सुदूरपश्चिम नयाँ सरकार गठनको तरंग : माधव नेपालले देउवा भेटेपछि एमाले जुट्यो बैठकमा

बिजमाण्डू
२०८१ बैशाख ६ गते १३:०१ | Apr 18, 2024
सुदूरपश्चिम नयाँ सरकार गठनको तरंग : माधव नेपालले देउवा भेटेपछि एमाले जुट्यो बैठकमा

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको दोस्रोपटकको समयसीमा आज ५ बजे सकिँदैछ। तर, दलहरु भने अझै पनि कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा टुंगोमा पुग्न सकेका छन्।

Tata
GBIME
Nepal Life

चैत २२ गते कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले १० दिनभित्र सरकार गठनको प्रस्ताव आह्वान गरेका थिए। उक्त समयसीमामा नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी परेपछि मियाँ निर्णयमा पुग्न सकेनन्।

सत्ता गठनबन्धनले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति जनाएपछि सरकार लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको थियो। बुधबार भने एमालेले सोडारीलाई समर्थन नगर्ने संकेत जनाएसँगै सुदूरपश्चिम सरकार गठनमा अन्योल सिर्जना भएको छ।

सोडारीलाई सत्ता गठबन्धनले साथ नदिए कांग्रेसले सघाउने भन्ने विषयमासमेत छलफल भएको छ। यसै विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। एमालेले साथ नदिए सोडारीलाई कांग्रेसले साथ दिने वचन देउवाले दिएको बताइएको छ।

यसै विषयमा निर्णय लिन एमाले सुदूरपश्चिम संसदीय दलको बैठक जारी रहेको छ। ‘हाम्रो बैठक अहिले जारी छ, केन्द्रको निर्णय पनि कुरिरहेका छौं,’ एमाले संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले भने।

सुदूरपश्चिममा सरकार गठनको विषय अझै अन्योलमा रहेको र केन्द्रबाट कुनै निर्णय आइनसकेको कांग्रेस प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले बताए। ‘प्रदेश सरकार गठनबारे अझै अन्योल छ। केन्द्रबाट कुनै निर्णय आएको छैन,’ देउवाले भने।