अम्बुजामा अडानीको थप ८ हजार ३३९ करोड भारु लगानी, कूल निवेश २० हजार करोड

बिजमाण्डू
२०८१ बैशाख ६ गते ११:४६ | Apr 18, 2024
अम्बुजामा अडानीको थप ८ हजार ३३९ करोड भारु लगानी, कूल निवेश २० हजार करोड

भारतीय अर्बपति गौतम अडानीको परिवारले अम्बुजा सिमेन्टमा थप ८ हजार ३३९ करोड भारतीय रुपैयाँ लगानी गरेका छन्। अम्बुजा सिमेन्टले गरेको एक्सचेन्ज फाइलिङमा यसबारे जानकारी दिइएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

Tata
GBIME
Nepal Life

८ हजार ३३९ करोड भारतीय रुपैयाँ लगानीसँगै अम्बुजामा अडानीको ७०.३ प्रतिशत सेयर कायम भएको छ। सन् २०२८ सम्म १४० मिलियन टन प्रति वर्ष सिमेन्ट उत्पादन क्षमता बढाउन यो लगानी महत्वपूर्ण हुने जनाइएको छ।

सन् २०२२ को जुनमा अडानी ग्रुपले १०.५ बिलियन अमेरिकी डलरमा अम्बुजा सिमेन्ट र एसीसी सिमेन्ट खरिद गरेको थियो।अधिग्रहणपछि सन् २०२२ को अक्टोबर २२ मा ‘वारेन्ट’ ( लगानीका लागि रकम उठाउन गरिने वित्तीय सम्झौता )को माध्यमबाट अडानी परिवारले अम्बुजा सिमेन्टमा ५ हजार करोड भारतीय रुपैयाँ लगानी गरेको थियो।

यस्तै, सन् २०२४ को २८ मार्चमा अडानी परिवारले अम्बुजा सिमेन्टमा थप ६ हजार ६६१ करोड भारतीय रुपैयाँ लगानी गरेको देखिन्छ। त्यसबेला कम्पनीमा उनको हिस्सा ३.६ प्रतिशतले बढेर ६६.७ प्रतिशत पुगेको थियो।

एकै महिनामा अडानी परिवारले अम्बुजामा फेरि लगानी थपेको हो। यो रकम लगानीसँगै कम्पनीको आर्थिक अवस्था थप बलियो हुने प्रक्षेपण गरिएको छ। अडानी ग्रुपले अम्बुजा सिमेन्टमा २० हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने यसअघि नै घोषणा गरेको थियो। ८ हजार ३३९ करोड भारतीय रुपैयाँ लगानीसँगै अडानी ग्रुपले आफ्नो प्रतिबद्धता पूरा भएको जनाएको छ।

केही महिना अघि मात्रै अम्बुजा सिन्मेन्टले नवीकरणीय उर्जा (ग्रीन इनर्जी) उत्पादनका लागि ६ हजार करोड भारतीय रुपैयाँ (करिब ९६ अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने घोषणा गरेको थियो। गुजरात र राजस्थानमा सन् २०२५/२६ सम्म एक हजार मेगावाट उर्जा उत्पादन गर्ने उद्देश्यसहित यो परियोजना सुरु हुन लागेको छ।