान गर्नेछन्।

मतदाताहरुलाई मतदानका लागि प्रेरित गर्न विभिन्न अफरहरु पनि भारतका सहरहरुमा चलिरहेको छ। आज मतदान भइरहेको दक्षिण भारतीय सहर बेङ्ग्लोरमा मत दिनेहरुका लागि नि:शुल्क खाना र छुटमा ट्याक्सी राइडको अफर दिइएको हो।

बेङ्ग्लोरमा प्राय: अन्य सहरको तुलनामा कम संख्यामा मत खस्ने गर्छ। त्यसैले होटल, ट्याक्सी सर्भिससँगै अन्य कम्पनीहरुले यस्तो अफर ल्याएका हुन्। सन् २०१९ को निर्वाचनमा कर्नाटकाको निर्वाचन क्षेत्रमध्ये बेङ्ग्लोरमा सबैभन्दा कम ५३.७ प्रतिशतमात्रै मतदान भइरहेको थियो।

अफरमा नि:शुल्क बियरदेखि, ट्याक्सी राइडमा छुट, नि:शुल्क स्वास्थ्य परीक्षणसमेत समावेश छन्। फुड आउटलेटहरुले अफर उपयोग गर्न मतदान गरेको प्रमाण स्वरुप औंलामा लगाएको मसी देखाउनुपर्नेछ।

बुधवार राज्यको उच्च अदालतले होटलहरुलाई निर्वाचनको आचारसंहिता उल्लंघन नहुने गरि नि:शुल्क वा छुट मूल्यमा खाना बिक्री गर्न अनुमति दिएको थियो। होटल र क्याफेहरुले नि:शुल्क कफी, डोसा, फलफूलको जुस लगायत अफरमा राखेका छन्।

यस्तै, त्यहाँको एम्युजमेन्ट पार्कले मतदान गर्नेलाई छुटसहित टिकट दिने घोषणा गरेको छ। डेक अफ ब्रिउज पबले पहिलो ५० ग्राहकलाई नि:शुल्क बियर दिने जनाएको छ। राइड सेयरिङ एप ब्लूस्मार्टले निर्वाचन क्षेत्रमा रहेको मतदान केन्द्रको ३० किलोमिटरमा यात्रा गर्नेलाई ५० प्रतिशत छुट दिने भएको छ। ट्याक्सी सेवा संचालन गरिरहेको र्‍यापिडोले वृद्धवृद्धा र अशक्तहरुलाई नि:शुल्क यात्राको व्यवस्था गरेको छ।

मिस्टर फिल्ली रेष्टुरन्टले बर्गर र मिल्कसेकमा ३० प्रतिशत छुट दिँदैछ। यो छुट पहिलो १०० ग्राहकहरुले मात्रै पाउनेछन्।