दुई पाङ्ग्रे बजारमा ‘कम ब्याक’ गर्दै चौधरी ग्रुप, १३ महिनापछि हिरोका बाइक नेपालमा

बिजमाण्डू
२०८१ बैशाख ९ गते १३:४३ | Apr 21, 2024
दुई पाङ्ग्रे बजारमा ‘कम ब्याक’ गर्दै चौधरी ग्रुप, १३ महिनापछि हिरोका बाइक नेपालमा

काठमाडौं। चौधरी ग्रुपले दुई पाङ्ग्रे बजारमा हिरो ब्रान्डका साथ आजबाट ‘कम ब्याक’ गर्ने भएको छ। कम्पनीले एक वर्ष अगाडि भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड ओला लिएर दुई पाङ्ग्रे बजारमा इन्ट्री गरेको थियो।

Tata
GBIME
Nepal Life

तर उक्त स्कुटर ब्रान्ड नेपाली बजार चल्न सकेन। अहिले उक्त ब्रान्ड सीजीसँग छैन।

अब भने कम्पनीले हिरो ब्रान्डका साथ दुई पाङ्ग्रे बजारमा ‘कम ब्याक’ गर्ने भएको हो। जब गत २०२३ फेब्रुवरीदेखि पुरानो बिक्रेता ज्योति ग्रुपअन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम)सँग हिरो मोटोकर्पले आधिकारिक बिक्रेता टर्मिनेट गरेपछि चौधरी ग्रुपले आफ्नो दुई पाङ्ग्रे सवारीको बजारमा ‘कम ब्याक’ गर्ने ठूलो अवसरको रुपमा लियो। त्यसपछि कम्पनीले हिरोको उत्पादक कम्पनी हिरो मोटोकर्पसँग यसका लागि लबिङ गर्न थालेको थियो।

यसैबीचमा एनजीएम र हिरो मोटोकर्पबीच कानुनी लडाइँ पनि एक वर्षसम्म चलिरहयो। तर गत नोभेम्बरमा हिरो मोटोकर्पले मुद्दा आफ्नो फेवरमा पारेपछि उसले नेपालका लागि नयाँ आधिकारिक बिक्रेताको रुपमा चौधरी ग्रुपलाई नियुक्त गरेको थियो।

त्यसपछि नेपालमा हिरोको बाइक तथा स्कुटरहरू चौधरी ग्रुपले बिक्री गर्ने निश्‍चित भएको थियो। यसले सीजीको दुई पाङ्ग्रे बजारमा ‘कम ब्याक’ गर्ने चाहना पूरा भयो। अब दुई पाङ्ग्रे बजारमा राज गरिरहेका अन्य शंकर ग्रुप, एमएडब्लु ग्रुप, विशाल ग्रुप, त्रिवेणी ग्रुप र ज्योति ग्रुपसँग चौधरी ग्रुपले प्रतिस्पर्धा गर्नेछ।

त्यही अनुसार कम्पनीले आज एक कार्यक्रम आयोजना गरी हिरोको बाइक तथा स्कुटरहरूको बिक्री सुरु गर्ने योजना बनाएको छ। साढे १३ महिनापछि हिरोका बाइक तथा स्कुटरहरू आजबाट नेपाली बजारमा पुन: बिक्री सुरु हुन लागेको हो। एनजीएमसँग हिरो मोटोकर्पले आधिकारिक बिक्रेता टर्मिनेट गरेपछि हिरोका बाइक तथा स्कुटरहरू नेपाली बजारमा बिक्री हुन सकेका थिएनन्।

आजदेखि कम्पनीले ४ वटा मोडलका बाइकहरू बजारमा ल्याउने छ। जसमा हिरोको बाइक सुपर स्प्लेन्डर, स्प्लेन्डर र एक्सपल्स छन् भने स्कुटरमा जुम रहेको छ। नयाँ मोडलको जुम स्कुटर आज पहिलो पटक नेपाली बजारमा इन्ट्री गर्दै छ।

साथै, कम्पनीले नवलपरासीमा आफ्नो एसेम्बल प्लान्ट पनि सञ्‍चालनमा ल्याइसकेको छ। उक्त एसेम्बल प्लान्टमा नै हिरोका बाइक तथा स्कुटरहरू उत्पादन हुनेछन्। त्यही अनुसार कम्पनीले हिरोका बाइकहरूको मूल्य निर्धारण गर्ने योजना बनाएको छ।

पहिलेको भन्दा एउटा बाइकमा २८ हजार रुपैयाँसम्म मूल्य घटाएर हिरोका बाइक तथा स्कुटर बिक्री सुरु गर्न लागेको कम्पनीले जनाएको छ।