सुनचाँदीको मूल्यमा पुनः बढोत्तरी, सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँ बढ्यो   

बिजमाण्डू
२०८१ बैशाख १२ गते १०:५९ | Apr 24, 2024
सुनचाँदीको मूल्यमा पुनः बढोत्तरी, सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँ बढ्यो   

काठमाडौं। उच्च मूल्यमा पुगेको सुनले चालु साताको दोस्रो र तेस्रो दिन क्रमिक घट्ने संकेत गरेको थियो। तर, बुधबार मूल्यमा पुनः बढोत्तरी छ। सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ३६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनका तुलनामा २ हजार ७ सय रुपैयाँ घट्दा मंगलबार सुन तोलाको १ लाख ३५ हजार ५ सय रुपैयाँ थियो। साताको प्रारम्भका तुलनामा १ हजार १ सय रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य तोलाको १ लाख ३८ हजार २ सय थियो।  

यसअघि दोहोरो अंकको बढोत्तरीसँगै तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेर दुई दिन स्थिर रहेको सुन बिहीबार ६ सय रुपैयाँ घट्दै १ लाख ३८ हजार ६ सय रुपैयाँ भएको थियो। त्यसमा ७ सयको बढोत्तरीसँगै शुक्रबार कायम तोलाको १ लाख ३९ हजार ३ सयमा आइतबारसम्म स्थिर रहेर कारोबार भएको थियो।

चाँदी तोलामा १० रुपैयाँ बढेको छ। बुधबार कारोबार मूल्य प्रति तोला १६ सय ७० रुपैयाँ भएको छ। ४५ रुपैयाँ घट्दा मंगलबार तोलाको १६ सय ६० रुपैयाँ भएको थियो। यसअघि ३५ रुपैयाँ घट्दा सोमबार प्रति तोला १७ सय ५ रुपैयाँ भएको थियो। आइतबार तोलाको १७ सय ४० रुपैयाँ पुगेको थियो।     

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनचाँदीको कारोबार मूल्यमा बढोत्तरी छ। सुन प्रति औंस २३२५.६१ डलर पुगेको छ। मंगलबार प्रति औंस २३०७.२९ डलरले कारोबार भएको थियो भने सोमबार २३६४.९४ डलर थियो। चाँदी प्रति औंस २७.३९ डलरले कारोबार भइरहेको छ। मंगलबार २६.९९ र सोमबार २७.८६ डलर थियो।